काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीकी रक्षक निशा थोकरले राजधानीमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपका बाँकी खेल गुमाउने भएकी छन् ।
सोमबार कीर्गिस्तानविरुद्ध लिग चरणको पहिलो खेलमा गम्भिर घाइते भएकी निशाले च्याम्पियनसिपका बाँकी खेल नखेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनायो ।
निशा इन्जुरी समयमा विपक्षी रक्षक नगिमा तुरालेइभासँग ठोक्किन पुगेकी थिइन् । निधारमा चोट लागेपछि निशा मैदान छाड्न बाध्य भएकी थिइन् । पछि उनलाई एम्बुलेन्सको सहायतामा अस्पताल लगिएको थियो ।
‘निधारमा आवश्यक ताका लगाइएको हामीले बुझेका छौं । अब निशाले आराम गर्ने छिन्,’ एन्फा प्रवक्ता सुरेश शाहले खेलाडी डटकमसँग भने ।
मुख्य प्रशिक्षक राजेन्द्र तामाङले नियमित सेन्टर ब्याक अमृता जैसीको स्थानमा निशालाई सुरुआती रोजाईमा मौका दिएका थिए ।
नेपालले तुलनात्मक रुपमा कमजोर किर्गिस्तानविरुद्ध १-० को साँघुरो जित हासिल गर्यो । अब नेपालले बिहीबार लेबनान र आइतबार म्यानमारसँग खेल्ने तालिका छ ।