काठमाडौं । कुनै पनि खेलको केन्द्रमा खेलाडी हुन्छ । प्रशिक्षक, प्रशिक्षण टिम, निर्णायक, स्वास्थ्यकर्मी, व्यवस्थापन र प्रायोजकहरूले पहिलो घेरामा रहेर खेलाडीलाई साथ दिन्छन् । त्योभन्दा बाहिर एउटा ठूलो घेरा हुन्छ, जसले पूरा खेलकुदलाई उर्जा दिन्छ । संरक्षण प्रदान गर्छ । रोमाञ्चक बनाउँछ । खेल हुनु र खेल्नु-खेलाउनुको महत्व स्थापित गर्छ । त्यो घेरा भनेको दर्शकको हो । यसकारण खेलकुदमा दर्शकको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुने गर्छ ।
सामान्यतया परम्परागत खेलकुदको यो मान्यता कहिलेकाहीँ अक्षरशः लागू भएको देखिन्न । हो, फ्रेन्चाइज खेलकुदमा सबैभन्दा महत्त्वपूर्ण र निर्णायक भूमिकामा दर्शक देखिँदैनन् । खेलाडी, प्रशिक्षक र अन्य प्राविधिकको चयन पनि परम्परागत सोचभन्दा फरक तरिकाले गरिन्छ । अर्थात फ्रेन्चाइज खेलकुदमा मालिक सबैभन्दा माथि हुन्छन । फ्रेन्चाइज खेलकुद भनेकै मालिक प्रधान हुने विधा हो । आधुनिक खेलकुदमा भनिने गरेजस्तो यो व्यवसायीकरणको उत्कर्ष हो । जहाँ खेलभावना सँगै नाफा र घाटालाई केन्द्रमा राखेर योजना तर्जुमा गरिन्छ । टिम तयार गरिन्छ । समर्थक लोभ्याउने रणनीतिहरू बनाइन्छ ।
नेपाली खेलकुद अहिले यस्तै एउटा मालिक प्रधान प्रतियोगिताको माहोलमा रमिरहेको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आज शनिबार कीर्तिपुरको त्रिवि मैदानमा हुने नेपाल प्रिमियर लिग (एनपिएल) ले क्रिकेट र खेलकुदमात्र नभई समग्र देशको ध्यान आफूतिर केन्द्रित गरिरहेको छ ।
क्यानले स्टार स्पोर्टसबाट १९० देशमा प्रत्यक्ष प्रसारण हुनेगरी सम्झौता गरेर पूरा विश्वको ध्यान नेपाली क्रिकेटतिर तान्ने काम गर्यो ।
नेपालमा फ्रेन्चाइज क्रिकेट हुन लागेको यसपालि पहिलो पटक होइन । क्यानले नै दुई वर्षअघि नेपाल टी-२० का नाममा विवादास्पद प्रतियोगिता गरेको थियो । त्यसअघि पनि डिपिएल, पिपिएल र इपिएलजस्ता आकर्षक प्रतियोगिता भएकै थिए । तर यसपालि क्यानले गर्न लागेको एनपिएलको माहोल फरक छ । यसले नेपाली खेलकुदसँगै समाजमा सञ्चार गरेको उर्जा विशेष छ ।
अघिल्लो पटक क्यान आफैंले आयोजना गरे पनि नेपाल टी–२० ले यत्तिको उर्जा सिर्जना गर्न सकेको थिएन । बरू विवादास्पद रूपमा प्रतियोगिता नै विदेशी कम्पनीलाई बेचेर बेटिङ, फिक्सिङ र अन्य अवैधानिक क्रियाकलापलाई माहोल बनाएको भनेर प्रतियोगिता विवादित भयो ।
यसपालि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का क्यानको सचिवमा आएसँगै नेपाली क्रिकेटको मुहार फेरिन थाल्यो । क्यानमाथिको विश्वास बढ्न थाल्यो । फलस्वरूप प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान स्वयं फ्रेन्चाइज मालिकको रूपमा नेपाली क्रिकेटमा योगदान गर्न अघि सरेका छन । जसले प्रतियोगिताको तत्कालीन भव्यतासँगै दीर्घकालीन भविष्यसमेत सुनिश्चित रहेको सन्देश दियो ।
नेपाली राष्ट्रिय टिमले यसै वर्ष दोस्रो पटक ट्वान्टी-२० विश्वकपमा सहभागिता जनाउँदै सनसनीपूर्ण प्रदर्शन गरेपछि नेपाली क्रिकेटको ब्रान्डिङ त्यसै उचालिएको थियो । क्रिकेट प्रशासनमा पारस आगमनको उत्साह अर्कै थियो । त्यसमाथि देशका प्रतिष्ठित व्यवसायीहरूको साथ सँगै एनपिएल हुन लागेपछि नेपाली क्रिकेटको उचाइ अझै माथि पुग्यो । जसलाई क्यानले स्टार स्पोर्टसबाट १९० देशमा प्रत्यक्ष प्रसारण हुनेगरी सम्झौता गरेर पूरा विश्वको ध्यान नेपाली क्रिकेटतिर तान्ने काम गर्यो ।
विश्वकै अग्रणी प्रसारण कम्पनी स्टार स्पोर्टसलाई आफूसँग जोड्न सफल एनपिएलमा आठ फ्रेन्चाइज टिमबाट मात्र १ अर्बको हाराहारीमा लगानी हुने अनुमान छ । यस अर्थमा पनि नेपाली क्रिकेटको मुहार फेर्ने अपेक्षा गरिएको एनपिएल अभियानको सबैभन्दा महत्त्वपूर्ण सरोकारवाला भनेको फ्रेन्चाइज मालिक हुन् ।
आखिर को हुन् त सय करोडको हाराहारीमा खर्च गरेर नेपाली क्रिकेटमा योगदान गर्न अघि सर्ने फ्रेन्चाइज मालिकहरु ?
