काठमाडौं । इङ्लिस प्रिमियर लिग शुक्रबार सुरु भएसँगै स्पेनिस ला लिगाको नयाँ सिजन पनि सुरु भएको छ । विश्व फुटबलमा इङ्लिस प्रिमियर लिगको चर्चा जति छ, ला लिगाको त्यति छैन । तर, विश्व फुटबलका दुई महारथी रियल मड्रिड र बार्सिलोना यही लिगमा खेल्छन् । जसका कारण ला लिगालाई बेवास्ता गर्नै मिल्दैन ।
नयाँ सिजन सुरु हुँदा ला लिगाको उपाधि सधैंझैं यसपालि कसले जित्ला भन्ने बहस चल्न थालिसकेको छ । सर्वाधिक सफल क्लब रियल वा साबिक विजेता बार्सिलोना, यी दुईमध्ये कसले लिग जित्नेछ त ? अनि रियलको सहरी प्रतिद्वन्द्वी एटलेटिको मड्रिडले उपाधिमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गर्न सक्ने वा छैन ?
ला लिगा सुरु भइसक्दा यी पाँच तथ्य अझै पनि चर्चाको केन्द्रविन्दुमै छ ।
अलोन्सोको चुनौती
गत सिजन रियाल मड्रिडविरुद्ध बार्सिलोनाले क्लिन स्विप गर्यो । चार अवसरमा रियाललाई हराउन बार्सिलोनालाई कुनै पनि कठिनाइ भएन । बार्सिलोनाले सिजन अन्त्यसम्म घरेलु फुटबलका तीन प्रतियोगिता ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप उपाधि जित्यो ।
सिजन सकिएपछि रियालका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीले क्लब छाडे । उनलाई पूर्व मिडफिल्डर जाभी अलोन्सोले प्रतिस्थापन गरेका छन् । एन्सेलोट्टीसँग दुई भिन्न क्लबमा खेलाडीको रुपमा खेलेका अलोन्सोसामु रियललाई पुनर्जीवित गर्नेे चुनौती रहनेछ ।
रियालले एक महिनाअघि सम्पन्न क्लब विश्वकपमा युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग ४-० का नमीठो हार बेहोरेको थियो । रियालले क्लब विश्वकपमा सहभागिता जनाइरहँदा बार्सिलोनाले भने खेलाडीलाई आराम दिएको थियो । जसका कारण टोलीमा सुरुआती केही साता थकानको समस्या आउने हो कि भन्ने प्रश्न उब्जिएको छ ।

अलोन्सोसँग यसपालि डिफेन्सिभ लाइनमा राइटब्याक ट्रन्ट एलेक्जान्डर आर्नोल्ड र सेन्टरब्याक डिन हुइसेनको विकल्प हुनेछ । जुन अघिल्लो सिजन एन्सेलोट्टीका लागि टाउको दुखाइको विषय बनेको थियो । यसपालि त झन कप्तान ड्यानी कार्भाहाल पनि घुँडाको चोटबाट मुक्त हुँदै मैदानमा फर्किँदै छन् ।
अलोन्सोलाई अनुभवी मिडफिल्डर लुका मोड्रिचको अभाव भने खड्किने छ । रियलमा १३ सिजन बिताएका मोड्रिचले सिजनको अन्त्यसँगै रियाल छाडेका थिए । उनी अहिले सिरी ‘ए’ को चुनौती आत्मसात गर्न एसी मिलान पुगेका छन् । काँधको शल्यक्रिया गरेका युवा मिडफिल्डर जुड बेलिङ्घम पनि अक्टोबरसम्म अनुपस्थित हुनेछन् ।
यमलले स्तर कायम राख्ला ?
बितेको सिजन लामिन यमलले आफ्नो प्रदर्शनबाट विश्व फुटबलको ध्यान ताने । बार्सिलोना केही हदसम्म यमलको व्यक्तिगत प्रदर्शनमा निर्भर रह्यो भन्दा फरक पर्दैन । विंगरद्वय यमल र राफिन्हाको जोडी चम्कँदा बार्सिलोनाले घरेलु फुटबलका सबै उपाधि जितेको हो ।
यमल गत जुलाईमा १८ वर्षमा लागे । यो कम उमेरमै यमलले बार्सिलोनाका लागि एक सय खेल पूरा गरिसकेका छन् । जर्मन प्रशिक्षक हान्से फ्लिकको नेतृत्वमा रहेको बार्सिलोनाले यसपालि च्याम्पियन्स लिग जित्ने र ला लिगा उपाधि रक्षा गर्ने हो भने यमालले आफ्नो विश्वस्तरीय प्रदर्शन कायम राख्नु आवश्यक छ । जुलाईमै बार्सिलोनाका सर्वाकालीन महान खेलाडी लियोनल मेसीको जर्सी नम्बर १० प्राप्त गरेका यमलले क्लबमा आफ्नै ‘लिगेसी’मा ध्यान दिइरहेको प्रतिक्रिया दिएका थिए ।

