काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको चौथो संस्करण त्रिपुरेश्वरको कभर्डहलमा सकिएको छ ।
भलिबलको नक्साले सेन्ट्रल एसियाली भनेकामध्ये पाँच देशको सहभागिता रहेको प्रतियोगितामा नेपाली महिला टिम अपराजित रहन सकेन । समूह विजेता भएर अगाडि बढ्न नसक्दा सेमिफाइनलमा इरानको चुनौती फेरि सामना गर्नुपर्यो । उपाधि एकमात्र लक्ष्य बनाएको टोलीले अन्तिम चारमा इरानलाई सोझो सेटमै पाखा लगाएर फाइनलमा १३औं सागको फाइनल रिप्ले पक्का गर्यो । अर्थात फेरि भारतसँगकै उपाधि भिडन्त । अनि नतिजा पनि उस्तै । फेरि पाँच सेटसम्मको प्रतिस्पर्धामा भारतले बाजी मार्यो ।
नेपालले अन्तर्राष्ट्रिय महिला भलिबलमा ‘निरीह केटीहरू’को छविमा सुधार ल्याउन थालेको केही वर्ष भइसक्यो ।
जित्न नसके पनि कभर्डहलमा नेपाली महिला टोलीले एउटा सुनौलो इतिहास रच्यो, पहिलो पटक भारतलाई हराएर । निराशा नै निराशाले राज गरेको नेपाली खेलकुदमा भलिबलका चेलीहरूको उर्जावान जोसिलो प्रदर्शनले ‘भविष्य उज्ज्वल छ है’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्यो ।
पाँच सेटसम्म संघर्ष गर्दै भारतलाई मात दिनु, इरानसँग समूह चरणमा पाँच सेटसम्मको संघर्षमा मात खाए पनि सेमिफाइनलमा सोझो सेटमै बदला लिनु अनि श्रीलंका र माल्दिभ्सलाई सोझो सेटमा हराउनु साँच्चिकै नेपाली भलिबलका लागि आशा जगाउने नतिजा थिए । खासगरी राज्यमा खेलकुद निकै अपहेलित भएको र खेलभित्रै पनि पदाधिकारीको व्यक्तिगत स्वार्थले मात्र राज गरिरहेका बेला राष्ट्रिय खेलको यो जुझारुपना प्रशंसनीय थियो ।
उसो त नेपालले अन्तर्राष्ट्रिय महिला भलिबलमा ‘निरीह केटीहरू’को छविमा सुधार ल्याउन थालेको केही वर्ष भइसक्यो । सन् २०१९ र २०२१ मा बंगलादेशमा यही प्रतियोगिताको पहिलो दुई संस्करण हुँदा नेपाल च्याम्पियन भएको थियो । पाँच वर्षअघि काठमाडौंमै १३औं दक्षिण एसियाली खेलकुद (साग) हुँदा पनि महिला भलिबलले रजत पदक जितेको थियो । त्यो बेला पनि फाइनलमा भारतसँग पाँच सेटसम्म चलेको खेलमा नेपाल अन्तिममा मात्र निराश भएको थियो ।
कुनै एक खेलमा जित्नु वा नजित्नु, कुनै एक प्रतियोगितामा जित्नु वा नजित्नुले खेलको समग्र अवस्था चित्रण गर्दैन । यस अर्थमा चौथो काभा नेसन्स लिगको नतिजा मात्र आधार मानेर गरिने मूल्यांकन सही नहुन सक्छ ।
कुनै पनि टिमले निरन्तर रूपमा कस्तो खेलिरहेको छ । कस्तो नतिजा आत्मसात गरिरहेको छ भन्नेले खेलको वास्तविकता देखाउँछ । यस अर्थमा काभामा गरेको प्रदर्शनचाहिँ मूल्यांकनको आधार मान्न सकिन्छ । र, भन्न सकिन्छ, ‘नेपालमा भलिबलको जग बसिसकेको विश्वास गर्न सकिन्छ । खासगरी महिला भलिबलमा ।’
धेरै यस्ता नाम छन्, जसले महिला भलिबलको जग हाल्ने उद्देश्यलाई केन्द्रमा राखेर वर्षौं गरेको मिहिनेतको फेहरिस्त छन् ।
एउटा समय थियो, नेपाली महिला टोली भारतसँग सधैं सोझो सेटमा पराजित हुन्थ्यो । श्रीलंका, पाकिस्तानहरू पनि नेपालका लागि ठूला चुनौती हुने गर्थे । अचेल जित–हारको नतिजा जस्तो आए पनि नेपाल क्षेत्रीय अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सधैं दाबेदारका रूपमा प्रस्तुत हुन थालेको छ । अचेल क्षेत्रीय प्रतियोगितामा नेपाली महिलाको उपस्थिति ‘चुनौतीपूर्ण स्कोर’का लागि नभई जित्नका लागि हुन थालेको छ ।
