काठमाडौं । सन् १९९९, काठमाडौंमा भएको आठौं दक्षिण एसियाली महासंघीय खेलकुदको अन्तिम दिन । नेपाली फुटबल समर्थकले जति बिर्सन खोजे पनि बेला-बेलामा पीडा दिइरहने दिन ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको प्यारापिट घरेलु समर्थकले खचाखच भरिएको थियो । कारण, फुटबलको फाइनलमा नेपाल र बंगलादेश भिड्दै थिए । कप्तान दीपक अमात्यको नेतृत्वमा रहेको नेपाली युवा टोलीलाई बाक्लो समर्थकको फाइदा उठाउँदै घरेलु भूमिमा स्वर्ण जित्ने सुनौलो अवसर थियो । तर, अन्त्यमा खेल बंगलादेशले जित्यो १-० को नतिजामा ।
दशरथ रंगशालाको त्यो साँझ सम्झँदा मन खिन्न पार्नेहरू अझै पनि भेटिन्छन् । त्यसमध्ये एक खेलाडी हुन् उमेश प्रधान । प्रधान, नेपाली फुटबलले पाएको अहिलेसम्मकै उत्कृष्ट मिडफिल्डर हुन् ।
अवश्य पनि नेपाल हार्दा कसलाई पो मन नदुख्दो हो, अझ उनी त परे नेपाली फुटबलका सिपाही, राष्ट्रिय झण्डालाई छातीमा बोकेर हिँड्ने व्यक्ति । तर, उनलाई दुःखी बनाएको अर्कै कुराले हो ।
प्रधानले त्यतिबेला अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए, जतिबेला उनी करिअरकै उच्च लयमा थिए । आर्किटेक्ट मिडफिल्डर प्रधान मात्र ३० वर्षका थिए, जतिबेला उनी अर्ली रिटायरमेन्टको सिकार बनेका थिए । कुरा १९९७ को हो, जुन वर्ष उनले फुटबलको नियामक निकाय एन्फाबाट ‘बेस्ट प्लेयर अफ दी इयर’को अवार्ड समेत पाएका थिए, त्यही वर्ष उनलाई बढी उमेर भएकै कारण खेल्न वञ्चित गरिएको थियो ।
‘म करिअरकै राम्रो लयमा थिएँ । अझै २-३ वर्ष त्यही स्तरमा खेल्न सक्थें । तर, एन्फाले आउने दिनमा मेरो अनुभव राष्ट्रिय टोलीका लागि फाइदाजनक हुन्छ भनेर सोच्दै सोचेन । मैले पनि नयाँ खेलाडीहरूलाई मौका दिनुपर्छ भनेर एन्फाको निर्णयलाई नचाहँदा-नचाहँदै सम्मान गरें । १९९९ को त्यो फाइनलमा यदि एकदुई जना अनुभवी खेलाडी भएको भए हामीले बंगलादेशलाई हराउँथ्यौं जस्तो अहिले पनि लाग्छ,’ अमेरिका बसोवास गर्दै आएका प्रधानले केही समयअघि मात्र करिअरकै दुःखद क्षण खेलाडी डटकमसँग साटेका थिए ।
‘अर्ली रिटायरमेन्ट’लाई नेपाली फुटबलको नमेटिने प्रवृत्ति नै भन्दा फरक पर्दैन । ३० वर्ष कट्नुपर्छ, मैदानभित्रको लडाइँ त छँदै छ, मैदान बाहिर झन ठूलो अत्यासलाग्दो अवस्था सामना गर्नुपर्छ । यसले अप्रत्यक्ष रूपमा खेलाडीको मनोबलमा असर पारिरहेको हुन्छ । यस्तै अवस्था नेपाली फुटबलमा मिहिनेती खेलाडीका रूपमा परिचित भरत खवासमा पनि आइपुगेको छ । ३३वर्षीय भरतको खेलप्रतिको समर्पण र बाहिरी कुराहरू एक आपसमा कुस्ती खेलिरहेका छन् । बाहिरी कुराहरूले भरतलाई घच्घच्याइरहेको छ । तर, भरतले आफ्नो मनोबल भने घट्न दिएका छैनन् ।