खेलाडी डटकमले आसन्न एनपिएलका आठ फ्रेन्चाइज टिम खरिद गर्ने मालिकहरुको संक्षिप्त परिचय दिने प्रयास गरेको छ :
विराटनगर किंग्स :
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वखेलाडी पारस लुनियाको स्वामित्वमा रहेको एमएडी ड्रिम्स स्पोर्टसले एनपिएलमा विराटनगर किंग्सको स्वामित्व खरिद गरेको छ ।
विराटनगरका स्थानीय बासिन्दा लुनियाले फ्रेन्चाइज खरिदका लागि नेपाल क्रिकेट संघलाई १ करोड ५१ लाख रुपैयाँ बुझाएका थिए । एनपिएलको पहिलो संस्करणमा फ्रेन्चाइज फीसँगै टोलीको कुल बजेट १० करोडभन्दा माथि हुने अनुमान छ ।
राष्ट्रिय टोलीका पूर्वअलराउन्डर लुनिया चेम्बर अफ कर्मस मोरङका बोर्ड सदस्य हुन् । युवा व्यवसायी लुनिया महालक्ष्मी वायर एन्ड केबल्सका मालिक हुन् ।
जनकपुर बोल्ट्स :
जनकपुर बोल्ट्सको स्वामित्व ड्रिम्स स्पोर्टसको नाममा छ । एनपिएलमा फ्रेन्चाइजकोतर्फबाट टिमको नेतृत्व अमित श्रेष्ठले गर्नेछन् । उनीसँगै अमेरिकामा व्यवसाय गर्ने मालिकहरूको संयुक्त स्वामित्वमा बोल्ट्स नामको अन्तर्राष्ट्रिय फ्रेन्चाइज छ ।
जारी एनपिएलमा क्यानले दुई वर्षअघि गरेको नेपाल टी-२० लिगबाट निरन्तर रहेका दुई मालिकमध्ये ड्रिम्स स्पोर्टस एक हो । क्यानले एक संस्करण गरेर बन्द गरेको नेपाल टी-२० को विजेता लुम्बिनी अल स्टार्सको स्वामित्व दुई वर्षअघि यही फ्रेन्चाइजसँग थियो । विवादित नेपाल टी-२० बाट एनपिएलमा पनि टिम लिने अर्को टोली पोखरा एभेन्जर्स हो । पोखराले पुरानै फ्रेन्चाइज पाए पनि ड्रिम्स स्पोर्टसले भने टिम जनकपुर लिनुपर्यो ।
अन्तर्राष्ट्रिय फ्रेन्चाइज बोल्ट्सको नामबाट युएई, श्रीलंका, जिम्बावे र अमेरिकामा पनि यो टिमले विभिन्न प्रतियोगिता खेल्छ । त्यही बोल्ट्स फ्रेन्चाइजको प्रभावकै कारण न्युजिल्यान्डका स्टार क्रिकेटर जिम्मी निसम जनकपुर बोल्टससँग अनुबन्धित भएका हुन् । जनकपुरको नामपछि बोल्ट्स पनि त्यही कारण राखिएको हो ।
जनकपुर बोल्ट्सको फ्रेन्चाइज खरिदका लागि टोलीले क्यानलाई २ करोड ५ लाख रुपैयाँ बुझाएको थियो । एनपिएलको पहिलो सिजनमा अन्य टोलीजस्तै जनकपुरको बजेट पनि १० करोडभन्दा माथि पुग्ने अनुमान छ ।
चितवन राइनोज :
क्रिकेटप्रति गहिरो लगाब राख्ने चितवन मेडिकल कलेज (सिएमसी)ले खरिद गरेको फ्रेन्चाइज हो चितवन राइनोज । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘चितवन राइनोज होइन, चितवन गैंडाज’ भन्नुस भनेर आह्वान गरेपछि टोलीको ब्रान्डिङ माथिल्लो चरणमा उक्लिएको थियो ।
एनपिएलमा सिएमसीकोतर्फबाट आयुश न्यौपानेले चितवन राइनोजको नेतृत्व गर्नेछन् । मालिकको नाममा क्यानले आयुशसँगै हरिशचन्द्र न्यौपानेको नाम सार्वजनिक गरेको छ ।
चितवन राइनोजले फ्रेन्चाइज खरिदका लागि क्यानलाई १ करोड ७६ लाख १ हजार रुपैयाँ बुझाएको थियो । पहिलो सिजन समग्रमा १० करोडभन्दा माथिको बजेट बनाएको टोलीले नेपाली क्रिकेटको विकासमा सहकार्य गर्न लगानी गरेको बताउने गरेको छ ।
निर्माणाधीण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका कारण चितवनमा क्रिकेटको क्रेज ह्वात्तै बढेसँगै त्यही जिल्लाबाट आएको सिएमसीले एनपिएलमा गरेको लगानीलाई रणनीतिक रूपमा लिइएको छ ।
काठमाडौं गुर्खाज :
एनपिएलका आठ फ्रेन्चाइजमध्ये मालिकको नामका आधारमा सबैभन्दा ठूलो टिम काठमाडौं गुर्खाज हो । सञ्चार व्यवसायी कैलाश सिरोहिया, गैरआवासीय नेपाली संघ (एनआरएन)का संस्थापक अध्यक्ष उपेन्द्र महतो र होटल व्यवसायी अरुण सर्राफजस्ता नेपाली कर्पोरेट क्षेत्रका तीन महारथीको साझा टिम भएकाले काठमाडौं गुर्खाजबाट अपेक्षा पनि ठूलै छ ।
सिरोहिया देशकै नम्बर एक सञ्चारगृह कान्तिपुरका मालिक हुन् । उनको अन्य थुप्रै क्षेत्रमा पनि ठूल्ठुला लगानी छ । यसैगरी एनआरएनका पूर्वअध्यक्ष महतो मेडिसिटी अस्पतालका सञ्चालक हुन् । यसबाहेक पनि महतोको अरू थुप्रै क्षेत्रमा लगानी छ । होटल व्यवसायी सर्राफ काठमाडौं दरबारमार्गको याक एन्ड यति होटलका मालिक हुन् । हस्पिटालिटी व्यवसायमा निकै ठूलो प्रभाव राख्ने उनको लगानीमा अरू पनि थुप्रै होटल रहेको बताइन्छ ।
सिरोहिया, महतो र सर्राफजस्ता ठूला व्यापारीको स्वामित्व रहेको काठमाडौं गुर्खाजले फ्रेन्चाइजकै लागि मात्र ३ करोड ३३ लाख ३३ हजार ३३९ रुपैयाँ क्यानलाई तिरेको थियो । यसबाहेक टिम निर्माणदेखि प्रतियोगिता नसकिएसम्म टोलीले १२ करोड रुपैयाँको हाराहारीमा खर्च गर्ने योजना बनाएको बताइन्छ ।
पोखरा एभेन्जर्स :
पोखरा एभेन्जर्सको स्वामित्व नेपाल टी-२० प्रालिको नाममा छ । यसको मालिकचाहिँ आइटी व्यवसायी सुबोध त्रिपाठी र मनोवल श्रेष्ठ हुन् । खासमा नेपाल क्रिकेट संघले दुई वर्षअघि आयोजना गरेको नेपाल टी-२० मा पनि पोखराको मालिक त्रिपाठी नै थिए ।
दुई वर्षअघि नै पोखरा एभेन्जर्सको नाममा ठूलो लगानी गरिसकेका त्रिपाठीले यसपालि पनि त्यही फ्रेन्चाइज पाउनका लागि मालिक घोषणा हुनुपूर्व नै पत्रकार सम्मेलन गरेर यो नाममाथि दाबी प्रस्तुत गरेका थिए । पोखरा एभेन्जर्स नामकै लागि त्रिपाठीले सबैभन्दा बढी फ्रेन्चाइज फी तिरेका थिए । उनले यो फ्रेन्चाइज पाउनका लागि ३ करोड ५७ लाख रुपैयाँ तिरेका थिए ।
आइटी र टेलिभिजिनसँगै आल्मुनियम तथा युपिभिसी निर्माण सामग्री उत्पादनमा समेत सक्रिय त्रिपाठीले पहिलो सिजनको एनपिएलका लागि १० देखि १२ करोड रुपैयाँ लगानी गर्ने योजना बनाएका छन् ।
एनपिएलमा हुने खर्चलाई भविष्यको लगानी मान्ने त्रिपाठीको क्रिकेटसँग गहिरो लगाव छ । नेपालको क्रिकेटलाई एउटा आकर्षक उद्योगको रूपमा अगाडि बढाएर यही खेलमार्फत देशको खेल पर्यटनसँगै समग्र आर्थिक विकासमा योगदान गर्न सकिने विश्वासमा लगानी गरेको उनी बताउँछन् ।
लुम्बिनी लायन्स :
लुम्बिनी प्रदेशलाई प्रतिनिधित्व गर्दै एनपिएलमा बनाइएको फ्रेन्चाइज लुम्बिनी लायन्सको स्वामित्व फर्चुना हेल्थ केयरसँग छ । कम्पनीले फ्रेन्चाइजका लागि मात्र १ करोड ८६ हजार ४ रुपैयाँ खर्च गरेको थियो ।
एनपिएलका लागि १० करोडभन्दा माथिको बजेट बनाएको टोलीको नेतृत्व फर्चुनाको तर्फबाट ईश्वर जिसीले लिएका छन् । स्वास्थ्य व्यवसायी उनी जिसी ग्रुपका मालिक हुन् । अस्ट्रेलियाका बेन कटिङलाई एनपिएलका लागि अनुबन्ध गरेको टोलीले पहिलो सिजन १२ करोड रुपैयाँ खर्च गर्ने योजना बनाएको बताइएको छ ।
कर्णाली याक्स :
हिमालयन बिल्डर्सको नाममा रहेको कर्णाली याक्सले फ्रेन्चाइज किन्नका लागि नेपाल क्रिकेट संघलाई १ करोड ११ लाख ७० हजार रुपैयाँ बुझाएको थियो ।
हिमालयन बिल्डर्सका मालिक झनकदत्त खनाल र निर्माण व्यवसायसँगै फिल्म उद्योगमा पनि संलग्न गृहेन्द्र घिमिरेको स्वामित्वमा रहेको क्लब आसन्न एनपिएलको सबैभन्दा चलायमान टिम हो । भारतीय राष्ट्रिय टिमका पूर्वओपनर शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली याक्सले पहिलो सिजनमै १२ करोड हाराहारीमा लगानी गर्ने अनुमान छ ।
मुख्य मालिक खनाल निर्माण व्यवसायी हुन् । सहमालिक घिमिरे भने मनोरञ्जनको दुनियाँका चल्तापूर्जा उद्यमी हुन् । यही कारण सामाजिक सञ्जालमा कर्णालीको रवाफ अन्य टोलीको तुलनामा बढी देखिन्छ ।
सुदूरपश्चिम रोयल्स :
अम्पायर स्पोर्ट्स कम्पनीको नाममा सुदूरपश्चिम रोयल्सको स्वामित्व छ । फ्रेन्चाइज फीस्वरूप नेपाल क्रिकेट संघलाई १ करोड ६८ लाख ८८ हजार ८८८ रुपैयाँ तिरेको टोलीका मालिक स्वतन्त्रप्रताप शाह हुन् ।
अस्ट्रेलियामा बसोबास गर्ने शाह एनआरएन अस्ट्रेलियाका सचिव हुन् । साथै उनी अन्तर्राष्ट्रिय युवा व्यवसायी महासंघको संस्थापक अध्यक्ष पनि हुन् । सन २०२१ मा स्थापित यो महासंघमा १२ देशका युवा व्यवसायी आबद्ध छन् । तिनै व्यवसायीहरूको लगानीमा शाहको नेतृत्वमा सुदूरपश्चिमको राजधानी धनगढीमा पाँचतारे होटल निर्माणको योजनामा काम भइरहेको बताइएको छ ।
शाहले अस्ट्रेलियाका लागि नेपालको पर्यटन सद्भावना दूतको भूमिकामा काम गरिसकेका छन् । दुई दशकभन्दा लामो समयदेखि अस्ट्रेलिया बस्दै आएका शाहले ब्रिसबेनमा अम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेका छन् । जसले क्विन्सल्यान्ड राज्यस्तरमा हुने विभिन्न क्रिकेट गतिविधिमा भाग लिने गर्छ ।
स्वामित्व अम्पायर स्पोर्ट्ससँग रहेको सुदूरपश्चिम रोयल्सको मालिक शाह भए पनि उनले यसलाई समग्र प्रदेशको स्वामित्वमा रहेको टिम भन्ने गरेका छन् ।