काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार उदयुपरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा सम्पन्न पहिलो क्वार्टरफाइनलमा पुलिसले एफसी रियालेमाथि १०-० को फराकिलो जित हासिल गर्यो ।
पुलिसको जितमा स्ट्राइकर रेखा पौडेलले दोहोरो ह्याट्रिक गरिन् । त्यस्तै मीना देउवाले दुई तथा पूजा राना र विर्सना चौधरीले समान एक गोल गरे ।
अब फागुन ६ गते हुने पहिलो सेमिफाइनलमा पुलिसले न्युरोड टिम(एनआरटी) र त्रिभुवन आर्मी क्लबबीचको विजेतासँग खेल्नेछ ।

दिनको दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेड र छाहरी युवा क्लब आमने-सामने भएका थिए । दोस्रो प्रि-क्वार्टरफाइनल; यो खेलमा स्ट्राइकर वर्षा ओलीको गोल चर्च ब्वाइजलाई १-० को संघर्षपूर्ण जित दिलाउन निर्णायक बन्यो ।
फागुन ५ गते हुने अन्तिम क्वार्टरफाइनल खेलमा चर्च ब्वाइजले संकटा एफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको तेस्रो दिन आइतबार दोस्रो क्वार्टरफाइनल खेल हुनेछ । राष्ट्रिय लिग विजेता एपिएफ एफसीले दिउँसो ३ः३० बजे आरएस रिसोर्टसँग खेल्नेछ ।
