काठमाडौं । शीर्ष स्थानमा रहेको मछिन्द्र क्लबले एन्फा यु-१६ युथ लिगमा अर्को सानदार जित हासिल गरेको छ । बिहीबार मछिन्द्रले दिनको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लबलाई ९-० ले हरायो ।
सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा सम्पन्न २२औं चरणको खेलमा मछिन्द्रलाई फराकिलो जित दिलाउन साइरस डंगोलले चार तथा विकास थापाले ह्याट्रिक गोल गरे । त्यस्तै राहुल कुमार योञ्जन र करण धामीले समान एक गोल गरे ।
जितसँगै मछिन्द्रले अंकतालिकाको शीर्ष स्थानमा तीन अंकको अग्रता लिएको छ । १५औं जित हासिल गरेको मछिन्द्रले कूल ४९ अंक जोडेको छ । १४ अंकका साथ आर्मी पुछारबाट तेस्रो स्थानमा छ ।
दिनको पहिलो खेलमा फ्रेन्ड्स क्लबले एपिएफ फुटबल क्लबमाथि २-० को जित हासिल गर्यो । दुबै गोल सदानन्द मास्की मगरले पहिलो हाफमा गरे । जितसँगै फ्रेन्ड्स ४५ अंकका साथ तेस्रो स्थानमा उक्लियो । ३५ अंकका साथ एपिएफ सातौं स्थानमा यथावत छ ।
दिनको दोस्रो खेलमा चर्च ब्वाइज युनाइटेडले संकटा क्लबमाथि १-० को संघर्षपूर्ण जित निकाल्यो । चर्च ब्वाइजका लागि विमल तामाङले ७०औं मिनेटमा निर्णायक गोल गरे । यो नतिजासँगै चर्च ब्वाइजले ३९ अंक जोडेको छ । पाँचौं स्थानमा रहेको संकटाको ४१ अंक छ ।
