काठमाडौं । आरसीटी । अर्थात रानीपोखरी कर्नर टिम । नेपाली फुटबलको सबभन्दा सफलमध्येको एउटा क्लब ।
आरसीटीको स्थापना १९८९ सालमा भएको थियो । ९ दशकभन्दा लामो जीवनकालमा आरसीटीले ६ पटक सहिद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि जितिसकेको छ । यो नेपाली फुटबलमा मनाङ मर्स्याङदी क्लबले सात पटक लिग जितेर बनाएको कीर्तिमानभन्दा एकमात्र कम हो ।
एउटै संस्थाको छानोमुनि रहेका अन्नपूर्ण क्लब र आरसीटी दुवैको सफलता जोड्ने हो भने आठ लिग उपाधि हुन आउँछ । तर, डिभिजन फुटबलमा यी छुट्टा छुट्टै अस्तित्व बोकेका टोलीहरु हुन् ।
आरसीटी फुटबल टिम हो भने अन्नपूर्ण क्लब हो । आरसीटी फुटबल टिमको रुपमा स्थापना भएको धेरै वर्षपछि मात्र क्लबका रुपमा अन्नपूर्णलाई अस्तित्वमा ल्याइएको थियो । पछि आरसीटी र अन्नपूर्ण दुवै फुटबल टिमका रुपमा देखा परे । अनि लामो समयसम्म नेपाली फुटबलमा प्रभुत्व जमाए ।
आरसीटीले औपचारिक रुपमा पहिलो पल्ट २०२४ सालमा सहीद स्मारक ‘बी’ डिभिजन लिग खेलेको थियो । त्यो वर्ष लिगमा आरसीटीले दोस्रो स्थान हासिल गर्यो । त्यसको अर्को वर्ष आरसीटीले शीर्ष डिभिजनमा स्थान बनाएको हो ।
आरसीटीलाई शीर्ष डिभिजनको उपाधि जित्न धेरै वर्ष कुर्नुपरेन । तेस्रो अनुभवमै आरसीटी च्याम्पियन बन्यो । त्यसपछि त आरसीटीलाई उपाधि जित्ने बानी नै लाग्यो ।
२०२८ सालमा पहिलो पटक लिग च्याम्पियन बनेको आरसीटीले त्यसपछि २०२९ र २०३० सम्म लगातार तीन पटक लिगको उपाधि चुन्यो । आरसीटीले त्यसपछि २०३६, २०३८ र २०४१ सालमा गरि थप तीन पटक लिग जित्यो ।

अन्नपूर्ण भने २०२७ सालमा मात्र शीर्ष डिभिजन उक्लिएको थियो । शीर्ष डिभिजनको पहिलो अनुभव अर्थात् २०२८ को लिगमा अन्नपूर्ण उपविजेता बन्यो । अन्नपूर्णले पछि २०३४ र २०३९ सालमा लिगको उपाधि उचाल्यो ।
‘हामीले राणाकालको समयमा जनताले पनि फुटबल खेल्न पाउनुपर्छ भनेर विद्रोहस्वरुप यो क्लब स्थापना गरिएको हो,’ क्लबका उपाध्यक्ष कुमार राजभण्डारी भन्छन्, ‘रानीपोखरीको सँगै भएकाले यो नाम जुरेको हो । फुटबल टोलीपछि हामीले औपचारिक रुपमा अन्नपूर्णका रुपमा क्लबको सुरुआत गयौँ ।’
अन्नपूर्ण २०५२ सालको लिगमा रेलिगेशनमा पर्यो । त्यसपछि टोलीलाई शीर्ष डिभिजनमा कहिल्यै देखिएन । अहिले अन्नपूर्ण फुटबल मैदानमा नदेखिएको धेरै भइसक्यो ।
आरसीटीले पनि २०७० सालमा शीर्ष डिभिजनको हैसियत गुमायो । त्यतिबेला आरसीटीसँगै गर्विलो इतिहास बोकेको अर्को टोली ब्वाइज युनियन क्लब पनि रेलिगेसनमा परेको थियो ।
त्यसयता आरसिटीले चार पटक दोस्रो श्रेणीको फुटबल खेलिसकेको छ । जसमा टोली दुई पटक बढुवाको निक्कै नजिक पुगेर पनि सफल हुन सकेन ।
२०७५ सालको ‘बी’ डिभिजनमा आरसीटीले फाइनल चरणमा शीर्ष स्थानमा रहेर लिग टुंगाएको थियो । तर, त्यतिबेला एन्फाले ‘नो रेलिगेशन, नो प्रोमोशन’को लिग सञ्चालन गरेको थियो । त्यसपछि २०७८ सालमा सम्पन्न लिगमा टोली ‘हेड टु हेड’मा पछाडि पर्दै बढुवा हुन सकेन । समान अंक भए पनि आरसीटीलाई उछिन्दै खुमलटारले पहिलो पटक शीर्ष डिभिजनको हैसियत हासिल गर्यो ।

