काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले निकट भविश्यमा आफ्ना सदस्य राष्ट्रहरुबीच प्रतिस्पर्धाको अवसर वृद्धीको उद्देश्यसहित एएफसी नेशन्स लिग सुरु गर्ने योजना सार्वजनिक गरेको छ ।
युरोपेली फुटबल महासंघ (युइएफए) ले सन् २०१८ मा नेशन्स लिग गरेपछि अन्य महादेशहरु पनि यस्तो प्रतियोगिताप्रति आकर्षित भएका थिए ।
युइएफएले युरोपका राष्ट्रिय टिमहरुलाई फरक श्रेणीमा विभाजन गरेर नियमित फिफा विन्डोमा नेशन्स लिगअन्तर्गतका खेलहरु गराउने गर्छ ।
एएफसीले भन्दा अघि अफ्रिकी फुटबल महासंघले सन् २०२९ देखि युरोपियन नेशन्स लिगकै शैलीको प्रतियोगिता गर्ने घोषणा गरेको थियो ।
‘फिफा अन्तर्राष्ट्रिय म्याच विन्डोको प्रभावकारी उपयोग प्रतिद्वन्द्वीको सीमित उपलब्धताका कारण निक्कै चूनौतिपूर्ण बन्दै गएको छ । खेल सञ्चालन खर्च र अन्य व्यवस्थापनको खर्च बढ्दै गएकाले अन्तर्राष्ट्रिय खेल आयोजना कठिन हुँदै गएको छ,' एएफसीले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लामो समयको आन्तरिक समिक्षा र थुप्रै छलफलपछि महासंघ एउटा एएफसी नेशन्स लिग गर्नेमा सैद्दान्तिक निर्णयमा पुगेको छ ।’
युइएफएको नेशन्स लिग टिमहरुलाई आफ्नै हाराहारीका प्रतिद्वन्द्वीसँग धेरै भन्दा धेरै खेल खेलेर जित्ने र सुधार गर्ने अवसर जुराउन सुरु गरिएको थियो ।
यस्तो प्रतियोगिताका कारण तल्लो वरियताका टिमहरुको युरोपियन च्याम्पियनसिप र विश्वकप तथा अन्य ठूला प्रतियोगितामा छनोट हुने सम्भावना वृद्धी हुने विश्वास छ ।
एएफसी नेशन्स लिग कहिलेबाट, कसरी, कुन पद्दतिमा गर्ने जस्ता विषयमा सरोकारवालाहरुसँगको छलफलपछि घोषणा गर्ने एएफसीले जनाएको छ ।
