काठमाडौं । इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा आइतबार चार्लोट एफसीसँग ३-० को फराकिलो हार बेहोरेको छ ।
जितसँगै ३० खेलमा ५३ अंक जोडेको चार्लोट इस्टर्न कन्फिरेन्सको तेस्रो स्थानमा छ । पराजित मियामी २६ खेलबाट ४६ अंकका साथ आठौं स्थानमा छ ।
बैङ्क अफ अमेरिका रंगशालामा घरेलु टोली चार्लोटलाई जित दिलाउन इडान तोक्लोमाटीले ह्याट्रिक गरे ।
खेलको ३२औं मिनेटमा कप्तान लियोनल मेसी पेनाल्टीमा चुक्दा मियामीले अग्रता लिने सुनौलो अवसर गुमाएको थियो ।
त्यसकाे दुई मिनेटपछि नै तोक्लोमाटीको गोलमार्फत चार्लोटले अग्रता लिएको थियो । दोस्रो हाफको सुरुआतमै तोक्लोमाटीले नै टोलीको अग्रता दोब्बर बनाए ।
टोमस एभिलेसले ७९औं मिनेटमा दोहोरो पहेंलो कार्ड बेहोर्दै मैदान छाडेपछि मियामी १० खेलाडीमा समेटिएको थियो । निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा तोक्लोमाटीले पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरे ।