काठमाडौं । एएफसी यु–२३ एसियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध मुख्य प्रशिक्षक नवीन न्यौपानेले स्ट्राइकर रोहन खड्गी, मिडफिल्डरद्धय अभिनाश स्याङ्ताङ र पुजन थापा र रक्षक विशाल नेपालीलाई पहिलो रोजाईमा मौका दिएका छन् ।
एसियन कपमा पुग्ने समीकरणबाट बाहिरिसकेको नेपालले समूह ‘के’अन्तर्गत आफ्नो अन्तिम खेल खेल्दैछ । रोहन, पुजन, अभिनाश र विशाल पछिल्ला दुई खेलमा बेन्चमा सीमित थिए । त्यस्तै गोलकिपिङको जिम्मेवारी लगातार दोस्रो खेलमा अमित टमाट्टालाई दिइएको छ ।
४–४–३ शैलीमा उत्रिन लागेको नेपालले फिलिपिन्सविरुद्ध सेन्टरब्याक निङ्मा घिसिङलाई आराम दिएको छ । विशालले सेन्टरब्याकमा शंकर थारुलाई साथ दिनेछन् । यी दुईको साथमा ‘फुल ब्याक्स’ विवेक गुरुङ र उप–कप्तान सुमित श्रेष्ठ हुनेछन् । मिडफिल्डमा पुजन र अभिनाससँगै सन्तोष खत्री छन् ।
वार्म अपका दौरान घाइते भएपछि मिडफिल्डर कृतिशरत्न छुन्जुले आजको खेल गुमाउने भएका छन् । त्यस्तै अर्का नियमित मिडफिल्डर दीपेश गुरुङलाई भने आराम दिइएको छ ।
अग्रपङ्क्तिमा रोहनलाई कप्तान आयुष घलान र निराजन धामीको साथ रहनेछ । खेल नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ ।