इङ्लिस खेलाडीमाथि भएको रंगभेदी व्यवहारमा फिफाको छानविन

बुदापेस्ट, (खेलाडी)- फिफाले बिहीबार विश्वकप छनोट २०२२ अन्तर्गत हंगेरीविरुद्धको खेलमा इङ्ल्यान्डका खेलाडीमाथि भएको रंगभेदी व्यवहारको गुनासोमाथि छानबिन सुरु गरेको छ ।

हंगेरीविरुद्ध ४-० को जित हात पारेको खेलमा रहिम स्टर्लिङमाथि घरेलु समर्थकले रंगभेदी व्यवहार गरेको भन्दै इङ्लिस खेलाडीहरुले गुनासो गरेका थिए । स्टर्लिङलाई उनीहरुले ‘बाँदर’ भन्दै गिज्याउनुका साथै भ्रमणकारी टोलीका खेलाडीलाई लक्षित गर्र्दै मैदानमा प्लास्टिकका कप र बोतल फालेका थिए ।

इङ्ल्यान्डले आफ्ना खेलाडीमाथि भएको यो घटना क्षम्य नहुने बताइसकेको छ । 

‘यो स्विकार गर्नै नसक्ने घटना हो,’ चेल्सीका मिडफिल्डर मेसन माउन्टले भने, ‘यस्तो घटनाको छानविन गरि दोषीमाथि कारबाही हुनुपर्छ । प्रतिबन्ध सम्मको सजाय आवश्यक छ ।’

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले समेत फिफालाई बिहीबारको घटनाको सत्यतथ्य छानविन गर्दै दोषीमाथि कारबाही गर्न आग्रह गरेका थिए ।