एक समयको निरीह नेपाली महिला भलिबल केही वर्षको अन्तरमा एउटा सशक्त टिममा रूपान्तरित हुनुका पछाडि धेरै रहस्य छन् । धेरै यस्ता नाम छन्, जसले महिला भलिबलको जग हाल्ने उद्देश्यलाई केन्द्रमा राखेर वर्षौं गरेको मिहिनेतको फेहरिस्त छन् ।
मनवीर छन्त्याल
नेपालमा भलिबल भन्ने खेल औपचारिकतामा मात्र थियो । राष्ट्रिय खेलकुद परिषद्को दर्ता किताब र न ओलम्पिक कमिटीको निर्वाचनमा मात्र भलिबलको दरिलो उपस्थिति थियो । झुक्किएर परिषदले राष्ट्रिय खेलकुद गर्यो भने भलिबलका प्रतियोगिता हुन्थे, नत्र नेपाली भलिबल सेना, प्रहरी र एपिएफका गतिविधिले मात्र धानेको थियो ।
केही नपाउने अवस्थाबाट छोटो समयमै दर्जनौं खेलाडी स्कुटर चढ्ने अवस्थामा छन्त्यालले नेपाली महिला भलिबललाई रूपान्तरण गराइदिए ।
केही नपाउने अवस्थाबाट छोटो समयमै दर्जनौं खेलाडी स्कुटर चढ्ने अवस्थामा छन्त्यालले नेपाली महिला भलिबललाई रूपान्तरण गराइदिए ।भलिबलका तिनै निराश र अँध्यारा दिनमा बाग्लुङका मनवीर छन्त्यालले २०६० को दशकमा एउटा अभियान थाले, महिला भलिबल प्रतियोगिता गरेर । बालाजुको बसपार्क, टुँडिखेल र कहिलेकाहीँ त्रिपुरेश्वरको कभर्डहलसम्म पुगेको छन्त्यालको क्लब ढोरपाटन स्पोर्टस क्लबले गर्ने प्रतियोगिताले राष्ट्रिय स्तरमा महिला भलिबलको हकलाग्दो उपस्थिति पक्का गर्यो ।
देशका कुनाकन्दरासम्म लोकप्रिय हुनाका बावजुद मूलधारमा कुनै चर्चा नरहेको महिला भलिबललाई छन्त्यालको प्रतियोगिताले मज्जासँग ब्रान्डिङ गर्यो । पहिला टुँडिखेल र पछि नयाँ बसपार्कको कोर्टमा दैनिक हजारौं दर्शक भलिबल हेर्न धाउन थाले । प्रायोजकको ध्यान पनि महिला भलिबलले तान्न थाल्यो । देश विदेशमा रहेका खेलप्रेमीको सहयोगी मनले सहयोग गर्ने एउटा राम्रो ठाउँ पायो । महिला खेलाडीले एकाएक सुन र स्कुटर पुरस्कार पाउन थाले । उसै केही नभएको भलिबल, त्यसमाथि पनि महिलाको हालत त झनै दयनीय थियो ।
केही नपाउने अवस्थाबाट छोटो समयमै दर्जनौं खेलाडी स्कुटर चढ्ने अवस्थामा छन्त्यालले नेपाली महिला भलिबललाई रूपान्तरण गराइदिए । देशका अन्य भागमा पनि गर्न चाहनेका लागि महिला भलिबल गर्ने उर्जा स्थापित गरे । कुनै दिन भलिबल संघमा केही गर्न चाहने नेतृत्व आए तत्काल प्रतियोगिता गर्न सक्ने गरी जग बसाल्ने काम गरिदिए ।
निरोज मास्के
नेपाली महिला भलिबलको सफलता कथामा छुटाउनै नसकिने नाम हो, निरोज मास्के । नेपाल भलिबल संघमा केन्द्रीय सदस्य हुँदै महिला विभाग प्रमुखका रूपमा उनले महिला भलिबलको आधार निर्माण गर्न ठूलो योगदान गरिन् ।
आर्थिक रूपमा दरिद्र र गतिविधिका हिसाबमा महिला भलिबल दुरुह अवस्थामा थियो । त्यस्तो समयमा मास्के आफैंले व्यक्तिगत लगानीमा खेलाडीलाई खेल सामग्री किनिदिने, आयोजकहरूलाई आर्थिक सहयोग गर्ने र आफैं प्रतियोगितासमेत गर्ने काम गरिन् । जसले महिला भलिबललाई जीवन्त राख्नुका साथै महिला खेलाडीलाई आफू पनि केही हो भन्ने आत्मसम्मान दिलाउन ठूलो भूमिका खेल्यो ।
