काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) विरुद्ध ७ विकेटको जित निकाल्दै अफगानिस्तान आइसिसी ट्वान्टी-२० विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ ।
जितसँगै ३ खेलमा ६ अंक जोडेको अफगानिस्तान समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ । तीनै खेलमा पराजित पिएनजी अंकविहिन छ ।
अफगानिस्ताको यो जितले न्युजिल्यान्ड भने समूह चरणबाटै बाहिरियो । यस समूहबाट आयोजक वेस्ट इन्डिजले यसअघि नै सुपर ८ मा स्थान पक्का गरिसकेको थियो ।
ट्रिनिडाडस्थित ब्रेन लारा क्रिकेट एकेडेमी मैदानमा शुक्रबार पिएनजीले प्रस्तुत गरेको ९६ रनको लक्ष्य अफगानिस्तानले १५.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
अफगानिस्तानका लागि गुल्बदिन नइबले अविजित ४९, मोहम्मद नबीले अविजित १६, अज्मतुल्लाह ओमरजाइले १३ र रहमानुल्लाह गुर्बाजले ११ रन बनाए ।
पिएनजीका लागि एली नाओ, सिमो कामिया र नोर्मन भानुआले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पिएनजीले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ९५ रनको योगफल तयार पार्यो ।
पिएनजीका लागि किप्लिन डोरिगाले २७, एली नाओले १३ र टोनी उराले ११ रन बनाए ।
अफगानिस्तानका लागि फजलहक फारुकीले ३, नविन-उल-हकले २ र नुर अहमदले १ विकेट लिए ।