खेलाडी सरुवा

विश्व फुटबलका १० ठूला स्वतन्त्र सरुवा

लन्डन । युरोपेली क्लब फुटबल दुई महिनाको विश्राममा छ । अघिल्लो सिजनको रस्साकस्सीबाट थकित खेलाडीलाई १० महिना लामो अर्को सिजन सुरु गर्नुपूर्व शारीरिक तथा मानसिक आरामका लागि निकै महत्त्वपूर्ण हुन्छ । तर नयाँ सिजनका लागि टिमको पूरा रणनीति बनाउन यो समय व्यवस्थापकहरू भने निकै व्यस्त रहन्छन् ।

अबौं डलरको कारोबार हुने सरुवा बजार खुलिसकेको छ । कतिपय खेलाडीहरू आफ्नो क्लबसँगको सम्झौता अवधि सकिएका कारण स्वतन्त्र सरुवाका लागि खुला भएका छन् । खुला भएका खेलाडी भित्र्याउँदा उसको पूर्वक्लबलाई सरुवा रकम तिर्नु नपर्ने भएकाले नयाँ क्लब र खेलाडी फाइदामा हुन्छन् । जसका कारण व्यावसायिक फुटबलमा सकेसम्म सम्झौता बाँकी रहँदै क्लबले खेलाडीलाई बेच्छन् वा नयाँ सम्झौता गर्ने प्रयास गर्छन् ।

त्यसका बावजुद क्रिस्टियन इरिक्सन, गारेथ बेल र पाउल पोग्बाजस्ता खेलाडी यसपालिको सरुवा बजारमा स्वतन्त्र भएका छन् । उनीहरूको सरुवाका लागि कुनै पनि क्लबले कुनै मूल्य राख्ने छैन । विश्व फुटबलमा स्वतन्त्र रूपमा सरुवाका लागि उपलब्ध भएका ठूला नामको सूची लामै छ । त्यसमध्ये चर्चित १० स्वतन्त्र सरुवाको सूचीः

१०. माइकल बालाक (चेल्सी)

बायर्न म्युनिखका लागि चार वर्ष खेल्ने क्रममा एक सय ५५ खेलमा ६२ गोल गरेका जर्मन मिडफिल्डर माइकल बालाक सन् २००६ मा इंग्लिस प्रिमियर लिगको टोली चेल्सी सरुवा भए ।

चेल्सीमा पनि बालाकको चार वर्षे कार्यकाल सफल रह्यो । स्टामफोर्ड ब्रिजको टोलीका लागि एक सय ६७ खेल खेल्ने क्रममा २५ गोल गरेका बालाकले चेल्सीबाट प्रिमियर लिग, तीन एफए कप, लिग कप र कम्युनिटी सिल्डसहित गरी कुल ६ वटा उपाधि जिते ।

चेल्सीमा चार वर्ष बिताएपछि उनी सन् २०१० मा आफ्नै पुरानो क्लब बायर लेभरकुसन फर्किए । बायर लेभरकुसन त्यही क्लब थियो, जहाँबाट बालाकले व्यावसायिक खेलाडीका रूपमा ‘डेब्यु’ गरेका थिए ।

९. जे जे ओकाचा (बोल्टन)

नाइजेरियन स्टार ओकाचा बललाई अपत्यारिलो पारामा खेलाउन र रचनात्मक मुभ बनाउनका लागि परिचित खेलाडी हुन् । करियरको सुरुआतमै उनले इन्ट्रयाक्ट फ्रयांकफर्ट र फेनेरबाचेबाट आफूलाई विश्वस्तरीय खेलाडीका रूपमा प्रमाणित गरिसकेका थिए ।

सन् १९९८ मा फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग एक करोड ४० लाख युरोको सम्झौता गर्दा उनी सबैभन्दा महँगा अफ्रिकी खेलाडी बनेका थिए । फ्रान्समा चार वर्ष बिताएपछि उनले बोल्टन रोजेर फुटबलका पण्डितहरूलाई पनि आश्चर्यमा पारेका थिए ।

