काठमाडौं । युरोपेली क्लब फुटबलको सबभन्दा ठूलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको सिजन आज रातीबाट सुरु हुँदैछ ।
३६ टोलीको सहभागिता रहने गरी पुर्नसंरचना गरिएपछिको दोस्रो संस्करण आजबाट सुरु भएर २०२६ मे ३० सम्म चल्नेछ ।
प्रारम्भिक चरणमा युरोपेली फुटबल महासंघ (युइएफए)का ५५ सदस्यमध्ये लिचेस्टाइन र रुसबाहेक ५३ देशका कुल ८२ टोलीबीचको प्रतिस्पर्धाबाट छानिएका शीर्ष ३६ टिमले आजबाट सुरु हुने मुख्य समूह चरणमा सहभागिता जनाउनेछन् ।
लिचेस्टाइनमा लिग नहुने कारण च्याम्पियन्स लिगलाई त्यहाँबाट कुनै टिमले सहभागिता जनाउँदैनन् । यसैगरी रुस पछिल्लो समय युइएफएको प्रतिबन्धमा रहेकोले रुस पनि अन्तर्राष्ट्रिय फुटबलबाट टाढा छ ।
युइएफएको वरियताअनुसार शीर्ष चार देशको लिगबाट शीर्ष चार, पाँचौं देशबाट तीन, छैटौं देशबाट दुई, सातौंदेखि १०औं सम्मका देशबाट च्याम्पियन टिम, युरोपा लिगको साविक विजेता, युरोपेली फुटबलमा छुट्टै प्रयोगमा आउने कुनै पनि देशको फुटबल नतिजाको औसत निकाल्ने प्रकृया (युइएफए कोफिसियन्ट)का आधारमा अघिल्लो सिजन उच्च स्थानमा रहने दुई देशबाट थप एक/एक टिम सोझै समूह चरणलाई छानिने प्रावधान छ । बाँकी साट टिम चाँही तीन चरणको प्रारम्भिक छनोट तथा त्यसपछिको प्लेअफसमेतबाट चयन गरिन्छ ।
त्यसअनुसार यो सिजन च्याम्पियन्स लिगको समूह चरणमा इङल्यान्डबाट सर्वाधिक ६ टिमको सहभागिता रहनेछ । अघिल्लो सिजन टोटनहमले गत सिजनको युरोपा लिग जितेको कारण टोली पाँचौं टोलीका रुपमा छनोट भयो भने युइएफए कोफिसियन्टमा माथि रहेका कारण थप एक टिमले मौका पाउँदा इङ्लिस टिमको संख्या ६ पुगेको हो ।
१६ देशका ३६ टोली रहने मुल स्पर्धामा युइएफए कोफिसियन्टका आधारमा थप एक टिम सहभागी गराउन पाउने अर्को देश स्पेन हो । स्पेनबाट पाँच टिम समूह चरणमा हुनेछन् ।
सिजनभर कुल १८९ खेल पछि अर्को वर्ष मे ३० मा बुदापेष्टको पुस्कास एरिनामा युरोपेली च्याम्पियनको टुंगो लाग्नेछ ।
इङ्ल्यान्डबाट च्याम्पियन लिभरपुलसहित म्यानचेस्टर सिटी, चेल्सी, आर्सनल, न्युक्यासल र टोटनहमले समूह चरणमा सहभागिता जनाउँदा स्पेनबाट बार्सिलोना, रियाल मड्रिड, एट्लेटिको मड्रिड, एथलेटिक बिल्बाओ र भियारियालको सहभागिता हुनेछ ।
यसैगरी जर्मनीबाट बायर्न म्युनिख, बायर लेभरकुसन, इन्ट्रयाक्ट फ्रयांकफर्ट र बोरुसिया डर्टमण्ड, इटालीबाट नेपोली, इन्टर मिलान, एट्लान्टा र युभेन्टस तथा फ्रान्सबाट पेरिस सेन्ट जर्मेन, मार्से र मोनाकोले च्याम्पियन्स लिगको समूह चरण खेल्नेछन् ।
यसैगरी नेदरल्यान्ड्सबाट पिएसभी आइन्डहोभन र आयाक्स, पोर्चुगलबाट स्र्पोटिङ सिपी र बेन्फिका, बेल्जियमबाट युनियन सेन्ट जिलोइस र क्लब ब्रुगे, टर्कीबाट गालाटासरे, चेक गणतन्त्रबाट स्लाभिया प्राह तथा ग्रिसबाट ओलम्पियोकास, डेनमार्कबाट एफसी कोपनहेगन, नर्वेबाट बोदो ग्लिम्ट, साइप्रसबाट पाफोस, कजाकस्तानबाट काइराट मल्माटी र अजरबैजानबाट काराबागले सोझै समूह चरण खेल्ने छन् ।