काठमाडौं । जतिबेला भक्तपुरको सानो थिमीस्थित मध्यपूर युथ एसोसिएशनले शीर्ष डिभिजनको हैसियत प्राप्त गरेको थियो, नेपाली फुटबलमा अचानक नयाँ रौनक थपियो ।
२०६८ सालको बी डिभिजन लिगमा दोस्रो स्थान हासिल गर्दै मध्यपुर ए डिभिजनमा उक्लिएको थियो । डिभिजन फुटबलमा भक्तपुरको प्रतिनिधित्व गर्ने पहिलो क्लब भएका कारण, भक्तपुरवासी पूर्ण रुपमा मध्यपूरको साथमा थिए । मध्यपुरको प्रत्येक खेल दौरान थिमी, बोडे र भक्तपुरका सयौं स्थानीय बस रिजर्भ गरेरै रंगशाला पुग्थे ।
नेपाली फुटबलमा पाटनको थ्री स्टार क्लबले जसरी उदाहरणीय रुपमा स्थानीय फ्यानवेश क्रिएट गरेको थियो । मध्यपूरले पनि त्यस्तै हुल रंंगशालामा ल्याउन थाल्यो । भक्तपुरका स्थानीय बाजा गाजाका साथ मैदानमा उपस्थित हुन्थे ।
तर, नेपाली फुटबललाई मज्जाको रौनक दिएको मध्यपूरको शीर्ष डिभिजन यात्रामा दूर्भाग्यजनक तरिकाले अल्पविराम लाग्यो । मध्यपुर शीर्ष डिभिजनको पहिलो सिजननै रेलिगेशनमा पर्यो । त्यतिबेला लिगको निर्णायक खेलमा मध्यपूरले पराजय बेहोर्दा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाएका अध्यक्ष उपेन्द्रमान सिंहले धेरैबेर मैदानमा विरोध जनाएको अझै पनि फुटबलप्रेमीको मानसपटलमा ताजै छ । जावलाखेलभन्दा एक अंकले पछि पर्दै दोस्रो डिभिजनमा घटुवा भएको मध्यपुर त्यसपछि अझैसम्म शीर्ष डिभिजनमा देखिएको छैन ।
मध्यपुर २०६३ सालमा स्थापना भएको क्लब हो । उपेन्द्रमान सिंह, सन्तोष साहुखल, बालगोपाल साहुखल, जीवन सिन्केमान, रमेश सिन्केमान, तुल्सी बजु, सरोज दाहाल जस्ता खेलाडी जन्माएको भक्तपुर नेपाली फुटबलमा प्रतिनिधित्वविहीन थियो । उपेन्द्रमान ठ्याक्कै व्यवासायिक करिअरबाट सन्यास लिँदै प्रशिक्षण करिअरतिर जाने तयारीमा थिए । ठिक त्यहीबेला स्थानीय फुटबलप्रेमीको अनुरोधमा उपेन्द्रमान र उनका साथीहरुले क्लबको सुरुआत गरेका थिए । क्लबले ६४ सालमा सी डिभिजन छनोट प्रतियोगिता खेलेको थियो ।
पहिलो प्रयासमा असफल भएको मध्यपूर लगत्तैको सिजन डिभिजन फुटबलमा प्रवेश भएको थियो । एक वर्षपछि मध्यपुरले ‘सी’ डिभिजन जित्यो । ‘बी’ मा मध्यपुरले दुई सिजन बितायो । अन्ततः ६८ सालको लिगमा मध्यपुरले दोस्रो स्थानमा रहँदै ए डिभिजनमा स्थान बनायो । ६९ सालको ‘ए’ डिभिजनयता पाँच पटक शीर्ष डिभिजनको लिग भएका छन् । अनि यही अवधिमा पाँच पटक दोस्रो डिभिजनको प्रतिस्पर्धा पनि भएका छन् । जसमा मध्यपुरले २०७१ को ‘बी’ डिभिजन लिगबाहेक अन्य सिजनमा बढुवा हुन चुनौती पेश गर्न सकेको छैन । ७० को सिजनमा मध्यपुरले दोस्रो स्थानमा रहेर लिग टुंगाएको थियो । जतिबेला एउटा टोली मात्र ‘ए’ डिभिजनमा उकालिएको थियो । त्यतिबेला मध्यपुरलाई दुई अंकले उछिन्दै बिग्रेड ब्वाइज शीर्ष डिभिजनमा बढुवा भएको थियो । गत संस्करण मध्यपुर सातौं स्थानमा सीमित भएको थियो ।
एघार वर्ष भयो, रंगशालामा मध्यपुरका धिमेः नबजेको, झ्याली नपिटिएको । मध्यपुरबासी मैदान आउने प्रतीक्षामा व्यग्र छन् । जतिबेला मध्यपुर पहिलो पटक शीर्ष डिभिजनमा उक्लिएको थियो, टोलीलाई रानीपोखरी कर्नर टिम (आरसीटी)का पूर्व गोलकिपर प्रकाश वैद्यले प्रशिक्षकका रुपमा नेतृत्व गरेका थिए । शीर्ष डिभिजनमा पनि उनी नै प्रशिक्षकको जिम्मेवारीमा थिए । अहिले एक दशकको अन्तरालमा मध्यपुरले भक्तपुरको साख फिर्ता ल्याउने जिम्मा यिनै वैद्यलाई नै दिएको छ । वैद्यको प्रशिक्षणमा अहिले मध्यपुरले सानो थिमीस्थित आफ्नै मैदानमा विगत दुई महिनायता शीर्ष डिभिजन उक्लिने लक्ष्यका साथ टोली तयारीमा व्यस्त छ । टोली भर्खरै राजस्थानको जयपुरमा तीन मैत्रीपूर्ण खेल खेलेर फर्किएको छ ।
न्युरोड टिम (एनआरटी) र बिग्रेड ब्वाइज क्लबका पूर्व गोलकिपर प्रशिक्षक वैद्य दूर्भाग्यजनक रुपमा घटुवा हुनुको कारण क्लबको आर्थिक अवस्था र कमजोर व्यवस्थापनलाई मान्छन् । तर, यसपाली क्लब आर्थिक लगायत सबै कुरामा सम्पन्न रहेकोले टोली शीर्ष डिभिजनमा फेरि उक्लन सक्ने उनको विश्वास छ ।
‘मैले त्यतिबेला इतिहास रचेको थिएँ । लगत्तै झर्न बाध्य पनि भयौं । यसपाली जसरी पनि जाने लक्ष्य राखेका छौ,’ वैद्य भन्छन्, ‘हामी त्यतिबेला व्यवस्थापनमा चुकेका थियौं । हामीले त्यतिबेला शीर्ष डिभिजनलाई हल्का रुपमा लियौं । त्यसैले पहिलो सिजनमै रेलिगेशनमा पर्यौं । आर्थिक अवस्थामा पनि हामी कमजोर नै थियौं । यसपाली हामीलाई आर्थिक रुपमा त्यति गाह्रो छैन ।’
मध्यपुर घरेलु फुटबलका व्यावसायिक क्लबमध्ये पूर्वाधारका हिसाबमा पनि सबैभन्दा सम्पन्न क्लब हो । क्लबको आफ्नै निजी मैदान र भवन छ । क्लबले स्थानीय सरकारबाट वार्षिक रुपमा २० लाख रुपैँया बजेट प्राप्त गर्दै आएको छ । यो रकम क्लबले लिगबाहेक ग्रासरुट फुटबल र अन्य स्थानीय प्रतियोगिताका लागि प्रयोग गर्दै आएको छ । खेलाडीहरु क्लबकै भवनमा होस्टल बसिरहेका छन् । प्रत्येक शनिबार करिब ३०० बालबालिकाहरु ग्रासरुट फुटबल कार्यक्रममा सहभागी भइरहेका छन् । त्यस्तै क्लबले प्रत्येक वर्ष विभिन्न स्थानीय प्रतियोगिताहरु सञ्चालन गर्दै आएको छ । फुटबलका यस्ता बाक्लो गतिविधिहरुका कारण क्लबले प्रायोजकहरुको विश्वास पनि जितिरहेको छ ।
क्लब अहिले आर्थिक समस्याबाट नगुज्रिएको र अब शीर्ष डिभिजनमा टिकिरहन गाह्रो नभएकाले यसपाली टोलीले बढुवाबाहेक अन्य विकल्प सोचेको छैन । त्यस्तै भक्तपुरको प्रतिष्ठाका लागि पनि क्लब यसपाली शीर्ष डिभिजनमा चढ्नु पर्ने चुनौती रहेको अध्यक्ष उपेन्द्रमान सिंह बताउँछन् ।
‘हामीले ‘ए’बाट ‘बी’मा झर्नुपर्ने कारण भनेको आर्थिक रुपमा कमजोर भएर नै हो । ‘बी’ खेलेर आर्थिक भार परिरहेको बेला ‘ए’मा एकैचोटी खेल्नुपर्दा हामी व्यवस्थापन तथा आर्थिक जोहो गर्ने कार्यमा चुकेका थियौं । तर, अहिले अवस्था फेरिएको छ । अब हामीलाई ‘ए’ चढ्ने बेला आएको छ भन्ने लागेको छ,’ सिंह भन्छन्, ‘हाम्रो प्रदर्शन भक्तपुरको प्रतिष्ठासँग पनि जोडिएको छ ।’
क्लबका सिनियर खेलाडी सञ्जय राजवाहकले एक दशकअघि समर्थकबाट पाएको त्यो साथ बिर्सिएका छैनन् । ३० वर्षीय राइट ब्याक सञ्जय मध्यपुर एकेडेमीका पहिलो ब्याचका उत्पादन हुन् । मध्यपुरबाटै फुटबलको आधारभूत शिक्षा लिएका सञ्जयले त्यसपछि एन्फा एकेडेमीमा केही वर्ष बिताए । उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका सञ्जयले यसपालीको बी डिभिजनकै लागि भनेर पछिल्लो ए डिभिजनमा खेल्ने अवसर छाडेका थिए ।
‘मैले मध्यपुरको जस्तो समर्थन अरु क्लबमा कहिल्यै पाइन । शीर्ष डिभिजन खेल्दा म क्लबको सदस्य थिएँ । लोभलाग्दो साथ पाउँथ्यौं,’ सञ्जयले भने, ‘स्थानीय खेलाडी भएकाले पनि यसपाली जसरी पनि क्लबलाई ‘ए’ डिभिजन पुर्याउने चुनौती छ । यसपाली मध्यपुरका लागि खेल्न नपाउला भनेर मैले पछिल्लो ‘ए’ डिभिजन नै खेलिँन ।’
दुई महिनाअघि सम्पन्न ललित स्मृति यु-१८ लिगमा सानदार प्रदर्शन गरेका स्ट्राइकर सन्तोष गोङ्बा र विंगर तथा कप्तान विज्ञान खड्का क्लबका प्लेयर्स टु वाच हुन् । दुवैले ललित स्मृतिमा एनआरटीको प्रतिनिधित्व गरेका थिए । एनआरटीले दोस्रो स्थानमा रहेर लिग टुंगाएको थियो । लिगमा १८ गोल गरेका सन्तोष ‘मोस्ट भ्यालुएवल प्लेयर’को दाबेदार थिए । त्यस्तै विज्ञानले ८ गोल गरेका थिए । दुवैले उमेर समूहमा नेपालको प्रतिनिधित्व पनि गरे ।
हेटौडाका सन्तोष एनआरटीकै गोलकिपिङ प्रशिक्षक वैद्य र सहकर्मी विज्ञान मध्यपुरमा भएकाले बी डिभिजनमा सजिलो हुने आशा गर्छन ।
‘एनआरटीका साथीहरु र वैद्य सर भएका कारण लिगमा सजिलो हुने आशा छ,’ सन्तोष भन्छन्, ‘मैले व्यक्तिगत लक्ष्य केही राखेको छैन । टिमलाई बढुवा गर्ने लक्ष्य राखेको छु ।’
रौतहटका विज्ञानले बी डिभिजनलाई नयाँ यात्राका रुपमा लिएका छन् ।
‘उत्साहित छु ‘बी’ डिभिजनलाई लिएर । यो मेरो लागि एउटा नयाँ सुरुआत हो,’ विज्ञानले बताए, ‘सिनियर दाईहरुसँग धेरै कुरा सिकिरहेको छु ।’
शीर्ष डिभिजनको अनुभव लिइसकेका रजत तिवारी क्लबका अर्का प्रमुख खेलाडी हुन् । ग्रोइन इन्जुरीका कारण लामो समय मैदान बाहिर रहेका रजतले तीन सिजन बिग्रेड ब्वाइजबाट खेलेका थिए । नयाँ यात्राका लागि उनी तयार छन् ।
‘लामो समय मैदान बसिरहँदा मैले करिअरकै नराम्रो वर्षहरु पार गरेर मैदान फर्किएको छु,’ रजत भन्छन्, ‘अहिले फिट पनि छु । व्यक्तिगत रुपमा राम्रै गर्छु जस्तो लाग्छ ।’
नेपाली फुटबलमा मध्यपुरको परिचय यत्तिमै सीमित छैन । फुटबलको सबभन्दा मुल्यवान सम्पत्ति भनेको समर्थक हुन् । स्थानीय स्तरमा लोभलाग्दो फ्यानबेस बसाल्नुमा टोलीको योगदान जति प्रशंसा गरे पनि कम हुन्छ । यसैगरि फुटबलमा विकासका लागि नभई नहुने अर्को कुरा भनेको नयाँ खेलाडी उत्पादन प्रकृया हो । मध्यपुर युथ एसोसिएसनले नामलाई सार्थक बनाउने क्रममा उदाहरणीय काम गर्दा थिमीबाटै थुप्रै राष्ट्रिय स्तरका खेलाडी नेपाली फुटबललाई दिइसकेको छ । आसन्न बी डिभिजनमा क्लबको चुनौतीलाई यसैको निरन्तरताका रुपमा लिइएको छ ।