काठमाडौं । काठमाडौंमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला क्लब च्याम्पियनसिपको फाइनल समीकरण पूरा भएको छ । आइतबार भारतको इस्ट बङ्गाल एफसीले बंगलादेशको नासिरन स्पोर्टस एकेडेमीमाथि ७-० को सानदार जित हासिल गरेसँगै फाइनल खेल्ने दुई टोलीको टुंगो लागेको हो ।
लगातार तेस्रो खेलमा जित हासिल गरेको बङ्गालले फाइनलमा नेपाल एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । नासरिनको हारसँगै तीन खेलमा सात अंक जोडेको एपिएफले कम्तिमा पनि दोस्रो स्थान सुरक्षित गर्यो ।
आइतबारको नतिजासँगै नासरिन एक खेलअगावै फाइनल समीकरणबाट बाहिरियो । तीनमध्ये नासरिनले दुईमा पराजय र एकमा बराबरी खेलेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बङ्गालका लागि स्ट्राइकर फाजिला इक्वापुट एक्लैले पाँच गोल गरिन् । त्यस्तै अट्याकिङ मिडफिल्डर ज्योती चोहान र स्ट्राइकर सुलन्जना राउलले एक–एक गोल गरे ।
फाइनल खेल शनिबार हुनेछ । त्यसअगाडि एपिएफ र इस्ट बङ्गालले लिग चरणको अन्तिम खेलमा बुधबार एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन् । नासरिनले बुधबार ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीसँग खेल्नेछ ।