खेलाडीलाई समस्या पर्दा सहयोगमा नहिच्किचाउनुका साथै हौसला बढाउन पनि व्यक्तिगत रूपमै अघि सर्ने मास्केले व्यक्तिगत लगानीमा पहिलो पटक चितवनको सौराहामा राष्ट्रिय स्तरको बिच भलिबल प्रतियोगिता गरेकी थिइन् । त्यसपछि संघमा महिला भलिबल कमिसन र बिच भलिबलको सम्भावनाबारे खोजी कार्य सुरु भएको थियो ।
मास्केले सन्जय मेमोरियल फाउन्डेसनबाट सामाजिक सेवाका कामसँगै भलिबलको क्षेत्रमा काम गर्दै आएकी छन् ।
मास्केले २०६५ सालमा बिच भलिबल आयोजना गरेपछि नेपालगन्जलगायतका विभिन्न स्थानमा बिच भलिबल प्रतियोगिता हुन थाले । संघले पनि यसलाई पछि निरन्तरता दिने प्रयास गरेको थियो । नेपाली महिला टोलीले गत साता भुटानको थिम्पूमा सम्पन्न काभा महिला बिच भलिबलमा स्वर्ण पदक जित्नुमा पनि कतै न कतै त्यो सुरुआतको योगदान छ ।
तीन वर्षअघि मास्केको नेतृत्वमा सन्जय मेमोरियल फाउन्डेसनको आयोजनामा पाल्पाको रानीमहलको किनारामा एउटा महत्त्वाकांक्षी प्रतियोगिता सुरु भयो । जसले त्यहाँको पर्यटकीय सम्भावना थप बलियो बनाउँदै बहसको विषय बनाउन थाल्यो ।
रानीमहलमा भएको बिच भलिबलले खेलकुदलाई पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकासमा सघाउने माध्यमका रूपमा चिनाएको थियो । मास्केले सन्जय मेमोरियल फाउन्डेसनबाट सामाजिक सेवाका कामसँगै भलिबलको क्षेत्रमा काम गर्दै आएकी छन् । फाउन्डेसनले हरेक वर्ष नेपाली भलिबल क्षेत्रमा विशेष योगदान पुर्याएका र सफलता हासिल गरेका महिला र पुरुष खेलाडीलाई सम्मान गर्दै आएको छ ।
भलिबल संघको कार्यसमितिमा सदस्य, कोषाध्यक्ष र दुई कार्यकाल उपाध्यक्षका रूपमा काम गरिसकेकी मास्के गत निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार थिइन् ।
कुमार राई
नेपालको भलिबलका लागि खेल्ने ठाउँ छैन । प्रतिभावान खेलाडीलाई फक्रिन पाउने उपयुक्त वातावरण पाइँदैन । आर्थिक अवस्था दयनीय छ । सामाजिक सोचले खेलाडी बन्न निरुत्साहित मात्र गरिरहन्छ । त्यसका बावजुद महिला भलिबलले भने निरन्तर नेपाली खेलकुदको सान बढाइरहेको छ ।
कसरी भनेर उत्तर खोज्ने हो भने यो खेलको तपस्यामा लिन केही योगी र त्यस्तै संस्थाहरूको स्वतःस्फूर्त भलिबलप्रेम भेटिन्छ । यस्तै भलिबल तपस्यामा लिन योगीमध्ये एक हुन्, कुमार राई अनि न्यु डायमन्ड भलिबल सेन्टर उनको योगस्थल ।
न्यु डायमन्डलाई जन्माउने, हुर्काउने र नेपाली महिला भलिबलको गौरवका रूपमा स्थापित गर्ने श्रेय राईमा जान्छ ।
नेपाली खेलकुदमा विद्यमान अनगन्ती समस्या पार लगाउँदै अगाडि बढ्ने क्रममा न्यु डायमन्डले घरेलु प्रतियोगिताहरूमा बलियो दाबेदारी दिँदै आइरहेको छ । नियमित प्रशिक्षणका साथै सेवासुविधा भरपूर रहेका घरेलु प्रतिद्वन्द्वी विभागीय टोलीहरू नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल (एपिएफ)लाई दबाब दिन न्यु डायमन्ड सफल भइरहेको छ ।