विगत र अहिले एउटा कुराको भने फरक छ । जसरी २७ वर्षअघि प्रधानलाई टोलीबाट हटाइएको थियो, एन्फा अहिले भरत जस्तो असाधारण खेलाडीलाई बेवास्ता गर्ने स्थितिमा छैन । कारण ? भनिरहनुपर्छ जस्तो लाग्दैन ।
२८ जुलाई २०११ । फेरि उही खचाखच भरिएको दशरथ रंगशाला । यसपालि अवसर थियो, फिफा विश्वकप २०१४ एसियाली छनोटको दोस्रो चरण । हिलाम्य मैदानमा विपक्षी थियो बलियो जोर्डन । पाँच दिनअघि मात्र पहिलो लेगमा ९-० ले पराजित नेपाल घरेलु भूमिमा दिनु न लिनुको स्थितिमा थियो । छाना नभएको प्यारापिट अनि भारी वर्षामा भिजिएका समर्थक । पहिलो हाफमा जोर्डनलाई गोल गर्न नदिएको नेपालले दोस्रो हाफको आठौं मिनेटमा गोल खायो ।
एक गोलले पछि परेको अवस्थामा पनि नेपाली समर्थक टोलीको हौसला बढाइरहेका थिए । यसबीच रक्षक सन्दीप राईको क्विक सेटपिस पासमा फरवार्ड सन्तोष साहुखलले विपक्षी रक्षकलाई बिट गर्दै पेनाल्टी बक्समा रहेका सुजल श्रेष्ठलाई कटब्याक गरे । तर, बल सुजलसम्म पुग्न नपाउँदै दौडिँदै आएका भरतले लेफ्ट फुटेड प्रहार गरिहाले । र, बलले जाली चुम्यो । अन्त्यमा नेपाल एसियाली पावरहाउसमध्ये एक जोर्डनलाई १–१ को बराबरीमा रोक्न सफल भयो ।
भरतको गोलमा नेपाली समर्थक आफ्नो सिटबाट उफ्रेको यो पहिलो पटक भने थिएन । भरत त्यस्ता खेलाडी हुन्, जसले डेब्यु अन्तर्राष्ट्रिय खेलमै गोल गरेका थिए । सन् २००८, पोखरामा पाकिस्तानविरुद्धको दुई मैत्रीपूर्ण खेलमा भरतले डेब्युको अवसर पाएका थिए । दोस्रो खेलमा त्यतिबेलाका स्टार खेलाडी प्रदीप महर्जनलाई ७५औं मिनेटमा प्रतिस्थापन गर्दै भरतले पहिलो क्याप जितेका थिए ।
एक गोलले पछि परेको अवस्थामा भरतले मैदान छिरेको दुई मिनेटमै हेडिङ गोल गर्दै नेपाललाई बराबरीमा ल्याएका थिए । पछि पोखराकै स्थानीय अनिल गुरुङले निर्धारित समय सकिन ५ मिनेट बाँकी छँदा निर्णायक गोल गरे र खेल नेपालले २-१ ले जितेको थियो । पहिलो खेलमा भने नेपाल २-१ ले पराजित भएको थियो ।
अनि २०१३ मा काठमाडौंमै भएको साफ च्याम्पियनसिपको पहिलो खेल कस्ले पो बिर्सेको होला र, बंगलादेशविरुद्ध २-० को जितमा भरतको त्यो गोल र फ्रन्टरोल सेलिब्रेसन ।
नेपाली फुटबलमा उनलाई भरत खवास बनाएको यिनै क्षणहरूले त हो । भरत, पाएको अवसरमा गोल हानिहाल्ने खेलाडी हुन् । उनले करिअरमा धेरै उतारचढाव भोगे । पटक/पटक स्वस्थ्यमा समस्या आइरहने, कहिले हात भाँचिन्ने त कहिले खुट्टा फ्याक्चर हुने जस्ता समस्याले उनलाई सधैं सताइरह्यो । यी कुरा बावजुद यो १६ वर्षमा उनले राष्ट्रका लागि ६६ खेल खेल्दा १० गोल गरेका छन् । यसबीच उनले ८ खेलमा कप्तानी जिम्मेवारी पनि निभाए ।
पछिल्लो समय पनि भरत ह्याम्स्ट्रिङका कारण दुई वर्ष राष्ट्रिय जर्सीमा देखिएनन् । २०२३ मार्चमा लाओस र भुटानविरुद्धको थ्री नेसन्स कपमा टोलीमा समावेश त थिए तर समर्थकले उनको खेल हेर्न पाएनन् ।
भर्खरै सम्पन्न २०२६ फिफा विश्वकप एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो लेगमा बहराइनविरुद्ध ८८औं मिनेटमा मैदान प्रवेश गर्दै भरतले राष्ट्रिय टोलीमा पुनरागमन गरे । बहराइनविरुद्ध नै दोस्रो लेगमा त उनले पूरा ९० मिनेट मैदानमा बिताए । त्यसपछि समूहको अन्तिम दुई खेलमा युएई र यमनविरुद्ध पनि उनले सुरुआती रोजाइमै खेले ।
‘अहिले मेरो स्वास्थ्य एकदमै राम्रो छ । इन्ज्युरी फ्री छु । प्रशिक्षकले मौका पनि दिनुभयो, आफ्नो खेल देखाउने । राष्ट्रिय टोलीबाट १३ वर्ष खेलिसकेको थिएँ । डेढ वर्षअघि पनि प्रशिक्षकले बोलाउनुभएकै हो । तर, लिग खेल्दा फेरि घाइते भएँ,’ भरत भन्छन्, ‘मिहिनेत त गरिरहेको थिएँ । त्यसैले पुनरागमन सजिलो भयो ।’
वर्तमान परिवेशमा भरतको भूमिका फेरिएको छ । व्यवहारिक रूपमा भन्दा अहिले टोलीमा उनको दोहोरो भूमिका छ । पहिलो, उनी अहिले मिडफिल्डमा खेल्छन्, त्यो देखिएकै कुरा भइहाल्यो । पछिल्ला चार खेलमा मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले भरतलाई होल्डिङ मिडफिल्डमा प्रयोग गरेका छन् । दोस्रो, उनी अहिले नयाँ भाइहरूको अभिभावक भएका छन् ।
राष्ट्रिय टोलीमा अहिले चार-पाँच जनामात्र सिनियर खेलाडी बाँकी छन् । एक त भरत भइहाले, अरू हुन् कप्तान किरणकुमार लिम्बू, रोहित चन्द, अनन्त तामाङ र अञ्जन विष्ट । अन्य सबै नयाँ खेलाडी नै हुन् । उज्ज्वल भविष्यको खोजीमा अनुभवी खेलाडी विदेश पलायन हुँदा राष्ट्रिय टोलीमा यस्तो बज्रपात आइपरेको हो । टोलीमा शीर्ष डिभिजन नखेलेका खेलाडीहरू पनि छन् । अन्तर्राष्ट्रिय अनुभव नभएकाहरू पनि । त्यसैले भरतको जिम्मेवारी मैदानभित्र र बाहिर उत्तिकै बढेको हो ।
‘मैदानमा गल्ती गरेको खण्डमा मैले त्यही बखत सम्झाउने गरेको छु । ल भाइ ! केही छैन अर्कोचोटि राम्रो गर भनेर भन्छु । मैदान बाहिर पनि खाना खाने बेला, बन्द प्रशिक्षणका बेला यसरी खेल्नुपर्छ, यसरी मिहिनेत गर्नुपर्छ भनेर मोटिभेट गरिरहेको हुन्छु,’ भरत आफ्नो जिम्मेवारीबारे बताउँछन्, ‘भाइहरू पनि एकदमै सहयोगी छन् । हामी सिनियरहरूले भनेका सबै कुरा मान्छन् । हामी पनि त्यहीअनुसार माया गर्छौं । यसबाहेक उनीहरूका राम्रा विशेषतालाई हेरेर हामी सिक्छौं पनि ।’