अहिले आरसीटी पाँचौं प्रयासमा बढुवा हुने कोशिसमा छ । फागुन २५ बाट सुरु हुन लागेको ‘बी’ डिभिजन लिगका लागि क्लबले असनमा रहेको आफ्नो भवनभन्दा ६ किलोमिटर पर लगनखेलस्थित बुद्धि विकास खेल मैदानमा दैनिक साढे दुई घण्टा प्रशिक्षण गरिरहेको छ । टोलीलाई घरेलु फुटबलका चर्चित प्रशिक्षक सनोज श्रेष्ठले नेतृत्व गरिरहेका छन् ।
टोलीले तयारी थालेको एक महिनाभन्दा बढी भइसक्यो । अहिले प्रशिक्षणमा ३० खेलाडी छन् । केही खेलाडी अझै आउन बाँकी छ । छिट्टै टोलीले २५ सदस्यीय टोली घोषणा गर्नेछ ।
‘हामीले खेलाडी छनोटको सबै प्रक्रिया पूरा गरिसकेका छौं । तयारीस्वरुप नकआउट प्रतियोगिता पनि खेल्यौं । पूराना खेलाडी, नयाँ केही प्रतिभावान खेलाडी र उमेर समूहका खेलाडीले यसपालि क्लबको प्रतिनिधित्व गर्नेछन्,’ प्रशिक्षक श्रेष्ठले भने ।
सिनियर खेलाडीमध्ये एक समीर राई यसपाली टोलीले गत संस्करणमा गरेको गल्ती नदोहोर्याउनेमा विश्वस्त छन् । फ्रेन्ड्स, संकटा जस्ता क्लबको जर्सी लगाइसकेका समीर अघिल्लो संस्करणमा भोग्नुपरेको पीडा नदोहोर्याउन यसपाली सचेत रहन आवश्यक रहेको बताउँछन् ।
‘गत संस्करणलाई सम्झँदा अहिले पनि मन दुख्छ । तर, यसपाली सबै खेलाडी सचेत छन् । विगतका गल्ती नदोहोर्याउनेमा विश्वस्त छु । टोली राम्रो बनेको छ । सबै लिग जित्नेमा सकारात्मक छन्,’ समीर भन्छन्, ‘हामी तयार छौं । जुनसुकै टोलीसँग पनि लड्न तयार छौं ।’
प्रशिक्षक श्रेष्ठले गत सेप्टेम्बरमा भुटानमा भएको साफ यु–१७ पुरुष च्याम्पियनसिपमा नेपाली युवा खेलाडीलाई लिड गरेका थिए । आफ्नो नजरमा परेका ५–६ खेलाडीलाई श्रेष्ठले क्लबमा भित्र्याएका छन् । तीमध्ये मिडफिल्डर कृष्णबहादुर आले हाइलाइटेड नाम हुन् । दुई महिनाअघि सम्पन्न ललित स्मृति यु–१८ लिगका ‘मोस्ट भ्यालुवेबल प्लेयर’ कृष्ण सिनियर लिगमा खेल्न उत्साहित रहेको बताउँछन् ।

‘एकदमै उत्साहित छु । लिगका लागि एकदमै तयारी गरेर आएको छु,’ कृष्ण भन्छन्, ‘मलाई विश्वास गरेर टोलीमा अनुबन्ध गरिएको छ । त्यो विश्वास तोड्दिन । विदामा मैले यसैका लागि तयारी गरेको थिएँ ।’
त्यस्तै च्याम्पियन टोली नेपाल पुलिस क्लबका गोलकिपर भक्तबहादुर परियार पनि टोलीमा छन् । साफ च्याम्पियनसिपका लागि भुटान जाने टोलीमा रहेका भक्तले लिगकै दौरान म्यानचेस्टर युनाइटेड र एपोलो टायरको संयुक्त आयोजनामा भएको ‘युनाइटेड वी प्ले’ को चौथो संस्करणको कार्यक्रमका लागि इङ्ल्यान्ड प्रस्थान गरेका थिए । जहाँ उनले युनाइटेडमा अभ्यास र प्रशिक्षणको मौका पाएका थिए । भक्तबहादुर युनाइटेडको प्रशिक्षणले ‘बी’ डिभिजनमा सहयोग पुग्ने बताउँछन् ।
‘युनाइटेडको प्रशिक्षण नेपाली फुटबलभन्दा धेरै नै फरक पाएँ । त्यही अनुभव अहिले ‘बी’मा प्रयोग गर्नेछु,’ भक्त बहादुर भन्छन्, ‘एक महिना भयो हामीले प्रशिक्षण गरेको । टोलीको लक्ष्य उपाधि जित्ने हो ।’
आरसिटीले फागुन २७ गते श्री भगवती क्लबसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुआत गर्नेछ । तीन महिनासम्म चल्ने भनिएको लिगमा क्लबले बढुवाबाहेक अन्य विकल्प सोचेको छैन ।