न्यु डायमन्ड नेपाली भलिबलमा राष्ट्रिय टोलीका लागि नियमित रूपमा सुपरस्टार खेलाडी दिइरहने टोली हो । कुनै बेलाकी सुपर स्टार रमिला तण्डुकार न्यु डायमन्डकै उत्पादन थिइन् । रमिला विदेसिएपछि राष्ट्रिय महिला टोलीको आक्रमण कस्ले सम्हाल्ला भन्ने चिन्ताले नेपाली भलिबललाई पिरोल्यो । तर राईको प्रेरणादायी नेतृत्वमा रहेको न्यु डायमन्डसँग रमिलाको विकल्पमा प्रतिभा माली तयार थिइन् ।
राष्ट्रिय टोलीलाई न्यु डायमन्डले दिएको स्टार नाम यही दुईमा सीमित छैन । कृपा अधिकारी, रेश्मा भण्डारी र सलिना श्रेष्ठ पनि न्यु डायमन्डकै उत्पादन हुन् । देशको महिला भलिबलमा रहेको यो गौरवशाली विरासत थेग्न न्यु डायमन्ड र प्रशिक्षक राई पछिल्लो समय नयाँ युवा टोलीमा केन्द्रित भएका छन् । यही कारण हो, पछिल्ला दुई वर्षयता प्रतिभालाई चोटले निरन्तर सताइरहँदा पनि प्रगति नाथ, एन्जिला प्रधान, रीमा कुुवँर, सुमित्रा रेग्मीलगायतका खेलाडीले आफूलाई अबको कमान सम्हाल्न तयार रहेको प्रमाण दिइसेका छन् ।
न्यु डायमन्डलाई जन्माउने, हुर्काउने र नेपाली महिला भलिबलको गौरवका रूपमा स्थापित गर्ने श्रेय राईमा जान्छ । उनले काठमाडौंको नैकापमा आफ्नै विद्यालय न्यु डायमन्ड एकेडेमी सञ्चालन गरी स-साना नानीहरूलाई भलिबलको प्रशिक्षण दिन थालेको धेरै वर्ष भइसक्यो । जहाँ उनको भूमिका भलिबल प्रशिक्षक, विद्यालयको शिक्षक वा सञ्चालकमा सीमित छैन । उनी त त्यहाँका सबै खेलाडीका लागि अभिभावक हुन् । आर्थिक रूपमा विपन्न खेलाडीका लागि अध्ययन तथा भलिबलका लागि खर्चसमेत उनी आफैंले व्यवस्थापन गर्छन् । जहाँ राईको सबै पारिश्रमिक खर्च हुन्छ ।
ज्योति केसी (अनलज्योति स्कुल)
नेपालको महिला भलिबलमा अचेल अनलज्योति स्कुलको नाम त्यति सुनिन्न । उसो त अचेल स्कुल स्तरमा भलिबलका प्रतियोगिता पनि हुँदैनन् । कुनै एउटा समय थियो, जतिबेला स्कुलस्तरबाटै भलिबल उकास्ने अभियानमा अनलज्योति स्कुलले आफूलाई समर्पित गरेको थियो । अनि यो अभियानको नेतृत्व स्कुलकी तत्कालीन प्रधानाध्यापिका ज्योति केसीको काँधमा थियो ।
नेपाली महिला भलिबलको वर्तमान क्षितिजमा देखिएका थुप्रै खेलाडीको मुहारमा केसीको प्रतिबिम्व भेटिन्छ । नेपाल भलिबल संघको कार्यसमितिमा समेत विभिन्न पदमा रहेर केसीले लामो समय काम गर्दा महिला भलिबलको श्रीवृद्धि उनको मुख्य उद्देश्य थियो ।
केसीकै पहलमा २०६० को दशकमा काठमाडौंमा स्कुलस्तरका प्रतियोगिता आयोजना हुन्थे, मिनी भलिबलको नाममा । सानो आकारको बलमा स्कुलका साना नानीहरूले प्रतिस्पर्धा गर्ने त्यो अनलज्योति कप मिनी भलिबल अन्तरस्कुल महोत्सव भलिबलको आधार बसाउन निकै लाभदायी मानिएको थियो । केही संस्करण भएपछि त्यसले निरन्तरता भने पाउन सकेन ।
नेपालको महिला भलिबलले उपलब्धिका ठूल्ठुला पर्वत आरोहण गरिरहेका बेला यसको जग हाल्ने समयमा केसीले खेलेको भूमिका स्मरणीय छ ।
अनलज्योतिले आफैं प्रतियोगिता आयोजना गर्नुका साथै टिम पनि बनाएको थियो । खेलमा राम्रो सम्भावना बोकेका बालबालिकालाई स्कुलमा पूर्ण छात्रवृत्ति दिएर पनि केसीले नेपाली भलिबलमा योगदान गरेकी थिइन् ।
व्यवसायसँगै भलिबललाई जीवनको अभिन्न अंग बनाएकी केसी कुनै न कुनै भूमिकामा सँधै भलिबलसँग जोडिइरहेकी छन् । नेपालको महिला भलिबलले उपलब्धिका ठूल्ठुला पर्वत आरोहण गरिरहेका बेला यसको जग हाल्ने समयमा केसीले खेलेको भूमिका स्मरणीय छ ।
