काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इन्डोनेसियाले बुधबार योग्यकार्तास्थित मागुवोहर्जो रंगशालामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आतिथ्य गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ६ः१५ बजे हुनेछ ।
नेपाल र इन्डोनेसिया अहिलेसम्म एकपटक मात्र आमने–सामने भएका छन् । साढे ६ वर्षअघि म्यानमारको मण्डलेमा सम्पन्न एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा यी दुईले पहिलोपटक एकअर्कासँग खेलेका थिए ।
त्यतिबेला समूह ‘ए’मा रहेको नेपालले बाह्तो रंगशालामा इन्डोनेसियालाई २-१ ले हराएको थियो । खेलको आठौं मिनेटमै १० खेलाडीमा समिटिएको इन्डोनेसियाविरुद्ध दुबै गोल स्ट्राइकर साबित्रा भण्डारीले गरेकी थिइन् । इन्डोनेसियाअघि नेपालले भारत र घरेलु टोली म्यानमारसँग खेलेको थियो । यी दुबै खेलमा नेपाल पराजित भएको थियो । टोलीको कप्तानी निरु थापाले गरेकी थिइन् ।
अहिले साबित्रा टोलीकी कप्तान हुन् । तर, इन्डोनेसियाविरुद्ध उनको उपस्थिति भने रहनेछैन । इन्जुरीका कारण साबित्रा टोलीमा जोडिएकी छैनन् । उनको अनुपस्थितिमा पूर्व कप्तान अञ्जिला तुम्बापोले टोलीको नेतृत्व सम्हाल्दैछिन् ।
मुख्य प्रशिक्षक नवीन न्यौपाने इन्डोनेसियाविरुद्ध चौथो ‘टचलाइन’ अनुभव लिदैछन् । गएको महिना मात्र न्यौपानेको नेतृत्वमा टोलीले भारतको सिलोङ भ्रमण गरेको थियो । जहाँ टोलीले इरान र घरेलु टोलीसम्मिलित त्रिदेशीय च्याम्पियनसिपमा सहभागिता जनाएको थियो । इरानविरुद्ध हार बेहोरेको नेपालले भारतलाई हराएको थियो । त्यसपछि नेपालले सिक्किममा फेरि भारतसँग अनाधिकारिक मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा पनि नेपालले विजयी हासिल गर्यो ।

फिफा वरीयताका कुरा गर्ने हो भने इन्डोनेसिया नेपालभन्दा १९ स्थान तल छ । दुबै आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपको २१औं संस्करणमा छनोट हुन असफल भएका टोली हुन् । समूह ‘एफ’ मा रहेको नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा दूर्भाग्यजनक रुपमा पराजित हुँदा ऐतिहासिक अवसरबाट बञ्चित भएको थियो । उता इन्डोनेसिया आफ्नो समूहमा त्यति चुनौती दिन सकेन ।
इन्डोनेसिया रहेको समूह ‘डी’बाट चाइनिज ताइपेईले अंकतालिकाको शीर्ष स्थानमा रहँदै अस्ट्रेलियाको टिकट काटेको थियो । यही चाइनिज ताइपेईसँग नेपालले डिसेम्बर २ मा खेल्ने तालिका छ ।
इन्डोनेसियाले एएफसी छनोटपछि एसियन महिला च्याम्पियनसिपको १३औं संस्करणमा सहभागिता जनाएको थियो । जुन प्रतियोगितामा इन्डोनेसियाको प्रदर्शन बिर्सनलायक थियोे । टोलीले समूहका तीन मध्य दुईमा हार बेहोर्यो ।
