महिला साफ च्याम्पियनसिप

प्रशिक्षक कुमार कटुवाल: आधा दर्जन गोलको त्यो झल्को

काठमाडौं । महिला साफ च्याम्पियनसिपको तेस्रो संस्करणको समूह चरणमा नेपालको प्रदर्शन उत्कृष्ट रह्यो । शतप्रतिशत जित र एक गोल पनि सामना नगरी फाइनल यात्रा तय गरेको नेपालले यसपालि फाइनलमा भारतलाई पराजित गर्ने ठूलो आस थियो । तर, फाइनलमा ६-० को अप्रत्याशित हार बेहोर्दै नेपाली टिम उपाधिबाट तेस्रो पटक वञ्चित हुनुप¥यो ।

‘त्यो हारकै कारण म करिब तीन महिना बिरामी परें,’ तत्कालीन गोलकिपर प्रशिक्षक कुमार कटुवाल सम्झन्छन्, ‘भारतलाई हराउने त्यतिबेला ठूलो लक्ष्य थियो, आस थियो । तर, सफल हुन सकेनौं ।’

पाकिस्तानको इस्लामाबादमा २०७१ कात्तिक २५ देखि मंसिर ५ सम्म भएको त्यो प्रतियोगिताको फाइनल नेपालका लागि बिर्सनलायक बन्यो । लगातार एउटै प्रतिद्वन्द्वी (भारत) र त्यसमा पनि ६-० गोलको फराकिलो नतिजामा पराजित हुनुपर्दाको पीडा अझै गहिरो भयो ।

अघिल्ला दुई संस्करणमा भारतलाई नेपालले १-० र ३-१ को नतिजा सुम्पिएको थियो । तर, फाइनलमा आधा दर्जन गोल खानु ‘डिजास्टर’ नै थियो ।

साफकै पछिल्ला दुई फाइनलमा भोगेको हारको बदला र सधैं बाधक बन्ने गरेको भारतलाई पराजित गर्नु नेपालको सबैभन्दा ठूलो लक्ष्य र अठोट थियो । इस्लामाबादमा सम्पन्न त्यो फाइनलमा नेपालसामु अवसर पनि थियो । तर, त्यो फाइनल अवसरभन्दा पनि दुर्भाग्यमा परिणत भयो ।

‘हामी फाइनलअघि गरेको वार्मअप देखेर हौसिएका थियौं । विपक्षीसमेत तर्सिएका थिए । भारत हामीभन्दा बलियो नै थियो । भारतलाई हामीले जित्न सक्ने भनेको बराबरी गरेर टाइब्रेकरमा हराउने हो भन्ने ठानेका थियौं । र, सम्भव भएसम्म १-० ले जित्ने लक्ष्य थियो । रक्षात्मक खेल्ने र काउन्टर अट्याकमा पाए गोल गर्ने योजना बनाएका थियौं,’ प्रशिक्षक कटुवाल सुनाउँछन्, ‘तर, हामीले सोचेभन्दा सबै उल्टो भयो । ६-० को फराकिलो अन्तरले हार्नुप¥यो ।’

त्यो हार सम्झिँदा अहिले पनि उनको मन झसङ्ग हुन्छ अनि मनमा चिसो पस्छ ।

उनी थप्छन्, ‘भारतीय साइडबाट बल नेपाली पोस्टमा आयो । पोलमा लागेर बल बिस्तारै गोललाइन पार गर्न लाग्दैथ्यो । बाहिरबाट गोलकिपरलाई ‘चन्द्रा’ भनेर कराएँ । बाहिरबाट अरूले पनि अफसाइड भनेर कराइरहेका थिए । तर रेफ्रीले सिठी बजाएको थिएन । बल बिस्तारै पोस्टमा पुग्यो । गोलकिपरले कुनै प्रतिक्रिया जनाउन सकेन ।  पहिलो हाफमै भारतले तीन गोल ग¥यो । दोस्रो हाफमा किपर नै परिवर्तन ग¥यौं, फेरि तीन गोल सामना गर्नुपर्यो । हामी भारतलाई ६-० ले नतिजा सुम्पिन बाध्य भयौं । खेल त ९० मिनेटमा सकियो तर त्यो हारको चोट पछिसम्म रहिरह्यो । सम्झिँदा अहिले पनि नमज्जा लाग्छ ।’

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले समूह चरणका खेलमा भुटानलाई ८-०, पाकिस्तानलाई २-० र श्रीलंकालाई ३-० को नतिजामा हराउँदै कुल १३ गोल गोल गरेको थियो । शतप्रतिशत जितसाथ सेमिफाइनल पुगेको नेपालले बंगलादेशलाई १-० ले पराजित गर्दै फाइनलमा भारतसँग भेट पक्का गरेको हो ।

छोटो समय अभ्यास गरेर नेपाली टिम पाकिस्तान पुगेको थियो । त्यो थोरै समयको अभ्यास पर्याप्त नभएको प्रशिक्षक कटवालको बुझाइ छ ।

‘तयारीका लागि १० दिनमात्रै समय थियो । त्यसमा पनि तीन दिन कागजी काममा पाकिस्तानी दूतावास धाउँदामै बित्यो । राम्रोसँग प्रशिक्षण गर्नका लागि एक हप्ताको समय बाँकी भयो,’ कटुवालले खेलाडीसँग त्यो क्षण सुनाए ।

तर, अवस्था जस्तो भए पनि फाइनल पुगिसकेपछि बाँकी एक खेल जसरी पनि जित्ने मनसाय बनिसकेको उनी बताउँछन् । अप्रत्याशित हारले आफूलाई ठूलो चोट पुगेको उनी सुनाउँछन् ।

‘त्यो हारको कारण पाकिस्तानदेखि केही नखाइन आएँ । कोहीसँग बोल्न पनि मन लागेन । पाकिस्तानबाट आएको तीन महिनासम्म बिरामी भएँ । त्यो समयमा त्यही खेलको मात्र झल्को आइरहन्थ्यो । सोच्थें, कसरी ६ गोल खायौं त । एकचोटि भयो भने भारतलाई टक्कर दिने टिम बनाउँछु भन्ने सोचेको थिएँ ।’

सन् २०१०-१७ सम्म राष्ट्रिय महिला टिमको सहायक प्रशिक्षक र प्रशिक्षकको जिम्मेवारी सम्हालेका कटुवाललाई नेपालले एकपटक भारतलाई हराएको हेर्ने ठूलो अभिलाषा छ । जुन भदौदेखि घरेलु भूमिमा आयोजना हुने लागेको छैटौं साफ च्याम्पियनसिपले पूरा गर्नेमा आशावादी देखिन्छन् ।

‘यो पटक घरेलु मैदानमै हुन लागेको खेल नेपालले जित्नैपर्छ । भारतलाई हराउनु नै पर्छ,’ उनले भने ।