भलिबलमा लामो समय कलम चलाएका पत्रकार कमल खत्री भन्छन्, ‘नेपालमा भलिबल भन्ने खेलको औपचारिक अस्तित्व नै नरहँदा ज्योति म्याडमहरूले आफ्नो ठाउँबाट गरेका स-साना योगदानकै जगमा महिला भलिबल खडा भएको हो । अहिले महिला भलिबलले अन्तर्राष्ट्रियजगतमा गर्व गर्न सकिने उपस्थिति जनाइरहँदा सुरुआती दिनमा योगदान गर्नेलाई सम्झनुपर्छ ।’
सुनकेशरी माली
नेपाली महिला भलिबलमा ठूला स्टार नाम उत्पादन गरेर दिने न्यु डायमन्ड एकेडेमी वा न्यु डायमन्ड भलिबल सेन्टर नामको कारखानाको सहसञ्चालक हुन् माली । मालीको पूरापूर साथ हुँदैनथ्यो भने कुमार राईको नेतृत्वमा न्यु डायमण्डले नेपाली महिला भलिबलमा सनसनी मच्चाइरहन सम्भव थिएन ।
नेपाली महिला भलिबलमा पछिल्लो समय राज गरिरहेकी स्पाइकर प्रतिभा मालीलाई सानैदेखि भलिबलको माहोलमा हुर्काएर सुपरस्टारका रूपमा स्थापित गर्नेमा कसैको सबैभन्दा बढी हात छ भने त्यो सुनकेशरी माली हुन् । नाफा कमाउने उद्देश्यसहित एउटा व्यावसायिक विद्यालयको रूपमा स्थापित न्यु डायमन्ड एकेडेमीलाई कुमार राईसँग काँधमा काँध मिलाएर मालीले भलिबल एकेडेमीको रूपमा स्थापित गर्न ठूलो योगदान गरेकी छन् ।
महिला खेलाडीको अभिभावकका रूपमा आफूलाई भलिबलमा समर्पित गरेको गुन नेपाली खेलकुदको इतिहासमा सधैं स्वर्णाक्षरले लेखिइरहने छ ।
दुई कार्यकाल सदस्य र एक कार्यकाल कोषाध्यक्षको रूपमा काम गरिसकेकी माली नेपाल भलिबल संघमा हाल सचिव पदमा रहेर क्रियाशील छिन् । जुनसुकै पद र जिम्मेवारीमा भए पनि माली महिला भलिबल उकास्ने अभियानमा बढी केन्द्रित छन् । रमिला तण्डुकार, रेश्मा भण्डारी, कृपा अधिकारी, सलिना श्रेष्ठ, प्रगति नाथ, एन्जिला प्रधान, रीमा कुुवँर, सुमित्रा रेग्मीलगायतका खेलाडी नेपाली महिला भलिबलले पाउनुमा उनको योगदान पनि कम छैन ।
इमानदार भएर प्रतिबद्ध प्रयास गरे सबथोक सम्भव छ भन्ने सन्देश नेपाली खेलकुदमा मालीहरूकै कारण प्रवाह भएको छ । अर्थात स-साना नानीहरूको टोली न्यु डायमण्डले नेपाली महिला भलिबलमा आफूलाई सधैं अब्बल रूपमा प्रस्तुत गरिरहेको छ । अनि तिनै स-साना नानीहरूको बीचबाट राष्ट्रिय टोलीका लागि जब्बर, परिपक्व र प्रतिभावान स्टार नामहरू दिइरहेको छ ।
एउटा निजी विद्यालयको सञ्चालक हुनाका बावजुद व्यक्तिगत व्यावसायिक नाफाघाटाको हिसाबकिताब थाँती राख्दै मालीले समग्र महिला खेलाडीको अभिभावकका रूपमा आफूलाई भलिबलमा समर्पित गरेको गुन नेपाली खेलकुदको इतिहासमा सधैं स्वर्णाक्षरले लेखिइरहने छ । महिला भलिबलले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा रवाफिलो उपस्थिति जनाइरहँदा मालीको योगदानप्रति कृतज्ञता जाहेर गरिरहेको हुनेछ ।
टीएस ठकुरी
नेपालगन्जमा अचेल प्रधानमन्त्री कप महिला भलिबल हुन छाडेको धेरै भइसक्यो । २०७० सालबाट प्रधानमन्त्री कप गर्न थालेको थियो । जुन २०७९ पछि हुन सकेको छैन । केन्द्रले नै महिला भलिबलमा थुप्रै कार्यक्रम गर्न थालेपछि आयोजकले त्यसलाई निरन्तरता दिएको छैन ।
महिला भलिबल सामान्य गतिविधिमा रुमल्लिइरहे पनि भविष्यका लागि देखाएको अपार सम्भावनामा मलजल गर्न बाँके जिल्ला भलिबल संघले २०६५ सालमा प्रतियोगिता आयोजना सुरु गरेको थियो । राजधानीमा भलिबलका गतिविधि शून्यजस्तै हुँदा नेपालगन्जमा प्रतियोगिता गर्ने । त्यो पनि महिलाको, सुन्दै चुनौतीपूर्ण थियो । तर यो चुनौती मोल्ने र त्यसलाई पार लगाउने अभियानका नेता थिए, टंकसिंह (टीएस) ठकुरी ।
नेपाल भलिबल संघको प्रशासनिक पिरामिडमा विभिन्न भूमिकामा रहेर काम गर्ने क्रममा ठकुरीले यो खेलभित्रका अँध्यारा पक्ष उजागर गर्दै कलमको समेत प्रयोग गरेर सुशासनको पक्षमा लामो समय लबिइङ गरे ।
स्थानीय स्तरका पूर्वखेलाडी तथा रेफ्री ठकुरी खासमा पत्रकार हुन् । पत्रकारितामा लाग्नुअघि उनी सरकारी विद्यालयका स्थायी जागिरे शिक्षक थिए । खेलकुदको मोहले उनलाई पत्रकारितामा ल्यायो । भलिबलसँगको सम्बन्धले उनलाई फेरि पत्रकारिता त्याग्दै प्रतियोगिता आयोजक बनायो । उनी त्यतिबेला बाँके जिल्ला भलिबल संघका अध्यक्ष थिए ।
पछि भलिबल संघको केन्द्रीय सचिवसम्म भएका ठकुरी अचेल नेपालगन्जमा आफ्नो निजी कम्पनी क्रिएटिभ ह्यान्ड्समार्फत खेलसाहित्य र म्याराथनका गतिविधि प्रवद्र्धन तथा प्रतियोगिता आयोजनामा व्यस्त छन् । उनकै नेतृत्वमा सुरु भएको नेपालगन्ज म्याराथनले सफलताका सात संस्करण पूरा गरिसकेको छ ।
नेपाल भलिबल संघको प्रशासनिक पिरामिडमा विभिन्न भूमिकामा रहेर काम गर्ने क्रममा ठकुरीले यो खेलभित्रका अँध्यारा पक्ष उजागर गर्दै कलमको समेत प्रयोग गरेर सुशासनको पक्षमा लामो समय लबिइङ गरे । महिला भलिबलमा नेपालले उचाइ लिँदै गर्दा सुरुआती दिन सम्झिने हो भने जग हाल्ने क्रममा ठकुरीहरूले हालेका प्रत्येक इँट्टाको भूमिका अहिले पनि उत्तिकै छ ।
रीता कोइराला
मोफसलको नेपालगन्जमा रहेर राष्ट्रिय भलिबलका लागि आफूलाई समर्पित गर्ने एउटा सिपाहीको नाम हो, रीता कोइराला । खेलकुद र सामाजिक काममा रुचि राख्ने भएकै कारण कोइराला २०७० सालमा बाँके जिल्ला भलिबल संघसँग आबद्ध भएकी थिइन् ।
मिहिनेत, लगन र फरासिलो स्वभावकी कोइरालालाई भलिबलको प्रशासनमा छिर्नुको मात्र देरि थियो । एकपटक जिल्ला स्तरमै भए पनि आधिकारिक रूपमा भलिबल प्रशासनमा प्रवेश गरेपछि महिला भलिबलमा केही गर्ने उनको हुटहुटी झन बढ्न थाल्यो । टीएस ठकुरीको नेतृत्वमा नेपालगन्जमा महिला बिच भलिबल र प्रधानमन्त्री कप आयोजना गर्दा उनले आफूलाई एउटा कुशल व्यवस्थापकका रूपमा प्रमाणित गरिन् ।
भलिबलमा उनको सक्रियता र समर्पण हेर्दा लाग्छ, यस्तै स्वयंसेवीहरू छन् र त नेपालमा खेलकुद भन्ने चिज अझैसम्म बाँकी छ ।
त्यसपछि नेपाली भलिबलको महिला विभागलाई हाँकिरहेकी निरोज मास्केको प्रभाव उनमा झनै पर्यो । केही वर्षमा उनले आफूलाई नेपाली भलिबलमा सुशासनको पक्षमा वकालत गर्ने एउटा अभियन्ताका रूपमा स्थापित गरिन् । महिला खेलाडीका प्रत्येक अप्ठेराहरुमा सँगै लडिन् । महिला भलिबललाई अगाडि बढाउने प्रत्येक प्रयासमा पूर्ण रूपले आफूलाई समर्पित गरिन ।
