काठमाडौं । नेपालमा फुटबलको सुनिश्चिता नहुँदा बढ्दो विदेश पलायनको लर्कोमा थप एक खेलाडी थपिएका छन् ।
बुधबार राति उदीयमान अट्याकिङ मिडफिल्डर अनिल बोम्जन लामा सुनौलो भविष्यको खोजीमा अस्ट्रेलिया पलायन भएका छन् ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट व्यावसायिक फुटबल खेलिरहेका अनिलले गत जेठमा सम्पन्न सहिद स्मारक ‘बी’ डिभिजन लिगमा च्यासल युवा क्लबको जर्सी लगाएका थिए ।

उमेर समूहमा नेपालको प्रतिनिधित्व गर्दै आएका अनिललाई नेपाली फुटबलको भविष्यका रुपमा हेरिएको थियो । गोदावरी नगरपालिका वडा नं ६, टिकाभैरवका अनिल दुई वर्षअघि घरेलु भूमिमा भएको दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१९ च्याम्पियनसिपमा सुनिल श्रेष्ठको नेतृत्वमा रहको नेपाली टोलीका प्रमुख खेलाडी थिए । एक वर्षपछि नेपालले पुनः साफ यु-२० च्याम्पियनसिप आयोजना गर्ने अवसर पाएको थियो । उर्जन श्रेष्ठको नेतृत्वमा रहेको टोलीमा पनि अनिल महत्वपूर्ण सदस्य थिए ।
गत वर्षनै सेप्टेम्बरमा चाइनिज ताइपेइमा सम्पन्न एएफसी यु-२० एसियन कप छनोट प्रतियोगितामा पनि अनिल टोलीमा थिए । यो नै अनिलले देशका खेलेको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यस्तै गत अगस्टमा जमशेदपुरमा सम्पन्न डुरान्ड कपमा अनिलले डुरान्ड कप खेलेका थिए ।

अनिलका यु-२० सहकर्मी आयुष तिम्सिना पनि तीन दिनअघि मात्र अस्ट्रेलिया पलायन भएका थिए । पाँच दिनअघि ६ वर्षअघि साफ यु–१८ च्याम्पियनसिपमा कप्तानको आर्मब्यान्ड लगाएका जय गुरुङले पनि अस्ट्रेलियालाई आफ्नो नयाँ गन्तव्य बनाए ।
घरेलु फुटबल शुन्यको स्थितिमा पुग्दा नेपाली खेलाडी सुनौलो भविष्यको खोजीमा विदेशीन बाध्य भइरहेका छन् । साढे दुई महिनाअघि गोलकिपर जियारथ सेख र तीन साताअघि रक्षक अश्विन घोरासैनी (र्याकी) पनि अस्ट्रेलिया पुगे ।अश्विन र जियारथ पनि अनिलकै यु-२० सहकर्मी हुन् ।
