काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुआत गरेको छ ।
मंगलबार घरेलु मैदान स्यान्टियागो बर्नाबेउमा रियालले फ्रेन्च क्लब मार्सेविरुद्ध २-१ को पुनरागमन जित निकाल्यो ।
रियाललाई जित दिलाउन दुवै गोल किलियन एमबाप्पेले गरे । मार्सेका लागि टिमोथी वेहले गोल गरे ।
खेलको २२औं मिनेटमा वेहको गोलमार्फत मार्सेले अग्रता लिएको थियो । उनले मेसन ग्रिनउडको पासलाई पोस्टको दिशा दिए ।
६ मिनेटपछि नै एमबाप्पेले पेनाल्टीमार्फत रियालका लागि बराबरी गोल गरे । मार्सेका रक्षक जेफ्री कोन्डोग्बियाले रोड्रिगोलाई बक्स भित्र लडाएपछि रियालले पेनाल्टी अवसर पाएको थियो ।
रक्षक ड्यानी कार्भहालले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ७२औं मिनेटमा रियाल १० खेलाडीमा समेटिएको थियो । मार्सेका गोलकिपर जेरोनिमो रुलीलाई टाउकाले प्रहार गरेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।
एमबाप्पेले ८१औं मिनेटमा पेनाल्टीमार्फत नै व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई पुनरागमन जित दिलाए । मार्सेका रक्षक फाकुन्डो मेडिनाले बक्स भित्र ह्यान्ड गरेपछि भिएआरको सहायतमा रियाललाई पेनाल्टी अवसर प्रदान गरिएको थियो ।