नेपालको भलिबलले सञ्चार माध्यमहरूमा खास महत्व पाइरहेको थिएन । भलिबललाई एउटा आकर्षक ‘प्रोडक्ट’का रूपमा स्थापित गर्नका लागि सञ्चारमाध्यममा कभरेज अत्यावश्यक थियो । यो तथ्य बुझेकी कोइरालाले लामो समय मिडिया व्यवस्थापनको काम पनि गरिन । सञ्चारकर्मीलाई भलिबलसँग जोड्ने अभियानमा सहजकर्ताको रूपमा उनले गरेको भूमिका पत्रकार अहिले पनि सम्झिन्छन् । पछिल्लो समय नेपाली भलिबलमा भइरहेका केही प्रतियोगितामा भलिबल र मिडियाको बीचमा कोइरालाको उपस्थिति छैन । उनको अनुपस्थिति प्रेस बक्समा निकै खड्किइरहेको रिपोर्टिङमा जाने पत्रकारको अनुभव छ ।
महिला राष्ट्रिय टोलीमा लामो समय व्यवस्थापकका रूपमा काम गरेकी उनी अहिले नेपाल भलिबल संघको कुनै आधिकारिक जिम्मेवारीमा छैनन् । अघिल्लो कार्यकालमा संघको केन्द्रीय सदस्य रहेकी उनी हाल बाँके जिल्ला भलिबल संघमा उपाध्यक्ष छन् ।
नेपालको खेलकुदमा महिला भलिबललाई अगाडि बढाउने क्रममा प्रत्येक कालखण्डमा उनी कुनै न कुनै रूपमा जोडिइरहेकी नै छिन् । भलिबलमा उनको सक्रियता र समर्पण हेर्दा लाग्छ, यस्तै स्वयंसेवीहरू छन् र त नेपालमा खेलकुद भन्ने चिज अझैसम्म बाँकी छ ।
जगदीश भट्ट
नेपालको महिला भलिबलले पछिल्ला पाँच वर्षमा हासिल गरेका सबैखाले उपलब्धिका मुख्य कमान्डर हुन्, जगदीश भट्ट । कुनै बेलाका स्टार खेलाडी भट्टले महिला राष्ट्रिय टिममा मुख्य प्रशिक्षकका रूपमा कमान सम्हालेको लामो समय भइसक्यो ।
उनकै नेतृत्वमा नेपालले काभा महिला च्याम्पियनसिपमा दुई पटक स्वर्ण पदक तथा दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेको थियो । त्रिपुरेश्वरको कभर्डहलमा भर्खरै सम्पन्न काभा महिला नेसन्स लिग दौरान नेपाली महिला भलिबल टोलीले छिमेकी महारथी भारतमाथि ऐतिहासिक जित दर्ता गर्दाका रणनीतिकार पनि भट्ट नै हुन् ।
नेपालको भलिबलमा भट्टको प्रारम्भिक खोजबाट आएका थुप्रै खेलाडीले अहिले राष्ट्रिय टिममा समेत राज गरिरहेका छन् ।
राष्ट्रिय टोलीमा मुख्य प्रशिक्षकको भूमिकामा गरेको कामका आधारमा मात्र मूल्यांकन गरियो भने त्यो भट्टको योगदानप्रति अन्याय हुनेछ । उनी त आफ्नै व्यक्तिगत प्रयासमा सुदूरपश्चिमका कुनाकाप्चासम्म पुगेर प्रतिभा खोज गर्दै तिनलाई निखारेर राष्ट्रियस्तरमा ल्याउने एकजना ग्रासरुट अभियन्ता पनि हुन् ।
आफूले खेल्न छोडेलगत्तै गृहनगर कञ्चनपुरको महेन्द्रनगरमा एकेडेमी स्थापना गरेर सयौं खेलाडी उत्पादन गर्ने गुरु हुन्, भट्ट । नेपालको भलिबलमा भट्टको प्रारम्भिक खोजबाट आएका थुप्रै खेलाडीले अहिले राष्ट्रिय टिममा समेत राज गरिरहेका छन् । राष्ट्रिय महिला टिमका स्टार नामहरू सरस्वती चौधरी र पुनम चन्द पनि उनकै प्रारम्भिक खोजका नतिजा हुन् ।
महिलामा मात्र नभई पुरुष भलिबलको उत्थानमा पनि भट्टको योगदान उत्तिकै छ । महिला टोलीलाई चाहिँ आफैंले मुख्य प्रशिक्षकको रूपमा ठूला अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधिको लायक बनाउन भट्टले गरेको मिहिनेतको फल दिन थालेको छ ।
ज्ञानुबाबा/फिस्टेल
नेपालमा भलिबलमात्र यस्तो खेल हो, जहाँ पुरुषको तुलनामा महिलाको क्रेज बढी छ । उपलब्धि बढी छ । खेलकुदमा छोरीहरूको प्रवेशमै थुप्रै बाधाहरू हाल्ने समाजमा पुरुषभन्दा महिला भलिबलको ब्रान्ड किन बलियो भयो ?