प्रिमियर लिगको ‘डेब्यु’ सिजनमै सात गोल गरेर आक्रामक मिडफिल्डको पोजिसनबाट खेल्ने ओकाचाले बोल्टनलाई रेलिगेसनबाट जोगाएका थिए । वेस्ट ह्याममाथि हासिल गरेको महत्त्वपूर्ण जितमा ओकाचाले गरेको गोलको ठूलो चर्चा भएको थियो । उक्त गोल बोल्टनले पूरा सिजनमा गरेकोमध्ये सबैभन्दा उत्कृष्ट पनि घोषित भएको थियो ।

लंकासायरमा पनि उनले चार वर्ष बिताए । त्यसक्रममा बोल्टनबाट उनले लिग कपको फाइनल खेल्नुका साथै युइएफए कपको अन्तिम ३२ को पनि अनुभव बटुले ।

८. सोल क्याम्पवेल (आर्सनल)

चिरसहरी प्रतिद्वन्द्वी टोटनहमबाट आर्सनलमा भएको सोल क्याम्पवेलको सरुवालाई प्रिमियर लिगको इतिहासकै सर्वाधिक विवादास्पद सरुवाका रूपमा लिइन्छ ।

इंग्लिस सेन्टर ब्याक क्याम्पवेललाई आफूसँग राख्नका लागि टोटनहमले थुप्रै प्रयास गरेको थियो । टोलीले नयाँ सम्झौताका लागि प्रस्ताव गर्ने क्रममा क्याम्पवेलसामु थुप्रै आकर्षक प्याकेज दिएको थियो । क्लबले उनलाई सामाजिक सुरक्षाका विभिन्न सुविधाका साथै क्लबको सबैभन्दा महँगो खेलाडी बन्ने खालको पारिश्रमिकसमेत प्रस्ताव गरेको थियो । तर टोटनहमका सबै प्रस्ताव अस्विकार गर्दै क्याम्पवेलले २००१ मा छिमेकी आर्सनलको बाटो रोजेका थिए ।

आर्सनलबाट क्याम्पवेलले दुई पटक प्रिमियर लिग, तीन पटक एफए कप र एक पटक कम्युनिटी सिल्डको उपाधि जितेका थिए ।

७. राउल (साल्के)

राउल रियाल मड्रिडका मुटु थिए । उनले विश्वव्यापी ख्याति सान्टियागो बेर्नाबेउबाटै कमाएका थिए । रियालको इतिहासमै टोलीका लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान बनाएका राउल स्पेनिस महारथीको जर्सीमा निकै सफल पनि थिए । रियालबाट प्रत्येक खेलमा सनसनीपूर्ण प्रदर्शन गर्ने राउलले टोलीका लागि तीन सय २३ गोल गरेका थिए ।

तर २०१० मा रियालसँगको सम्झौता सकिइरहेका बेला साल्केले स्पेनिस स्ट्राइकरलाई भित्र्याउने प्रतिस्पर्धामा बाजी मार्यो । राउलले पनि टोलीलाई च्याम्पियन्स लिगको सेमिफाइनलसम्म पुर्याउने क्रममा मैदानभित्र उच्च प्रदर्शन गरे ।

३३ वर्षको उमेरमा जर्मन टोली साल्के पुगेका राउलले दुई वर्ष त्यहाँ बिताउने क्रममा ९८ खेलमा ४० गोल गरेर आफ्नो फर्म कायम रहेको प्रमाण दिएका थिए ।

६. स्टिभ म्याकमानामान (रियाल मड्रिड)

