काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलमा अमेरिकासँग १०६ रनको हार बेहोरेको छ ।
हारसँगै १७ खेलमा १२ अंक जोडेको नेपाल सातौं स्थानमा छ । जित निकालेको अमेरिका २१ खेलमा ३० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।
आइतबार युएईको दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अमेरिकाले प्रस्तुत गरेको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमै समेटियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४०, आसिफ शेखले ३७, भीम सार्कीले २९, आरिफ शेखले २० र सोमपाल कामीले ११ रन बनाए ।
अमेरिकाका लागि हर्मित सिंहले ८.१ ओभरमा एक मेडनसहित मात्र २७ रन खर्चिएर ६ विकेट लिए । यसैगरी शुबमन रन्जानेले दुई तथा रुशिल उगारकरले एक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रनको योगफल तयार पारेको थियो ।
अमेरिकाका लागि स्मिथ पटेलले १०० बलमा ९ चौकाको मद्दतले सर्वाधिक ७५ रनको योगदान गरे । यसैगरी मिलान्ड कुमारले ५० बलमा ६ चौका र दुई छक्कासहित अविजित ७०, साइतेजा मुक्कामल्लाले ४२, शुवम रन्जानेले १९, आन्द्रियस गौस र शयान जहान्गिरले समान ११ रन तथा कप्तान मोनंक पटेलले १० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।