यसका धेरै कारण होलान् । तर पोखराका दुई शैक्षिक संस्था ज्ञानुबाबा र फिल्टेल एकेडेमीको नाम बिर्सियो भने नेपाली महिला भलिबलको कथा पूरा हुँदैन । अझ महिला भलिबलको ब्रान्डिङमा यी दुई स्कुलले गरेको योगदान त सबैभन्दा महत्त्वपूर्ण छ । सबैभन्दा निर्णायक छ ।
हालको गण्डकी प्रदेशका कास्की, पर्वत, म्याग्दी, बाग्लुङ, लमजुङलगायतका ठाउँमा भलिबलको क्रेज थेगिनसक्नु थियो, छ । भलिबल त्यहाँको जीवनशैलीमै भएको खेल हो । खेलभन्दा माथि यो त्यो क्षेत्रमा मनोरन्जनको साधन हो । स्थानीयस्तरमा आफ्नो ठाउँको धाक स्थापित गर्ने माध्यम हो । तर नेपालमा राष्ट्रिय स्तरमा भने भलिबल भन्ने खेल सुसुप्त अवस्थामा थियो ।
नेपाली महिला भलिबलको ब्रान्डिङमा नायकको भूमिका निर्वाह गर्ने वर्तमान राष्ट्रिय टिमकी कप्तान अरुणा शाही, पूर्व उपकप्तान मन्जु गुरुङ, भलिबल सुन्दरी सिपोरा गुरुङ र परीक्षा गुरुङहरू यिनै दुई स्कुलका उत्पादन हुन् ।
अनौपचारिक रूपमा देशका सबै कुनाकाप्चामा खेलिने भए पनि नेपाल भलिबल संघको पिरामिडभित्र रहेर कुनै गतिविधि हुँदैनथे । त्यही टीठलाग्दो समयमा यिनै दुई स्कुलले तत्कालीन पश्चिमाञ्चल विकास क्षेत्रमा छरपष्ट भलिबल संस्कारलाई एउटा आकार दिने काम गरेका थिए । पोखराका यी दुई स्कुलको भलिबलप्रेमले केही यस्ता स्टार नाम दियो, जसले नेपाली महिला भलिबललाई ग्ल्यामर्स बनायो । एकाएक उच्चस्तरमा ब्रान्डिङ गरायो । प्रायोजक र दर्शकको ध्यान पर्याप्त मात्रामा तान्यो ।
हो, नेपाली महिला भलिबलको ब्रान्डिङमा नायकको भूमिका निर्वाह गर्ने वर्तमान राष्ट्रिय टिमकी कप्तान अरुणा शाही, पूर्व उपकप्तान मन्जु गुरुङ, भलिबल सुन्दरी सिपोरा गुरुङ र परीक्षा गुरुङहरू यिनै दुई स्कुलका उत्पादन हुन् । वर्तमान राष्ट्रिय टिमकी स्टार स्पाइकर सरस्वती चौधरीले पनि सुदूरपश्चिमबाट पोखराकै फिस्टेलमा आएर आफूलाई थप निखारेकी थिइन् ।
भव्यताका साथ हुने वीरेन्द्र रनिङ सिल्डको महत्व बुझेका यी दुई टिमले त्यहीअनुसार मिहिनेत गर्दा ज्ञानुबाबाबाट मन्जु, परीक्षा र अरुणा तथा फिस्टेलबाट सिपोरा र सरस्वतीजस्ता सुपरस्टार नाम नेपाली भलिबलले पायो ।