लिभरपुलमा एक दशकभन्दा लामो समय बिताएपछि म्याकमानामानले सन् १९९९ मा रियाल मड्रिडको बाटो रोजेका थिए । इंग्लिस विंगर म्याकमानामानले लामो समय बिताएको क्लबबाट अपेक्षाअनुसारको महत्व र पारिश्रमिक नपाएका कारण सरुवा रोजेका थिए । उनले लिभरपुलसँगको सम्झौता बाँकी रहँदै सम्झौता सकिएपछि लागू हुने गरी भन्दै रियालसँग सम्झौता गरेका थिए ।

रियालमा चार सिजन बिताएका म्याकमानामानको अवस्थामा एनफिल्ड छाडेर मड्रिड पुग्नेबित्तिकै परिवर्तन आएको थियो । सान्टियागो बेर्नाबेउमा पुग्नेबित्तिकै केही खेलपछि नै उनी समर्थकका सर्वाधिक प्रिय खेलाडीका रूपमा स्थापित भए ।

रियालबाट ६ वटा मुख्य उपाधि जित्ने क्रममा म्याकमानामानले दुई पटक युरोपेली क्लब फुटबलकै सबैभन्दा ठूलो प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनलाई रियाल सरुवाले विदेशी लिग खेल्नेमध्ये सबैभन्दा सफल इंग्लिस फुटबलरका रूपमा पनि परिचित गरायो ।

५. इस्टेबान काम्बियासो (इन्टर मिलान)

रियाल मड्रिडले सन् २००२ मा रक्षात्मक मिडफिल्डर इस्टेबान काम्बियासोलाई रिभर प्लेटबाट भित्र्यायो । तर अर्जेन्टिनी खेलाडीले स्पेनिस राजधानीको क्लबबाट दुई सिजनमात्र खेले । त्यसपछि उनी २००४ मा इटालियन महारथी इन्टर मिलानतिर लागे ।

काम्बियासोले सान सिएरोमा १० वर्ष बिताए । जहाँ उनले टोलीका लागि ४ सयभन्दा बढी खेलमा सहभागिता जनाए । सान सिएरोको बसाइ दक्षिण अमेरिकी खेलाडी काम्बियासोका लागि निकै भव्य र सफल रह्यो । उनले इन्टरबाट १५ वटा उपाधि जिते । जसमा पाँच पटक जितेका इटालियन सिरी ‘ए’ र २००९–१० को सिजनमा जितेको च्याम्पियन्स लिगको उपाधि पनि सामेल छ ।

४. आन्द्रिया पिर्लो (युभेन्ट्स)

आन्द्रिया पिर्लोलाई विश्व फुटबल इतिहासकै सर्वोत्कृष्ट मिड्फिल्डरमध्ये एकका रूपमा लिइन्छ । असाधारण भिजन र पास दिने क्षमताका कारण डिपमा बसेर खेल्ने प्लेमेकर पिर्लो इटालियन राष्ट्रिय टोलीका साथै एसी मिलान र युभेन्ट्सका महान खेलाडीको सूचीमा समेटिएका छन् ।

एसी मिलानमा एक दशक बिताउने क्रममा दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका पिर्लो २०११ मा युभेन्टस सरुवा भएका थिए । जसलाई युभेन्ट्सका गोलकिपर जियानलुइजी बुफोनले ‘शताब्दीकै सबैभन्दा ठूलो सरुवा’ भनेर बयान गरेका थिए ।

युभेन्ट्समा ‘डेब्यु’ जनाएकै सिजनमा उनले लिगको सर्वाधिक १३ एसिस्ट उपलब्ध गराएका थिए । त्यसक्रममा उनले इटालियन सिरी ‘ए’मा सर्वाधिक पाँच सयभन्दा बढी पास पूरा गरेका थिए ।

उनले युभेन्ट्समा पूरा चार सिजन बिताए । जहाँ टुरिनको टोलीका लागि एक सय ६४ खेल खेल्ने क्रममा पिर्लोले १९ गोल गर्नुका साथै ३८ एसिस्ट उपलब्ध गराएका थिए । टुरिन बसाइमा चार पटक खेलाडीका रूपमा लिग उपाधि जितेका पिर्लोलाई २०२० मा क्लबले प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

