काठमाडौं । म्यानचेस्टर सिटी काराबाओ कपमा न्युक्यासल युनाइटेडसँग पराजित हुँदा लिभरपुलले सहज जित निकालेको छ ।
चौथो चरणमा भएको प्रतिस्पर्धामा सिटी फिनिसिङमा चुकेको थियो । न्युक्यासलको जितमा एलेजान्डर इसाकले ५३औं मिनेटमा निर्णायक गोल गरेका थिए । उनले जोयलिंटनको पास सदुपयोग गर्दै सिटीलाई स्तब्ध बनाएका हुन् ।
खेलमा पेप ग्वार्डिओलाले सात खेलाडी परिवर्तन गरेका थिए । सिटी पछिल्लो ३८ खेलमा दोस्रो हार बेहोरेको हो ।
न्युक्यासलले अबको खेल च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग खेल्नेछ । यस्तै बर्नलीसँग इङ्लिस प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने तालिका छ ।
यस्तै अर्काे खेलमा लिभरपुलले लेष्टर सिटीमाथि ३-१ को जित निकालेको छ । यद्यपि घरेलु मैदानमा लिभरपुलले पुनरागमन जित निकालेको हो ।
तेस्रो मिनेटमै लेष्टरलाई कासी म्याकटिरले काउन्टरमा गोल गर्दै अग्रता दिलाएका थिए । कोडी गाक्पोले ४८औं मिनेटमा बराबरी गोल गरेका थिए । एनफिल्डमा डोमिनिक स्जुबोस्जाइले गोल गर्दै २-१ को अग्रता दिलाएका थिए । डियगो जोटाले खेल सकिँन एक मिनेट अघि गोल गर्दै सहज जित दिलाएका हुन् ।