काठमाडौं । नेपाल पुलिस क्लबका पुर्ण थापा र गौरव दाहालको जोडी प्रथम मुख्य मन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष युगलतर्फ सेमिफाइनल प्रवेश गरेका छन् ।
पुर्ण र गौरवको जोडीले सुर्यदर्शनका दीपक राना र महेश खड्काको जोडीलाई २१-१९, २२-२० ले पराजित गरे ।
उनीहरुले सेमिफाइनलमा एपिएफका देवराज राना र क्षितिज खनालको जोडीसँगको प्रतिस्पर्धा गर्ने छन् । देवराज र क्षितिजको जोडीले नखिपोटका बिवेक चौधरी र निखिल भट्टको जोडीलाई २१-९, २१-१० ले पराजित गरेका हुन् ।
यस्तै अर्को खेलमा एपिएफका सुजन थापा र राजु थापाको जोडीले आफ्नै क्लबका अमन महर्जन र रोशन साउदको जोडीलाई २१-१४, १९-२१, २१-१२ ले पराजित गर्दै सेमिफाइलमा नेपाल पुलिस क्लबका दीपक थापा र सुनिल जोशीको जोडीसँगको भेट पक्का गरेका छन् । दीपक र सुनिलको जोडीले देवीनगरका बविश थापा र गोलु ऐरको जोडीलाई २१-१६, २१-९ ले पराजित गरे ।
बशुन्धरास्थित फिटनेश पार्क ब्याडमिन्टन एकेडेमीको आयोजनामा भएको प्रतियोगिताको पुरुष एकलतर्फ एपिएफका अमन महर्जनले एपिएफकै सुजन थापालाई २१-१९, १६-२१, २१-१४ ले पराजित गरे ।
उनले सेमिफानलमा एपिएफकै देवराज रानासँग प्रतिस्वर्धा गर्ने छन् । देवराज एपिएफकै अनिल मल्ललाई २२-२०, २१-१५ ले पराजित गर्दै सेमिफाइनल पुगेका हुन् ।
अर्को खेलमा नखिपोटका बिवेक चौधरीले एपिएफका रोशन साउदलाई २१-१८, २१-१७ ले तथा एपिएफका क्षितिज खनालले एपिएफकै अरुण अधिकारीलाई १९-२१, २१-१४, २१-९ ले पराजित गरे । सेमिफाइनलमा यी दुईले प्रतिस्पर्धा गर्ने छन् ।
महिला एकलतर्फ एपिएफकी शोभा गौचन, कस्तुरी कलेजकी सिमा राजबंशी, एपिएफकी रिना तामाङ्ग र पुलिसकी निता लम्सालले पनि सेमिफाइनलमा स्थान बनाए । शोभाले पुलिसकी सुषमा श्रेष्ठलाई २१-११, २१-१९, सिमाले देवीनगरकी प्रिया गौडलाई २१-८, २१-३, रिनाले सर्लाहीकी निकिता लामाबाट वाकओभर र निताले एपिएफकी एन्जिला वाङ्गलाई २१-४, २१-३ ले पराजित गरे ।
ब्वाइज यु-१३ तर्फ तनहुँका सफल भुजेलले स्पोर्टस हबका सदीप राईलाई २१-१३, २१-१६, कैलालीका रियाँश चौधरीले धन्यन्तरीका सत्यम कार्कीलाई २३-२१, १३-२१, २३-२१, एपिएफका आयुष सिमखडाले दीपक ब्याडमिन्टन एकेडेमीका डियोन भण्डारीलाई १३-२१, २१-१७, २१-५ र कैलालीका आदित्य चौधरीले धन्यन्तरीका सुहम कार्कीलाई २१-१५, २१-१९ ले पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरे ।
यस्तै सोही समूहको गर्ल्सतर्फ मोहन भुगोल ब्याडमिन्टन फाउन्डेसनका निभा राई, ग्यालेक्सी पब्लिक स्कुलकी अक्षरा यादव, सिन्धुपाल्चोककी आश्ना श्रेष्ठ र दीपक ब्याडमिन्टन एकेडेमीकी अश्मिता कार्कीले पनि अन्तिम ४ मा स्थान बनाए । निभाले एपिएफकी आश्रुती कार्कीलाई २१-४, २१-५, अक्षराले दीपक ब्याडमिन्टनकी उपासना बोहरालाई २१-५, २१-१८, आश्नाले एपिएफकी एन्जिाला वाङ्गलाई २१-१०, २१-६ र अश्मिताले ग्यालेक्सीकी सुजाता पोखरेललाई २१-६, २१-५ ले पराजित गरेका हुन् ।
ब्वाइज यु-१९ तर्फ एपिएफका रोशन साउदले देवीनगरका सक्षम ढकाललाई २१-१३, २१-१५ ले पराजित गर्दै सेमिफाइनलमा युनिटीका सुनिल कार्कीसँगको भेट पक्का गरे । सुनिलले सुर्यदर्शनका अमन डङ्गोललाई २१-१७, २१-१३ ले पराजित गरे ।
यस्तै अर्को खेलमा एपिएफका अनिल मल्लले एपिएफकै प्रारम्भ सिमखडालाई २१-६, २१-५ र एपिएफका अरुण अधिकारीले स्पोर्टस हबका अनुज तामाङलाई १५-२१, २१-१३, २२-२० ले पराजित गरे । उनीहरु सेमिफाइनलमा भिड्ने छन् ।
यसै विधाको गर्ल्सतर्फ एपिएफकी रिना तामाङ्गले ग्यालेक्सीकी अक्षरा यादवलाई २१-६, २१-४ ले पराजित गर्दा मोहन भुगोल ब्याडमिन्टन फाउन्डेशनकी निभा राईले दीपक ब्याडमिन्टनकी उपासना बोहराबाट वाकओभर पाइन् । यी दुईले सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
यसैगरी इमाडोलकी टिसा रानी शाक्यले ग्यालेक्सीकी सुजाता पोखरेललाई २१-२, २१-७ र दीपक ब्याडमिन्टनकी अश्मिता खत्रीले कास्कीकी आयुष्मा नेपाललाई २१-९, २३-२१ ले पराजित गर्दै सेमिफाइनलको भेट पक्का गरे ।