युरोपियन च्याम्पियनसिप

युरोपियन च्याम्पियनसिपः यस्ता छन् छनोट २१ राष्ट्र, अझै तीन बाँकी

काठमाडौं । जर्मनीले सन् २०२४ को युरोपियन च्याम्पियनसिप फुटबलको आयोजना गर्दै छ । प्रतियोगितामा २४ टोलीले प्रतिस्पर्धा गर्नेछ । जर्मनीले आयोजकका रूपमा सिधै युरोपियन च्यापिम्पयनसिप खेल्ने हुँदा २० टोलीले छनोटबाट प्रतियोगितामा स्थान पक्का गरिसकेका छन् । बाँकी तीन टोलीको टुंगो भने प्लेअफ खेलबाट लाग्ने छ ।

गत संस्करणमा सहभागिता जनाएका वेल्स र फिनल्यान्डले यसपालि प्लेअफ खेल्नुपर्ने छ । यस्तै अल्वानिया र स्लोभेनियाले युरोपियन च्याम्पियनसिपमा पुनरागमन गरेका छन् ।

युरोपियन च्याम्पियनसिपमा छनोट टोली

समूह ‘ए’ 
छनोटको समूह ‘ए’ बाट स्पेन र स्कटल्यान्डले युरोपियन च्याम्पियनसिपमा स्थान पक्का गरे । स्पेन स्पेनले ८ खेल खेल्दा ७ जित र एक हार नतिजासहित २१ अंकसाथ शीर्षस्थानमा रह्यो ।  

दोस्रो स्थानको स्कटल्यान्डले ८ खेलमा ५ जित, २ बराबरी र १ हारको नतिजासहित १७ अंक जोड्यो । यो समूहको तेस्रो स्थानमा रहेको नर्वेले प्लेअफ खेल्नेछ ।

समूह ‘बी’
समूह ‘बी’ बाट फ्रान्सले विजेता र नेदरल्यान्ड्सले उपविजेताका रूपमा युरोपियन च्याम्पियनसिपका लागि स्थान पक्का गरे । 

फ्रान्सले ८ खेल खेल्दा ७ जित र १ बराबरी नतिजासहित २२ अंक जोड्यो । नेदरल्यान्ड्सको समान खेलबाट ६ जित र २ हारको नतिजासहित १८ अंक रह्यो । समूहको तेस्रो स्थानको ग्रिसले प्लेअफ खेल्नेछ ।

समूह ‘सी’
समूह ‘सी’ बाट साबिक उपविजेता इङ्ल्यान्ड र विजेता इटाली युरोपियन च्याम्पियनसिपमा छनोट भएको छ । समूह विजेता बनेको इङ्ल्यान्डले ८ खेलमा ६ जित र २ बराबरी नतिजासहित २० अंक जोड्यो । 

उपविजेता बनेको इटाली भने भाग्यमानी साबित भयो । ८ खेलमा ४ जित, २ बराबरी र २ हारको नतिजा निकालेको इटालीले १४ अंक जोड्यो । 

तेस्रो स्थानको युक्रेनसँग समान अंक रहे पनि ‘हेड टु हेड’ मा अगाडि रहँदा इटालीले सिधै युरोपियन च्याम्पियनसिपमा स्थान पक्का गरेको हो । तेस्रो स्थानको युक्रेनले भने प्लेअफ खेल्नुपर्ने भएको छ ।

समूह ‘डी’
समूह ‘डी’ बाट टर्की र क्रोएसियाले प्रतियोगिताका लागि स्थान सुरक्षित गरे ।  शीर्षस्थानको टर्कीले ८ खेलमा ५ जित, २ बराबरी र १ हारको नतिजा निकाल्दै १७ अंक जोड्यो । 

समान खेलबाट ५ जित, १ बराबरी र २ हार नतिजासहित १६ अंक जोडेको क्रोएसिया दोस्रो स्थानमा रह्यो । तेस्रो स्थान हासिल गरेको वेल्सले प्लेअफमा आफ्नो चुनौती पेस गर्नेछ ।

समूह ‘इ’

