काठमाडौं । ‘नेट रनरेटले चुक्यो नेपाल’ । सन् २०१४ मार्च २१, शुक्रबारका दिन सबै नेपाली पत्रपत्रिकाको पहिलो पृष्ठमा यही शीर्षकको समाचार छापिएको थियो । त्यो मन खिन्न पारिदिने समाचार शीर्षक थियो ।
अघिल्लो दिन बिहीबार आइसिसी ट्वान्टी २० विश्वकप क्रिकेटमा नेपालले प्रारम्भिक चरणको तेस्रो खेलमा दक्षिण एसियाली प्रतिद्वन्द्वी अफगानिस्तानमाथि ९ रनको ऐतिहासिक जित हासिल गरेको थियो ।
त्यसअघि समूहको दोस्रो खेलमा घरेलु टोली टेस्ट राष्ट्र बंगलादेशसँग ८ विकेटले पराजित नेपालले पहिलो खेलमा हङकङमाथि ८० रनको फराकिलो जितसहित यात्रा थालेको थियो ।
सन् २०१४ ट्वान्टी २० विश्वकप नै हो, नेपालको सिनियर टोलीले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता ।
नेपालले अफगानिस्तानलाई हराएकै दिन हङकङले अप्रत्यासित रूपमा बंगलादेशलाई २ विकेटले हराएको थियो । नेपाली समर्थकलाई लाग्यो, अब नेपालले सुपर १० मा स्थान बनाउने छ । तर, त्यस्तो भएन । समूहको शीर्ष स्थानमा रहने टोलीले सुपर १० मा स्थान बनाउँदा बंगलादेशसँग नेपाल नेट रनरेटमा पछाडि पर्यो । तब नेपाली समर्थक निरास बने ।
त्यतिबेला नेपालमा दैनिक १० घण्टाभन्दा बढी लोडसेडिङको मार खेपिरहेको थियो । इन्टरनेटहरू थिए, तर सामाजिक सञ्जाल अहिले जस्तो चलायमान अवस्थामा थिएन । त्यसैले पनि शुक्रबार बिहानको पत्रिका अनि त्यसमा लेखिएका समाचार सबैले कुरेर बसेका थिए । सबैले रनरेटका आधारमा नेपाल बंगलादेशभन्दा पछि परेको र प्रतियोगिताबाट बाहिरिएको खबर पाए । यससँगै अन्त्य भयो, नेपाली समर्थकको विश्वकप महोत्सव र रमझम ।
सन् २०१४ ट्वान्टी २० विश्वकप नै हो, नेपालको सिनियर टोलीले अहिलेसम्म खेलेको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता । त्यसै विश्वकपमा पहिलोपल्ट ६ एसोसिएट टोलीलाई विश्वकप खेल्ने मौका दिइएको थियो ।
त्यसअघि दुई एसोसिएट टोलीले मात्र विश्वकप खेल्न पाउने प्रावधान थियो । सन् २०१३ को नोभेम्बरमा युएईमा भएको ग्लोबल क्वालिफायरमा १६ एसोसिएट टोलीलाई दुई समूहमा विभाजन गरिएको थियो ।
समूह ‘बी’को तेस्रो स्थानमा रहँदै पहिलो स्थानको प्लेअफमा छनोट भएको नेपालले सेमिफाइनलसम्म यात्रा गरेको थियो । समग्रमा १६ टोलीमध्ये तेस्रो स्थान हासिल गर्दै पारस खड्काको कप्तानीमा नेपालले बंगलादेशका लागि विश्वकपको टिकट काटेको थियो ।
पहिलो विश्वकप खेलेको ठ्याक्कै १० वर्षपछि नेपालले दोस्रो पटक ट्वान्टी २० विश्वकपमा स्थान बनाएको छ । योसँगै नेपालमा फेरि क्रिकेटको चर्चा एकाएक चुलिएको छ ।
नेपालले गत शुक्रबार मात्र एसिया छनोटको सेमिफाइनलमा युएईलाई ८ विकेटले पराजित गर्दै २०२४ को जुनमा वेस्ट इन्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने विश्वकपमा स्थान बनाएको थियो ।
आजका दिनमा नेपाललाई विश्वकप पुग्न १० वर्षको लामो समय लाग्दा यसको श्रेय ती खेलाडीलाई जान्छ, जसले २०१४ को विश्वकपमा नेपालले खेलेको हेरेर नै क्रिकेट खेल्ने सपना बुनेका थिए ।
आइतबार सम्पन्न फाइनलमा भने नेपाल ओमानसँग सुपर ओभरमा ११ रनले पराजित हुन पुग्यो । नेपाल र ओमानले विश्वकपमा अन्य १८ राष्ट्रसँग प्रतिस्पर्धा गर्नेछन् ।
वर्ष २०२३ नेपाली क्रिकेट टोलीका लागि एकदम खास रह्यो । वर्षभर जम्मा तीन साताको आराम पाएको नेपाली टोलीले यही वर्ष पहिलो पटक भारत, पाकिस्तानजस्ता टोलीसँग एसिया कप पनि खेल्यो । यसबीच नेपालले जिम्बावेमा भएको एकदिवसीय विश्वकप क्वालिफायर्स पनि खेलेको थियो ।
जतिबेला नेपाली टोलीले बंगलादेशमा विश्वकप खेलिरहेको थियो, वर्तमान सिनियर टोलीका कप्तान रोहित पौडेल साढे ११ वर्षका थिए । अलराउन्डर सोमपाल कामी र ब्याटर विनोद भण्डारीबाहेक वर्तमान टोलीका सबै खेलाडीले त्यति बेला टेलिभिजनमा नेपालले विश्वकप खेलेको हेरेका थिए ।
आजका दिनमा नेपाललाई विश्वकप पुग्न १० वर्षको लामो समय लाग्दा यसको श्रेय ती खेलाडीलाई जान्छ, जसले २०१४ को विश्वकपमा नेपालले खेलेको हेरेर नै क्रिकेट खेल्ने सपना बुनेका थिए ।
युएईलाई हराएपछि कप्तान रोहित आफैंले भनेका थिए, ‘२०१४ मा दाइहरूले विश्वकपमा खेलेको देखेर नै हामी क्रिकेटमा लागेका हौं । अहिलेको टोलीमा सोमपाल (कामी) र विनोद (भण्डारी) दाइबाहेक हामी सबैको क्रिकेट यात्रा त्यही विश्वकप पछि नै सुरु भएको हो ।’
रोहित पुस्तालाई नेपाली क्रिकेटमा पारस पुस्तापछि सबैभन्दा राम्रो पुस्ताको रूपमा लिइएको छ । विश्वकप छनोटको यो १० वर्षे अन्तरालमा अरू कुन कुन पुस्ता आए, त्यो थोरैलाई थाहा होला । किनभने यो समयमा नेपाली क्रिकेटले कुनै पनि ठूलो उपलब्धि हासिल गरेन ।
यसबीच पारस र उनका सबै सहकर्मीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिइसकेका छन् । रमाइलो कुरा के पनि छ भने पारसलाई अहिले नेपाली क्रिकेटमा खड्काज्यू भनेर सम्बोधन गरिन्छ । किनभने उनी अहिले नेपाल क्रिकेट संघ (क्यान) का सचिव भइसकेका छन् । गत असोजमा मात्र उनी पहिलो उम्मेद्वारीमै सचिव पदमा निर्वाचित भएका थिए । सचिवअघि उनी बागमती प्रदेशीक क्रिकेटको अध्यक्षमा सर्वसम्मत चयन भएका थिए ।
यो १० वर्षको अन्तरालमा आइसिसीका ६ ठूला प्रतियोगिता भइसकेका छन् । तीन एकदिवसीय र तीन ट्वान्टी २० विश्वकप । नेपाली खेलाडीहरू यी प्रतियोगिताहरू टेलिभिजनमा हेर्न बाध्य छन् । पछिल्लो एक वर्षमा नेपालले क्रिकेटमा ठूलै फड्को मारेको बुझ्न सकिन्छ, मैदानमा दर्शकको बाक्लो उपस्थितिले पनि यो कुरा प्रस्ट गर्छ, क्रिकेट पहिल्यै जस्तो रहेन । तर, यति भनिरहँदा नेपाली क्रिकेटमा नमिटिने प्रश्न यो पनि छ कि अर्को विश्वकपमा छनोट हुन फेरि अर्को १० वर्ष कुर्नुपर्ने त होइन ?
यसरी मैदान बाहिरको शक्तिसंघर्षका कारण नेपाली क्रिकेटले १० वर्षमा कयौं अवसरहरू गुमायो । जुन आउने दिनमा नहोला भन्न सकिन्न ।
पूर्वाधारका हिसाबले हामी अझै पनि निकै कमजोर छौं । त्यस्तै मैदानबाहिरका कुरामा पनि नेपाली क्रिकेट संधै विवादमा तानिँदै आएको छ । नेपालले पहिलो विश्वकप खेलेकै वर्ष क्यानका १० पदाधिकारी, अध्यक्ष टंक आङबुहाङ, उपाध्यक्ष चतुरबहादुर चन्द, सुनीलमान अमात्य र विनोद मैनाली, महासचिव अशोकनाथ प्याकुरेल र अरू चार केन्द्रीय सदस्य अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कारबाहीमा परेका थिए ।
अप्रिल २०१६ मा राजनीतिक हस्तक्षेप, स्वतन्त्र र निष्पक्ष निर्वाचन नभएको भन्दै क्यान आइसिसीको निलम्बनमा परेको थियो । पछि अक्टोबर २०१९ मा निष्पक्ष चुनाव भएपछि बल्ल आइसिसीले क्यानमाथि लगाएको निलम्बन फुकुवा गरेको थियो । त्यतिबेला वर्तमान अध्यक्ष चतुरबहादुर चन्दले विनयराज पाण्डेलाई पराजित गर्दै नेतृत्व सम्हालेका थिए । अहिले यिनै चन्द दोस्रो कार्यकालका लागि अध्यक्षको कुर्सीमा छन् ।
यसरी मैदान बाहिरको शक्तिसंघर्षका कारण नेपाली क्रिकेटले १० वर्षमा कयौं अवसरहरू गुमायो । जुन आउने दिनमा नहोला भन्न सकिन्न ।
क्यान केन्द्रीय सदस्य दिवाकर घले भन्छन्, ‘२०१४ को विश्वकपबाट प्रेरणा लिएका खेलाडीका लागि विश्वकप खेल्न एक दशक कुनुपर्यो । अहिलेको नेपाली टिमबाट पनि भावी पुस्ताले प्रेरणा लिने पक्का छ । अहिलेको क्रिकेटरलाई हेरर नयाँ पुस्ता उदाउने छ । वर्तमान खेलाडीको लोकप्रियता, उनीहरूको खेलस्तर, खेलप्रतिको लगावका कारण भावी पुस्तालाई प्रेरणा मिल्नेछ ।’
‘लगातार विश्वकप खेल्न नेपाली क्रिकेटले सामूहिक पहलमा घरेलु क्रिकेट प्रतियोगिताको बलियो संरचना र पूर्वाधारमा ध्यान दिनुपर्छ । कम्तीमा ९ महिना घरेलु क्रिकेट व्यस्त हुनुपर्छ । त्यसपछि खेलाडी उत्पादन त हुन्छ नै, क्रिकेट संस्कार पनि बस्ने छ । घरेलु क्रिकेट बलियो भयो भने हाम्रो क्रिकेट बलियो हुन्छ अनि विश्वकप खेल्न १० वर्ष कुर्नुपर्दैन । घरेलु क्रिकेट बलियो बनाउन क्यान आर्थिक पारदर्शिता र निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न जरुरी छ । एसिया कप र एसियाली खेलकुदमा नेपालले भारतसँग खेल्यो । एसिया कपमा पाकिस्तानसँग पनि प्रतिस्पर्धा भयो । अब नेपालले यस्तै उच्चस्तरीय टिमसँग खेल्न जरुरी छ । यति भएपछि बल्ल नेपाली क्रिकेट उचाइतर्फ लाग्नेछ र उसले निरन्तर विश्वकप खेल्नेछ ।’
क्रिकेट अम्पायर तथा पत्रकार दुर्गानाथ सुवेदी पनि घरेलु संरचना बलियो भएमात्र भावी पुस्ताले विश्वकपका लागि धेरै समय कुर्नु नपर्ने मान्छन् । ‘सिनियर टोलीबाट नयाँ पुस्तालाई एकदमै प्रेरणा मिलेको छ । क्रिकेट खेलेर पनि राम्रो जीवनयापन गर्न सकिन्छ भनेर सिनियर टोलीले सन्देश दिएको छ । तर, प्रतियोगिता जितेर प्राप्त गर्ने पुरस्कारले मात्र पुग्दैन । देशमा घरेलु संरचना बलियो हुनुपर्छ । अनि मात्र राम्रा खेलाडीहरू उत्पादन हुन्छन् र विश्वकप छनोटका लागि प्रतिस्पर्धा गर्न हामी सक्षम हुन्छौं,’ नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्षसमेत रहेका सुवेदी सुझाउँछन् ।
काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका घले र अम्पायर सुवेदीले भने जस्तै नेपाली टोलीलाई अहिले अन्तर्राष्ट्रिय एक्सपोजर जरुरी छ । त्यसका लागि एक महत्त्वपूर्ण पक्ष हो, बलियो घरेलु संरचना । त्यसपछि जरुरी छ सुदृढ नेतृत्व अनि मात्र नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगिताको बाटो बनाउने छ । अब रोहितलाई फलो गर्ने भावी पुस्ताले पालो कुरिरहेका हुनेछन् विश्वकप क्रिकेट खेल्न ।
शनिबारको अन्य स्टोरीः नेपाल सुपर लिगः बढाउँला त नेपाली फुटबलको ‘हाइप’ ?विश्वकप क्रिकेटः सेमिफाइनल प्रतिद्वन्द्वी कुर्दै भारतट्वान्टी २० अन्तर्राष्ट्रियमा नेपालको नालीबेलीअलबिदा डाक्टर सरोज