डेढ दशकअघि किरण, रोहित र भरत राष्ट्रिय टोलीमा खुला चराजस्तै थिए । मैदानभित्र आफ्नो कौशलता देखाउनुबाहेक काँधमा अरू जिम्मेवारी हुँदैन थियो । अहिले अवस्था फेरिएको भरत आफैंलाई आभाष छ । ‘करिअरका सुरुआती वर्षहरूमा हामी निकै कम उमेरका थियौं । सिनियर दाइहरू धेरै हुनुहुन्थ्यो । मैदान बाहिर हामीलाई केही मतलब नै हुन्न थियो । अहिले सिनियर खेलाडी भइसकेपछि किरण, रोहित र मेरो संवाद पहिलेजस्तो छैन । अहिले त हामी जुनियर खेलाडीलाई कसरी सहयोग गर्ने, कसरी टोली बलियो बनाउने कुराहरू गर्छौं,’ भरतको आँखामा गर्वको भाव झल्किन्छ, ‘पहिला जुनियर हुँदा कस्तो थियौं, सिनियर हुँदा कस्तो हुँदोरहेछ भन्ने महसुस भयो ।’
भरतले यस्तो बेला नेपाली फुटबलमा कमब्याक गरेका छन् कि जतिबेला नेपाली फुटबललाई नैतिक उर्जा चाहिएको छ । उनको यो कमब्याक कुनै पनि खेलाडीका लागि उदाहरण बन्न सक्छ । आफ्नो क्लब, विभागीय टोली त्रिभुवन आर्मीबाट एक समय इन्जुरीकै कारण हटाइएका भरतले फेरि एकपटक राष्ट्रिय टोलीमा स्थान बनाउनुलाई एकहिसाबले ‘फेयरी टेल’का रूपमा लिन सकिन्छ । यो फेयरी टेलमा प्रोटागोनिस्ट उनी नै हुन् । त्यस्तो प्रोटागोनिस्ट जसले भूकम्पबाट ढलेको फुटबल घरलाई पुनर्निर्माण गर्दै छ । अनि उसको उर्जा भनेको आफू स्वयं हो ।
‘भरतमा आत्मविश्वास छ, अझै केही गर्न सक्छु भन्ने । भरत हुँदा टोलीले मोटिभेसन पाउँछ । आफूले चाहेको कुरा पाउन मिहिनेत गरिरह्यौं भने त्यो लक्ष्य अवश्य पनि पूरा हुन्छ भन्ने कुरा भरतको कमब्याकले देखाएको छ,’ फुटबल विश्लेषक तथा भरतका एन्फा डेजका अभिभावक सञ्जिव मिश्र भन्छन्, ‘मिहिनेत नभएको भए भरत यो ठाउँमा पुग्दैनथ्यो । उसको यो कमब्याकमा मिहिनेतको ठूलो भूमिका छ ।’
विश्व फुटबलमा युरोपियन च्याम्पियनसिप र कोपा अमेरिका जस्ता दुई ठूला अन्तर्राष्ट्रिय प्रतियोगिता चलिरहँदा ३९ वर्षे क्रिस्टियानो रोनाल्डो, ४१ वर्षे पेपे र ३७ वर्षे लियोनल मेसीजस्ता पाका खेलाडीले अझै आफ्नो उपस्थिति प्रस्तुत गरिरहेका छन् । त्यति टाढा पनि किन जानु, छिमेकी मूल भारतका पूर्व कप्तान सुनिल क्षेत्रीलाई नै हेरौं न । ३७ वर्षे सुनिलले यही महिना मात्र विश्वकप छनोटमा कुवेतविरुद्ध अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो अन्तिम खेल खेले ।
भरत पनि यी खेलाडीहरू जस्तै एक उदाहरण बन्न सक्छन् । बाहिरी कुरा र एन्फाको राजनीति हाबी नहुने हो भने भरतले पनि नेपाली फुटबलमा लामो समयसम्म योगदान दिन सक्छन् । उनका समकालीन साथी, वर्तमान कप्तान किरणले भर्खरै १०० क्यापको दुर्लभ कीर्तिमान बनाएका छन् । भरतसँग पनि एउटा छुट्टै बेन्चमार्क सेट गर्ने अवसर छ ।
यो विषयमा भरत हाँस्दै भन्छन, ‘स्वस्थ रहुन्जेल खेल्ने हो । आर्मीले पनि साथ दिइरहेको छ । फुटबल खेल्न रमाइलो लाग्छ । ठ्याक्कै त्यति वर्ष खेल्छु भनेर सोचेको छैन । खेलाडीको जीवनले कहिले कस्तो मोड लिन्छ, थाहा नै हुन्न । जेहोस् सकेसम्म आफूलाई फिट राखेर नयाँ भाइहरूसँग प्रतिस्पर्धा गरिरहेर राष्ट्रका लागि खेलिरहन मन छ ।’