३. पाउल पोग्बा (युभेन्ट्स)

सन् २०१२ मा पाउल पोग्बा म्यानचेस्टर युनाइटेडबाट युभेन्ट्स जाँदा त्यसले सरुवा बजारको व्यापारमा एउटा सनसनीपूर्ण इतिहास लेखेको थियो । चार वर्षपछि इटालियन महारथीले तिनै पोग्बालाई पुरानै क्लब युनाइटेडमा बेच्दा २०१६ सम्मको कीर्तिमानी रकम ८ करोड ९३ लाख युरो प्राप्त गरेको थियो ।

युनाइटेड छोडेर युभेन्ट्स पुगेपछि टुरिनमा चार वर्ष बिताउने क्रममा फ्रान्सेली मिडफिल्डरले चार पटक लिगसहित कुल आठ उपाधि जिते ।

२. लुइस इनरिके (बार्सिलोना)

रियाल मड्रिडबाट बार्सिलोनामा लुइस इनरिकेको सरुवा स्पेनिस ला लिगाको इतिहासमै सर्वाधिक विवादास्पदमध्ये एक थियो । स्पेनिस राजधानीमा पाँच वर्ष बिताएपछि १९९६ मा इनरिकेले चिरप्रतिद्वन्द्वी बार्सिलोना रोजेका थिए ।

आक्रामक मिडफिल्डर इनरिकेले त्यसपछि रियालका समर्थकबाट निकै खराब व्यवहारको सामना गर्नुपर्यो । रियाल समर्थक इनरिके बार्सिलोना लागेकामा निकै रिसाएका थिए ।

बार्सिलोनामा इनरिकेले आठ वर्ष बिताउने क्रममा क्याटलनको टोलीका लागि तीन सय खेलमा एक सय ८ गोल गरेका थिए । त्यसपछि खेलाडीका रूपमा संन्यास लिएर प्रशिक्षकको करियर रोजेका इनरिकेले एएस रोमा, सेल्टा भिगो, बार्सिलोनाजस्ता क्लबको नेतृत्व लिइसकेका छन् । उनी हाल स्पेनिस राष्ट्रिय टिमको नेतृत्व गरिरहेका छन् ।

१. रोबर्ट लेवान्डोवस्की (बायर्न म्युनिख)

जर्मन फुटबलका दुई चिरप्रतिद्वन्द्वी बोरुसिया डर्टमन्ड र बायर्न म्युनिखबीच २०१४ मा रोबर्ट लेवान्डोवस्कीको स्वतन्त्र सरुवा भएको थियो । डर्टमन्डसँगको सम्झौता सकिएपछि उनले नयाँ सम्झौताको प्रस्ताव अस्विकार गर्दै च्याम्पियन बायर्नको बाटो रोजेका थिए ।

पोल्यान्डका स्ट्राइकर लेवान्डोवस्कीले बायर्नका लागि पहिलो सिजनमै २५ गोल गरेका थिए । त्यसपछि पनि उनले प्रत्येक सिजनमा टोलीका लागि कम्तीमा ४० का औसतले गोल गर्दै आएका छन् । बायर्नमा निरन्तर रूपमा ९ सिजनसम्म गरेको उच्चस्तरीय प्रदर्शनका कारण उनले आफूलाई विश्व फुटबल इतिहासकै सर्वकालीन महान स्ट्राइकरहरुको सूचीमा उभ्याइसकेका छन् ।

उनकै उच्च प्रदर्शनप्रेरित हुँदा बायर्नले पछिल्लो दशक जर्मन फुटबलमा राज गर्नेक्रममा १९ वटा उपाधि जितिसकेको छ । त्यसमा २०२० को च्याम्पियन्स लिग र लगातार आठ पटक जितेका जर्मन बुन्डेसलिगाका उपाधि सामेल छन् ।