काठमाडौं । म्यानमारमा जारी एएफसी यु-१७ एसियन कप छनोट प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्दैछ । म्यानमारको याङ्गुनस्थित थुवुन्ना रंगशालामा खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे हुनेछ ।
ओमानविरुद्ध नेपाललाई जितबाहेक विकल्प छैन । बराबरीको नतिजाले पनि अगामी वर्ष साउदी अरेबियामा हुने एसियन कपमा स्थान बनाउने नेपालको चुनौती समाप्त हुनेछ ।
पछिल्ला दुबै खेलमा पराजित नेपाल अंकतालिकाको पुछारमा छ । समूह ‘जी’मा नेपालले पहिलो खेलमा सिरियासँग ४–२ को हार बेहोरेको थियो । नेपालका लागि दुबै गोल निसकुमार श्रेष्ठले गरेका थिए । सोमबार सम्पन्न दोस्रो खेलमा म्यानमारले नेपाललाई ४–० ले हरायो ।
म्यानमारविरुद्ध मुख्य प्रशिक्षक सञ्जित सिंहले पहिलो रोजाई मैदानमा उतार्दा एक परिवर्तन गरेका थिए । सिरियाविरुद्ध रातो कार्ड खाएका अनमोल कार्की म्यानमारविरुद्ध प्रतिबन्धमा थिए । उनको स्थानमा सिंहले भुवन कामीलाई खेलाएका थिए । अनमोल बुधबार ओमानविरुद्ध उपलब्ध हुनेछन् ।
ओमानपछि नेपालले अन्तिम खेलमा शुक्रबार अफगानिस्तानसँग खेल्ने तालिका छ । समूह विजेताले साउदी अरेबियाको टिकट काट्ने सेट-अप छ ।
