काठमाडौं । काठमाडौं गोर्खाजमाथि चार विकेको सहज जित हासिल गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) सिजन दुईको क्वालिफायर २ मा प्रवेश गरेको छ ।
बुधबार र र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा काठमाडौंले दिएको ११२ रनको सामान्य लक्ष्य लुुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । जितसँगै लुम्बिनीले बिहीबार हुने क्वालिफायर २ मा विराटनगर किंग्ससँगको भेट पक्का गर्यो । हारसँगै काठमाडौं प्रतियोगिताबाट बाहिरियो ।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले ३४ बलमा दुई छक्कासहित ३३ रनको योगदान गरे । त्यस्तै चौथो नम्बरका सन्दीप जोराले २३ र कप्तान रोहित पौडेलले १८ रन जोडे । त्यस्तै विकेटकिपर निरोशन डिक्वेलाले १४ रन बनाए ।
काठमाडौंका लागि सन्तोष यादवले दुई विकेट लिए । त्यस्तै करण केसी, सन्नी पटेल, शाहब आलम र रसीद खानको नाममा एक विकेट रह्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेकोे काठमाडौं १९.१ ओभरमा सबै विकेट गुमाउँदा मात्र १११ रनमा समेटियो । काठमाडौंका लागि आठौं नम्बरमा आएका सन्तोषले सर्वाधिक २३ रन बनाए । यसैगरी मोहम्मद आदिल आलम र विकेटकिपर जोन सिम्पसनले समान १८ रन जोडे । त्यस्तै भिम शार्कीले १४ रनको योगदान गर्दा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि शेर मल्ल र रोहित पौडेलले समान तीन विकेट लिए । त्यस्तै रुवेन ट्रम्पलम्यानले दुई विकेट लिँदा अभिशेष गौतमको नाममा एक विकेट रह्यो ।
