चैत्र १४, २०८२ शनिबार | १५:३८:४१
पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय

कस्ले सुनिदिने प्रशिक्षक केसीका कुरा ?

काठमाडौं । पहिलो खेलमा हार । दोस्रोमा बराबरी । सहिद स्मारक ‘ए’ डिभिजन लिग २०७९ अन्तर्गत तेस्रो खेलमा आएर बल्ल तीन पटकको विजेता थ्री स्टार क्लबले स्पष्ट तीन अंकको खाता खोल्यो । फागुन २६ गते सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा थ्री स्टारले आफ्नो तेस्रो खेलमा नवप्रवेशी खुमलटार एफसीलाई २-० ले हराएको थियो ।

थ्री स्टारको टचलाइनमा थिए, प्रशिक्षक मेघराज केसी । गोल गर्ने खेलाडी थिए, केसीका ‘हुकुमका एक्का’ फरवार्ड मार्टिन्स कायोडे अजायी । खेलमा दुवै गोल उनैले गरेका थिए ।

त्यस दिन सातदोबाटोमा केसीले सोचेअनुरुप भइरहेको थियो । श्रम स्वीकृतिको कागजी प्रक्रिया नमिलेका कारण पहिलो दुई खेल गुमाएका केसीका ‘बादशाह’ पिटर सेगुनको रक्षापंक्तिमा बलियो उपस्थितीका कारण खुमलटारले थ्री स्टारको पोस्टमा एक गोल पनि गर्न सकेन । अन्य खेलाडीले पनि राम्रै प्रदर्शन गरे । त्यसैले त हो थ्री स्टारले तीन अंक प्राप्त गर्न सफल भएको ।

खेल सकिएपछि पोस्ट म्याच कन्फरेन्सका लागि खुमलटारका सहायक प्रशिक्षक मदन सुब्बासँगै केसी हलमा पुगे । केसीलाई त्यतिबेला सुब्बाको प्रतिक्रियाबाहेक अरु कुनै कुरामा निराश हुनुपर्ने कारण थिएन ।

खेलदौरान आफ्ना महत्वपूर्ण खेलाडी  मेसुके ओलामोउलाई अपशब्द बोलेर मनोबल गिराएको भन्दै सुब्बाले केसीमाथि आरोप लगाएका थिए ।

तर, आफ्नो बोल्ने पालो आएपछि केसीले आक्रोश पोखे । निराशा देखाए । उनको त्यो आक्रोश र निराशा समकक्षी सुब्बाले लगाएको आरोपप्रति लक्षित थिएन । केसी आक्रोशित हुनुको कारण अर्कै थियो । भनिरहनुपर्दैन, त्यो आक्रोश नेपाली फुटबलको वर्तमान अवस्थाप्रति केन्द्रित थियो ।

केसीलाई धेरै कुरा भन्ने मन थियो । तर, पत्रकार सम्मेलनको समय अवधि सम्मान गर्दै उनले कमै मात्र बोले ।

केसीलाई पहिलो प्रश्न सुब्बाले लगाएको आरोप साँचो हो या होइन भनेर सोधियो, जुन उनले सहजै अस्वीकार गरिदिए ।

दोस्रो प्रश्न थियो, खेलको समीक्षा कसरी गर्नुहुन्छ ?

केसी बोले, ‘हामीले संन्यास लिन लागेका खेलाडीहरुलाई अनुरोध गरेर खेलाउने अवस्था आएको छ । सही तरिकाले टिम तयार गर्न पाएका छैनौं । अझै थ्री स्टारको फाइनल टिम कस्तो हुन्छ भन्ने थाहा हुन बाँकी छ । पाँच खेलपछि हामीसँग यसको समाधान गर्न पर्याप्त समय हुनेछ होला । त्यो ग्यापमा हामीले मिहिनेत गर्ने र्छौं । आजचाहिँ खेल जितियो । पक्कै पनि हार्दा दुःख लाग्नु र जित्दा खुसी लाग्नु स्वाभाविक हो ।’

यसको मतलब थ्री स्टार परीक्षणमै रहेको हो त ? तेस्रो प्रश्न सोधियो ।

‘एकदमै हो । हामीले प्रि-सिजन राम्ररी बिताउन पाएका छैनौं । अहिले नेपालमा स्तरीय खेलाडीको कमी छ । प्रत्येक टोलीलाई हेर्नुस्, ‘सी’ डिभिजन पनि नखेलेका खेलाडीहरु एकैचोटि ‘ए’ डिभिजनमा खेलिरहेका छन् । एन्फाको ठूलो गल्तीले गर्दा फुटबलको स्तर घटेको छ । लिग अगाडि मोफसलका प्रतियोगिता गराउँदा त्यसको भार खेलाडीमाथि परेको छ । नेपाली फुटबल कता गइरहेको छ ? लिगभन्दा अगाडि के गर्नुपर्थ्यो ? यी सबै कुरा भन्न जरुरी छ,’ केसी अलि आक्रोशित देखिए ।

चौथो प्रश्न सोधियो, दोहोरो लिग खेलाउन क्लबलाई समस्या परेको हो ?

‘मैले भने नि लिग गर्नुपर्थ्यो, गर्नुपर्छ । तर लिग गर्नुभन्दा अगाडि हामीले प्रि–सिजनलाई समय पाएनौं । लिग सुरु हुनलाग्दा समेत खेलाडीलाई मोफसलका प्रतियोगिता खेल्न भ्याइनभ्याइ थियो । यसले खेलाडीको हालत के हुन्छ ?,’ केसीको स्वर चर्को हुँदै थियो, ‘मोफसलका प्रतियोगिता आयोजना गर्न स्वीकृति दिनै फुर्सद छैन एन्फालाई ।’

त्यसमा क्लबहरुले हामी खेल्दैनौं भन्न नि पाइन्छ त ? हलबाट अन्तिम प्रश्न आयो ।

आक्रोशित मुद्रामा नेपाली फुटबलको वास्तविक अवस्था झल्कने खालको उनको उत्तर थियो, ‘पाइन्छ । पक्कै पनि पाइन्छ । तर, नेपाली क्लबहरुलाई पनि त सम्बन्ध राम्रो बनाउनुपर्ने हुन्छ । पछि भोट चाहिँदैन ?

केसीले आफ्नै नेतृत्वमा थ्री स्टारका अधिकांश खेलाडी समेटेर लिग सुरु हुनुभन्दा केही दिनअगाडि मात्र नकआउट प्रतियोगिता खेलाएका थिए । राजधानीमा सम्पन्न केपी ओली कप फुटबलमा केसीले आयोजक केपी ओली एफसीको नेतृत्व गरेका थिए । कप्तानको जिम्मेवारीमा थ्री स्टारका विक्रम लामा नै थिए ।

चौथो खेलपछि पनि त्यही माहोल दोहोरियो ।

फागुन २९ गते दशरथ रंगशालामा थ्री स्टारले सातदोबाटो युथ क्लबमाथि १-० को जित हासिल गरेको थियो । खेलको ८९औं मिनेटमा अनिल महर्जनको कर्नर प्रहारलाई सदुपयोग गर्दै आदित्य शाक्यले निर्णायक गोल गरेका थिए ।

खेलपछि आयोजित पत्रकार सम्मेलनमा केसी फेरि एन्फामाथि खनिए । यसपल्ट विषय थियो, खेलाडी पलायनको ।

गत संस्करण केसीको नेतृत्वमा सातदोबाटोले पहिलो अनुभवमै लिगमा चौथो स्थान हासिल गरेको थियो । त्यसैले पहिलो प्रश्न सातदोबाटोकै बारेमा सोधियो, यसपालिको सातदोबाटो र अघिल्लो सिजनको सातदोबाटोमा के फरक पाउनुभयो ?

