मुलपानी क्रिकेट मैदान

पूरा हुँदै मूलपानीवासीको त्यो सपना

तस्बिरः केशव कटुवाल/खेलाडी

काठमाडौं । मूलपानीमा क्रिकेट मैदान निर्माण बेलैमा सम्पन्न भएको भए अहिलेसम्म त्यहाँ धेरै अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भइसकेका हुन्थे ।

२०६० सालमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को परियोजनाअन्तर्गत तत्कालीन मूलपानी गाविसले वडा ८ मा रहेको खाली जग्गा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान निर्माणका लागि हस्तान्तरण गरेको थियो । जग्गा हस्तान्तरणको तीन वर्षपछि मैदान निर्माण कार्य पनि थालनी भयो ।

तर, नेपाली क्रिकेट प्रशासन (नेपाल क्रिकेट संघ) को नालायकी, गैरजिम्मेवार राष्ट्रिय खेलकुद परिषद अनि खोक्रा राजनीतिक नारामै अल्झिएको सरकारका कारण राजधानीमा झन्डै चार सय रोपनी जग्गा उपलब्ध गराए पनि मूलपानीवासीले पहिलो अन्तर्राष्ट्रिय खेल हेर्न दुई दशकसम्म कुर्नुपर्ने अवस्था सिर्जना भयो ।

तथापि निर्माण सुरु गरेको १६ वर्षपछि अन्ततः मूलपानी क्रिकेट मैदानले वैशाख ५ मा पहिलो अन्तर्राष्ट्रिय खेल खेलाउँदै छ । नेपालले आयोजना गर्न लागेको एसिसी प्रिमियर लिगका लागि कीर्तिपुरसँगै मूलपानी मैदान पनि रोजिएपछि स्थानीयवासीको लामो समयदेखिको सपना पूरा हुनेक्रममा पुगेको छ ।

नेपाल क्रिकेट संघ (क्यान)को मुख्यालय पनि रहेको माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि तयारी तीव्र रूपमा अघि बढाइएको छ । त्यसमा स्थानीय सरकारको रूपमा रहेको कागेश्वरी मनोहरा नगरपालिकाले पनि हातेमालो गरिरहेको छ ।

क्यानका कोषाध्यक्ष रोशन सिंह कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीका साथै उपमेयर तथा वडा अध्यक्षहरू मैदानको विषयमा सहकार्य गर्न आउनु सकारात्मक कदम भएको बताउँछन् ।

‘हामीले एसिसी प्रिमियर कपका लागि मैदान निर्माणको कार्य तीव्र रूपमा अघि बढाइरहेका छौं,’ कोषाध्यक्ष सिंहले भने, ‘हाम्रो लक्ष्य अप्रिल ९ सम्म निर्माण कार्य सम्पन्न गरी एसिसीलाई हस्तान्तरण गर्ने हो ।’

नेपालमा यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानले मात्र अन्तर्राष्ट्रिय मैदानको हैसियत पाएको थियो । तथापि उमेर समूहका अन्तर्राष्ट्रिय प्रतियोगिताहरू भने टुँडिखेल, पुल्चोक इन्जिनियरिङ कलेज तथा वीरेन्द्र सैनिक महाविद्यालय भक्तपुरका मैदानमा पनि भइसकेको इतिहास छ ।

तस्बिरः केशव कटुवाल/खेलाडी

एसिसी प्रिमियर लिगसँगै अब मूलपानी क्रिकेट मैदानले पनि आगामी दिनमा नेपालमा हुने अन्य अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि वैकल्पिक मैदानको रूपमा सेवा गर्नेछ ।

कोषाध्यक्ष सिंह यसलाई समग्र खेलकुदकै लागि सुखद खबर मान्छन् । भन्छन्, ‘लामो समयको प्रतीक्षापछि मूलपानी क्रिकेट मैदानले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको रूपमा एसिसी प्रिमियर कप खेलाउँदै छ । मैदान निर्र्माणपछि हामी एसिसीकै उमेर समूहका अन्य प्रतियोगिता आयोजना गर्न पनि पहल गर्नेछौं ।’

उनी मैदान निर्माणमा स्थानीय सरकारले खेलेको भूमिका निकै सकारात्मक रहेको सुनाउँछन् । ‘यहाँका मेयर उपेन्द्र कार्कीका साथै उपप्रमुख र वडाध्यक्ष मैदान निर्माणस्थलमै आउनुभई क्यानसँग सहाकार्यको प्रस्ताव गर्नुभयो,’ कोषाध्यक्ष सिंहले भने, ‘स्थानीय सरकारको यो कदम निकै सराहनीय छ । स्थानीय सरकारले मैदानमा आवश्यक बिजुली, पानी, दर्शकदीर्घा, शौचालय र बाटोसमेत निर्माणको जिम्मा लिनुभएको छ । यसले हामीलाई काम गर्न सहज हुनुका साथै थप उर्जा मिलेको छ ।’

मेयर कार्कीले कागेश्वरी मनोहरा नगरपालिकालाई स्पोर्ट्स सिटीको रूपमा अघि बढाउने निर्णय गरिसकेकाले मूलपानी क्रिकेट मैदान निर्माण सम्पन्न भएसँगै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा त्यो आफूहरूको योजनाका लागि कोसेढुंगा साबित हुने बताए ।

‘माथिल्लो मूलपानी क्रिकेट मैदान निर्माण र त्यहाँ अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा त्यो नगरवासीको मात्र नभई समग्र खेलप्रेमीका लागि सुखद पक्ष हो,’ मेयर कार्कीले भने, ‘हामी यहाँ हुने सबैखाले गतिविधिको स्वामित्व लिन चाहन्छौं । एसिसी प्रिमियर लिग क्यानको मात्र नभई सम्पूर्ण देश र नगरपालिकाको पनि प्रतिष्ठाको विषय हो । यसलाई सफल पार्न हामी क्यानसँग सहकार्य गर्दै छौं ।’

मेयर कार्कीले मूलपानीका स्थानीय वासिन्दाले लामो समयदेखि देख्दै आएको सपना एसिसी प्रिमियरको आयोजनासँगै पूरा हुन लागेको बताए । उनले प्रतियोगिताका लागि क्यानसँगको सहकार्यपछि मूलपानी क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने योजना सुनाए ।

एसीसी प्रिमियर लिगको समूह ‘ए’मा आयोजक नेपालले मलेसिया, ओमान, कतार र साउदी अरेबियासँग प्रतिस्पर्धा गर्नेछ । समूह ‘बी’मा बहराइन, कुवेत, हङकङ, युएई र सिंगापुर छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिता विजेताले अर्को वर्ष श्रीलंकामा हुने एसिया कपमा सहभागिता जनाउने छ ।

एसिसी प्रिमियर लिग विजेताले एसिया कपमा पाकिस्तान र भारतसम्मिलित समूहमा रहेर प्रतिस्पर्धा गर्ने अवसर छ । प्रतियोगिताको शीर्ष तीन टोलीले जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स कपमा स्थान बनाउने छ । नेपालले वैशाख ५ मा मलेसियाविरुद्धको खेल्दै प्रतियोगिताको यात्रा थाल्नेछ ।

प्रतियोगिताका ११ खेल मूलपानी क्रिकेट मैदानमा हुनेछन् । जसमा नेपाल र साउदी अरेबियाबीचको खेल पनि समावेश छ ।

मूलपानी क्रिकेट रंगशाला रहेको कागेश्वरी मनोहरा नगपालिका वडा नम्बर ६ का अध्यक्ष प्रकाश फुयाल मैदान निर्माण सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय प्रतियोगिता हुनु आफूहरूका लागि गौरवको विषय रहेको बताउँछन् ।

अघिल्लो कार्यकाल पनि वडाध्यक्षको भूमिकामा रहेका फुयालकै विशेष पहलमा प्यारापिटसमेत बनाइन लागेको तल्लो मैदानको जग्गा विवाद पनि समाधान भएको थियो । माथिल्लो मैदानको उत्तरी भागमा वर्षातमा पहिरो गइरहँदा सधैं बनाउने काम गरिरहेको बताउँदै वडा अध्यक्ष फुयालले पछिल्लो समय यसमा मेयर कार्की आफैं सक्रिय रूपमा लागेको र आफूहरू उनकै निर्देशनमा अघि बढिरहेको बताए ।