काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन दुईले मंसिरको चिसो मौसमलाई एउटा उत्साहजनक चाढका रुपमा तताएको छ ।
सोमबारबाट प्रतियोगिता सुरु भएसँगै प्रत्येक दिन कीर्तिपुर ठूलै मेलाको माहोलसँग रमिरहेको छ । त्रिवी क्रिकेट मैदानमा फ्लड लाइट जडान गरिएपछि यसपालीबाट दिवारात्री खेल भइरहेका छन् । जसले प्रतियोगिताको रौनक अझै थपेको छ ।
आधुनिक रंगशालाको फ्लड लाइट र विश्वस्तरीय खेलाडीहरुको रोमाञ्चक प्रतिस्पर्धाको साक्षी बन्न क्रिकेटप्रेमीमात्र नभई आम मानिस पनि उत्साहित छन् । जसलाई रंगशालाको १० हजार सिट क्षमताले थेग्न सकिरहेको छैन । प्रत्येक खेलमा कीर्तिपुर आउन चाहेका ठूलो संख्याका समर्थकलाई आतिथ्य दिन नसक्नु आयोजकको सबभन्दा ठूलो टाउको दुखाई बनेको छ ।
रंगशाला पुुगेर एनपिएलको माहोलमा रम्न नसक्ने दर्शकले कसरी आफूलाई नेपाली खेलकुदकै सबभन्दा ठूलो यो मेलाको हिस्सा बनाउने त ?
त्यसका लागि टेलिभिजनको पर्दामा स्टार स्पोर्टस वा कान्तिपुरको च्यानलबाट एनपिएल हेर्ने एउटा विकल्प हो । जहाँतहीँ टेलिभिजन उपलब्ध नहुन सक्छ । त्यस्तो अवस्थामा मोबाइल वा अन्य ग्याजेटबाट डिशहोम गोमार्फत एनपिएलका सबै क्षणहरु हेर्न पाइन्छ ।
त्यसका लागि डिशहोम गो सब्स्क्राइब गर्नुपर्छ । सब्स्क्रिप्सनका लागि डिजिटल वालेट इसेवा र खल्तीको प्रयोग सहज हुन सक्छ । दर्शकहरुको सहजताका लागि डिशहोमले बुधबारबाट भुक्तानीको परम्परागत विकल्प (डिशहोम गो एपबाट मात्र सब्स्क्रिप्सन लिन मिल्ने)सँगै खल्ती र इसेवाबाट पनि सब्स्क्रिप्सन गर्न मिल्ने व्यवस्था गरेको जनाएको छ ।
‘प्रयोगकर्ताले मोबाइल वा अन्य ग्याजेटमा रहेको खल्ती वा इसेवाको एप खोलेर डिशहोम गोको आइकन ट्याप गरेपछि आफ्नो इमेल एड्रेस राखेर भुक्तानी गर्नुपर्छ । त्यसपछि इमेलमा आउने कुपन कोडलाई डिशहोम गोको मेन्युमा गएर ‘सब्स्क्राइब नाउ’ भित्रको कुपन कोड बक्समा राखेपछि सब्स्क्रिप्सन सक्रिय हुनेछ र एनपिएल हेर्न सकिनेछ,’ डिशहोमले भनेको छ ।