यो समूहबाट अल्वानियाले विजेता र चेक गणतन्त्रले उपविजेताका हैसियतमा युरोका लागि स्थान सुरक्षित गरेको थियो । सन् २०१६ पछि युरोपियन च्याम्पियनसिप खेल्न लागेको अल्वानियाले ८ खेलमा ४ जित, ३ बराबरी र १ हार नतिजासहित १५ अंक जोड्यो ।

समान अंक भए पनि ‘हेड टु हेड’ मा पछि पर्दा चेक गणतन्त्र दोस्रो स्थानमा रह्यो ।  तेस्रो स्थानको पोल्यान्डले भने युरोपियन च्याम्पियनसिपमा स्थान बनाउन प्लेअफको सहारा लिनुपर्ने भएको छ ।

समूह ‘एफ’
यो समूहबाट बेल्जियम र अस्ट्रियाले प्रतियोगितामा स्थान सुरक्षित गरेको थियो । शीर्षस्थानको बेल्जियमले ८ खेल खेल्दा ६ जित र २ बराबरी नतिजासहित २० अंक जोड्यो । 
समान खेलमा ६ जित एक बराबरी र एक हारको नतिजा निकालेको अस्ट्रिया १९ अंकसाथ दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको स्विडेनले प्लेअफ खेल्नुपर्नेछ ।

समूह ‘जी’
समूह ‘जी’ बाट हंगेरी र सर्बिया प्रतियोगितामा स्थान बनाउन सफल रहे । शीर्ष स्थानको हंगेरीले ८ खेलमा ५ जित र ३ बराबरीसहित १८ अंक जोड्यो । 

समान खेलमा ४ जित, २ बराबरी र २ हारको नतिजासहित १४ अंक जोडेको सर्बिया दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको मोन्टनेग्रोले प्लेअफमा आफ्नो चुनौती प्रस्तुत गर्नेछ ।

समूह ‘एच’
यो समूहबाट डेनमार्कले विजेता र स्लोभेनियाले उपविजेताका रूपमा युरोपियन च्याम्पियनसिपमा स्थान सुरक्षित गरे ।  डेनमार्कले १० खेलमा ७ जित, १ बराबरी र २ हारको नतिजासहित २२ अंक जोड्यो । 

समान अंक भए पनि स्लोभेनिया ‘हेड टु हेड’ मा पछाडि पर्दा दोस्रो स्थानमा रह्यो । स्लोभेनियाले २४ वर्षपछि युरोपियन च्याम्पियनसिप खेल्न लागेको हो । स्लोभेनियाले पछिल्लो पटक सन् २००० मा यो प्रतियोगितामा खेलेको थियो । 

यो समूहबाट तेस्रो स्थानको फिनल्यान्डले प्लेअफ खेल्नेछ ।

समूह ‘आइ’
यो समूहबाट रोमानिया र स्विट्जरल्यान्डले प्रतियोगितामा स्थान सुरक्षित गरे । समूहमा शीर्षस्थानको रोमानियाले १० खेलमा ६ जित र ४ बराबरी नतिजासहित २२ अंक जोड्यो । 

स्विट्जरल्यान्ड समान खेलमा ४ जित, ५ बराबरी र १ हारको नतिजा निकाल्दै १७ अंकसाथ दोस्रो स्थानमा रह्यो । तेस्रो स्थानको इजरायलले प्लेअफ खेल्नेछ । 

समूह ‘जे’
यो समूहबाट पोर्चुगलले विजेता र स्लोभाकियाले उपविजेताका रूपमा युरोपियन च्याम्पियनसिप खेल्ने पक्का गरेको थियो । छनोटमा शतप्रतिशत जित निकाल्ने एक्लो टोली पोर्चुगलले १० खेलमा ३० अंक जोड्यो । 

स्लोभाकियाले १० खेलमा ७ जित, १ बराबरी र २ हारसहित २२ अंक जोडेको थियो । तेस्रो स्थानको लक्जेम्बर्गले प्लेअफमा आफ्नो चुनौती पेस गर्नेछ । 


 शनिबारका अन्य स्टोरीः 
भारत विश्व क्रिकेटको नयाँ चोकर हो ?
एनएसएलले ‘मिस’ गर्ने खेलाडीहरू
एनएसएलको केन्द्रबिन्दुमा विदेशी खेलाडी
नेपाल सुपर लिगः ओलामाउको गोलदेखि गोलसम्म पहिलो संस्करण