काठमाडौं । बार्सिलोनाले स्पेनिस ला लिगमा आइतबार सेभियाविरुद्ध ४-१ को सहज जित दर्ता गरेको छ ।
जितसँगै बार्सिलोनाले शीर्षस्थानको रियाल मड्रिडसँग अंक दूरी घटाएर दुईमा पुर्याएको छ । बार्सिलोना २३ खेलबाट ४८ अंकका साथ तेस्रो स्थानमा छ ।
रियालको ५० अंक रहँदा दोस्रो स्थानको एटलेटिको मड्रिडको ४९ अंक छ । यता पराजित सेभिया समान खेलबाट २८ अंकका साथ १३औं स्थानमा छ ।
रामोन सान्चेज पिज्जुवान रंगशालामा पाहुना टोलीलाई जित दिलाउन रोबर्ट लेवान्डोवस्की, फेर्मिन लोपेज, राफिन्हा र एरिक गार्सिसायले गोल गरे । सेभियाका लागि रुवेन भर्गासले गोल फर्काए ।
खेलको सातौं मिनेटमा लेवान्डोवस्कीको गोलमार्फत बार्सिलोनाले अग्रता लिएको थियो । तर एक मिनेट बित्न नपाउँदै भर्गासले सेभियाका लागि बराबरी गोल फर्काए ।
दोस्रो हाफको सुरुआतमै लोपेजले गोल गर्दा बार्सिलोना २-१ ले अगाडि बढ्यो । ५५औं मिनेटमा राफिन्हाले टोलीका लागि तेस्रो गोल गरे ।
लोपेजले रातो कार्ड बेहोर्दै मैदान छाडेपछि ६२औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो । निर्धारित समय सकिन एक मिनेट बाँकी रहँदा गार्सियाले गोल गर्दै बार्सिलोनालाई ४-१ को सहज जित दिलाए ।