सन् २०२४ मा स्पेनलाई युरो कप जिताउन उल्लेखनीय भूमिका निर्वाह गरेका यमल अर्को वर्ष हुने फिफा विश्वकपमा सबैभन्दा ठूलो नाम रहनेछन् । यस्तोमा यमललाई यो सिजन आफ्नो स्तर कायम राख्ने चुनौती रहनेछ ।
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट लोनमा बार्सिलोना पुगेका फरवार्ड मार्कस रसफोर्डले फ्लिकको मन जित्न सके यमलले बेलाबखत आराम पाउनेछन् ।
फेरिएको एटलेटिको
बितेको सिजन अंकतालिकाको तेस्रो स्थानमा रहेर लिग टुंग्याएको एटलेटिको मड्रिड उपाधिविहीन रह्यो । क्लब विश्वकपमा पनि गोल भिन्नतामा पछाडि पर्दा एटलेटिकोको यात्रा समूह चरणभन्दा अगाडि बढ्न सकेन । जसका कारण डिएगो सिमोनीको नेतृत्वमा रहेको एटलेटिकोले गम्भीर कदम चाल्यो ।
एटलेटिकोले दुई नयाँ मिडफिल्डर, भिलारियालबाट एलेक्स बेना र रियाल बेटिसबाट जोनी कार्डोसोलाई भित्र्याएको छ । पुराना खेलाडी एन्जल कोरिया, साउल निगेजसँगै चार सिजन बिताएका रोड्रिगो डी पल नयाँ क्लबमा अनुबन्ध भइसकेका छन् ।

‘स्कावड डेप्थ’का बावजुद सिमोनीले एटलेटिकोलाई उपाधि भने दिलाउन सकिरहेका छैनन् । युरोपकै सर्वाधिक महँगा प्रशिक्षक सिमोनीको नेतृत्वमा एटलेटिकोले पछिल्लो एक दशक मात्र तीन उपाधि जितेको छ । सिजन २०२०÷२१ मा लिग उपाधि उचालेको एटलेटिकोले वर्ष २०१८ मा युइएफए युरोपा लिग र सुपर कपको उपाधि जितेका थिए । यस्तोमा सिमोनीप्रति केही दबाब भने अवश्य रहनेछ ।
काजोर्लाको यात्रा ओभियडोमा
इङ्लिस क्लब आर्सनलका पूर्व प्लेमेकर सान्टी काजोर्लाले रियाल ओभियडोसँग थप एक वर्षको सम्झौता गरेका छन् । ओभियडो २४ वर्षपछि शीर्ष डिभिजनमा बढुवा भएको क्लब हो । सन् २००८ र २०१२ मा स्पेनले युरोपियन च्याम्पियनसिप जित्दाका सदस्य काजोर्ला अहिले ४० वर्षका भइसके ।
ओभियडोलाई शीर्ष डिभिजनमा ल्याउन काजोर्लाको प्रमुख योगदान छ । दुई सिजनअघि ओभियडोमा अनुबन्ध भइरहँदा काजोर्लाले विना कुनै तलब खेलिदिने प्रस्ताव गरेका थिए । तर, नियमअनुसार न्यूनतम रकम स्वीकार गर्न बाध्य भए ।

ओभियडोले काजोर्लाको पूर्व क्लब भिल्लारियालसँग खेल्दै लिगको सुरु गर्नेछ । भिल्लारियलसँग काजोर्लाले यसअघि फरक समयमा ९ सिजन बिताएका थिए । काजोर्लाका लागि भिल्लारियालविरुद्धको खेल भावनात्मक रूपमा पनि विशेष हुनेछ ।
काजोर्लाको अनुभवमा ओभियडोले लिगमा कस्तो प्रदर्शन गर्ला ? अहिले नै भन्न सकिन्न । तर, जब काजोर्ला रंगशालामा खटिरेका हुनेछन्, तब उनलाई घरेलु समर्थकको उल्लासमय साथ रहनेछ ।
पखाईमा सोसिडाड र सेभिया
सोसिडाड र सेभिया दुवैले नयाँ मुख्य प्रशिक्षकलाई भित्र्याएको छ । अघिल्लो सिजन दुवैका लागि खराब रह्यो । सोसिडाड ११औं स्थानमा रहँदा सेभिया पुछारबाट चौथो स्थानमा थियो । पुछारबाट तेस्रो स्थानमा रहँदै रेलिगेसनमा परेको लेगानेसभन्दा मात्र एक अंकले अगाडि रहँदै सेभियाले शीर्ष डिभिजनको हैसियत जोगाएको थियो ।
सोसिडाडको ‘बी’ टोली हुँदै सिनियर टोली सम्हालेका मुख्य प्रशिक्षक इमानोल अल्गुएसिलले साउदी अरेबियालाई आफ्नो गन्तव्य बनाएका छन् । सात वर्ष सोसिडाडको सिनियर टोलीको टचलाइनमा बसेका इमानोल साउदी प्रो लिग क्लब अल सबाबमा अनुबन्ध भएका छन् । सोसिडाडमा उनलाई सर्जिया फ्रान्स्किोले प्रतिस्थापन गरेका छन् ।
सेभियाले नयाँ प्रशिक्षकमा अर्जेन्टिनी माटियास अल्मेयडालाई भित्र्याएको छ । उनले स्पेनिस प्रशिक्षक जोआक्विन क्यापारोसलाई प्रतिस्थापन गरेका हुन् । सोसिडाड र सेभिया दुवैलाई स्पेनका शीर्ष टोलीमा गनिन्छ । तर, पछिल्लो केही वर्ष यी क्लबले आफ्नो त्यो छविमाथि न्याय दिलाउन सकेका छैनन् । दुबै क्लब नयाँ सुरुआतको लक्ष्यमा हुनेछ ।