प्रश्न भूइँमा झर्न नपाउँदै केसीले जवाफ दिइहाले । उनले सातदोबाटो र वर्तमान लिग व्यवस्थापनलाई एकैचोटि जोडे ।

‘पक्कै पनि सातदोबाटो अहिले राम्रो छ । तर कुरा यहाँ सातदोबाटोको होइन, समग्र लिगको छ । पोहोरभन्दा यसपल्टको लिग नै राम्रो छैन । अहिले नेपाली फुटबल बचाउनुपर्ने अवस्था छ । दर्शकहरू खेल हेर्न आएका छैनन्,’ केसीले भने, ‘अघिल्लो सिजनमा खेलेका खेलाडी ४०-५० जना एक्कासी नहुँदा लिगको स्तर घटेको छ । ८-९ जना खेलाडी नहुँदा खासै फरक पर्दैन । तर, एकैचोटि ४०-५० जना नहुँदा पक्कै पनि फरक पर्छ ।’

यसबीच केसीले जानीजानी गल्ती गर्नेलाई माफ गर्न नसकिने बताए ।

‘अञ्जानमा गल्ती गर्नेहरुलाई माफी दिन सकिन्छ, तर जानीजानी गल्ती गर्नेहरुलाई सकिन्न । म अहिले जे जति भइरहेको छ, त्यसलाई साथ दिन्न । तपाईंहरु पनि नदिनुस् । त्यसका लागि मेरो अनुरोध छ,’ एन्फाको कमजोरी औल्याउँदै केसीले नेपाली फुटबल जोगाउनका लागि आह्वान गरे, ‘यसपालिको लिगबाट प्रतिभावान युवा खेलाडीहरु निस्कन्छन् । तर, उनीहरुलाई यहीं नेपालमा कति दिन बचाउन सक्छौं । त्यतातिर कसैको ध्यान गएको छैन ।’

घरेलु फुटबलमा ‘मेघराज केसी’ बेवास्ता गर्न नसकिने नाम हो । थ्री स्टारबाहेक हिमालयन शेर्पा, फ्रेन्ड्स र त्रिभुवन आर्मी जस्ता क्लब सम्हालिसकेका छन् उनले ।

केसीले यसअघि पनि थ्री स्टारको प्रशिक्षक भएर काम गरेका थिए । २०७२ सालको राष्ट्रिय लिगमा केसीकै नेतृत्वमा थ्री स्टार च्याम्पियन बनेको थियो । यद्यपि त्यतिबेला उनले अन्तिममा क्लब छाडेका थिए ।

२०७६ सालको ‘ए’ डिभिजन लिगमा पनि केसी थ्री स्टारकै जिम्मेवारीमा थिए । त्यसपछि केसी आफ्नै एकेडेमी सञ्चालन गर्ने लक्ष्यसहित क्लब फुटबलमा नफर्किने भन्दै टाढिए । तर कोभिड १९को विश्वव्यापी महामारीका कारण केसीको त्यो लक्ष्य पूरा भएन । महामारीबीच नै सुरु भएको फ्रेन्चाइज फुटबल प्रतियोगिता नेपाल सुपर लिगको पहिलो संस्करणमा एफसी चितवनको नेतृत्व गर्दै केसी फेरि क्लब फुटबलमा फर्के । गत सिजन उनको नेतृत्वमा सातदोबाटोले शीर्ष डिभिजनमा गज्जबको प्रदर्शन गरेको थियो ।

थ्री स्टारमा पुनरागमन गर्नुअघि केसीले साफ यु-२० च्याम्पियनसिपमा नेपालको पुरुष टोली पनि सम्हालेका थिए ।

केसीले बोलेका कुराहरु नेपाली फुटबल विकासका लागि गम्भीर विषय हुन् । त्यो उनले बोलेको औपचारिक खेलाडी र प्रशिक्षकका रुपमा झण्डै तीन दशक फुटबल मैदानमा बिताइसकेपछि प्राप्त अनुभव थियो । बास्तवमा केसीको मुखबाट नेपाली फुटबलको वर्तमान दुरावस्था र यसबाट पार लगाउने उपाय एकसाथ निस्किएको थियो । तर, सुनिदिने कस्ले ?

सुन्नुपर्ने एन्फा नेतृत्वलाई आफ्नै स्वार्थको डम्फु बजाउनमै फुर्सत छैन । भागबन्डाको रस्साकस्सीमै दिन बितिरहेछ । एन्फाको चरित्र पनि त्यही हो । आखिर नेपालमा फुटबल जोगाउने जिम्मेवारी खेलाडी, प्रशिक्षक र समर्थकले थेग्दै आएका न हुन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो