काठमाडौं । इप्सिविच टाउनले इङ्लिस प्रिमियर लिगमा २२ वर्षपछि जित दर्ता गरेको छ । आइतबार इप्सिविचले घरेलु टोली टोटनहमविरुद्ध २-१ को जित निकाल्यो ।
इप्सविचले पछिल्लो पटक सन् २००२ मा जित हात पारेको थियो । जारी सिजनमा टोलीको यो पहिलो जित हो ।
जितसँगै रेलिगेसन क्षेत्र छाडेको इप्सविच ११ खेलमा आठ अंक जोडेर १७औं स्थानमा उक्लिएको छ । पराजित टोटनहम समान खेलबाट १६ अंकका साथ १०औं स्थानमा छ ।
टोटनहम होस्टपुर रंगशालामा इप्सविचका लागि सामी स्जमोडिक्स र लियाम डेलापको गोल गरे । टोटहनमका लागि रोड्रिगो बेन्टनचरले गोल फर्काए ।
खेलको ३१औं मिनेटमा स्जमोडिक्सको गोलमार्फत इप्सविचले अग्रता लिएको थियो । ४३औं मिनेटमा डेलापले टोलीको अग्रता दोब्बर बनाए ।
बेन्टनचरले ६९औं मिनेटमा गरेको गोल टोटनहमका लागि सान्त्वना बन्यो ।
लिगअन्तर्गत आइबारै सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीलाई ३-० तथा न्युक्यासल युनाइटेड नटिङघम फरेस्टलाई २-१ ले पराजित गरे ।