काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा स्कटल्यान्डसँग ३१ रनले पराजित भएसँगै घरेलु टोली जिम्बावेको विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ ।
जितसँगै स्कटल्यान्ड ४ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको उक्लिँदा जिम्बावे ५ खेलबाट ६ अंकका साथ तेस्रो स्थानमा झरेको छ । चौथौ स्थानको नेदरल्यान्ड्सको ४ खेलमा ४ अंक छ ।
बिहीबार नेदरल्यान्ड्स र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा विजयी भए स्कटल्यान्ड सोझै विश्वकपमा पुग्नेछ ।
यदि स्कटल्यान्ड पराजित भएमा नेटनरेटमा माथि रहने टोली विश्वकपमा पुग्नेछ । यस्तो अवस्थामा नेदरल्यान्ड्स र स्कटल्यान्ड मध्य एक टोली विश्वकपमा पुग्नेछन् ।
क्विन्स स्पोर्टस क्लबमा मंगलबार स्कटल्यान्डले प्रस्तुत गरेको २ सय ३५ रनको लक्ष्य पछ्याएको जिम्बावे ४१.१ ओभरमा २ सय ३ रनमा समेटियो ।
जिम्बावेका लागि रायन बर्लले ८४ बलमा ८ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ८३ रनको योगदान गरे । यसैगरी विस्ली मेधेभेरेले ४०, सिकन्दर राजाले ३४तथा इनोसेन्ट किया र सेन विलियम्सले समान १२ रन बनाए ।
स्कटल्यान्डका लाागि क्रिस सोलेले ३, ब्रेन्डन म्याकमुलन र माइकल लेस्कले समान दुई तथा सफ्यान सरिफ, मार्क वाट र क्रिस ग्रिभ्सले समान १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ३४ रनको योगफल तयार पारेको थियो । ।
स्कटल्यान्डका माइकल लिस्कले ४८, म्याथ्यु क्रसले ३८, जर्ज मुन्सेले ३१, ब्रेन्डन म्याकमुुलनले ३४, क्रिटोफर म्याकब्रिडले २८ र सफ्यान सरिफले अविजित २१ रन बनाए ।
पहिलो विकेटका लागि क्रस र म्याकब्रिडले ५६ रनको साझेदारी गरेका थिए ।
जिम्बनवेका सन विलिसम्सले ३, टेन्डाइ चतराले २ तथा रिचार्ड नगर्भाले १ विकेट लिए ।