श्याम थापा विशेष

श्याम थापा: हाम्रा पनि ‘फुटबल रत्न’

काठमाडौं । नेपाली फुटबलले पाएका र सुनेका सबैभन्दा ठूला नाममा पर्छ, श्याम थापा । अझ उनका पुस्ताका फुटबल खेलाडी र समर्थक मात्र होइन, आम मानिसलाई सोध्नुपर्छ, श्याम थापा नेपालमा जन्मेर फुटबल खेलेकामध्ये सबैभन्दा अद्वितीय छन् । भलै, उनले भारतका लागि फुटबल खेले । धेरै नाम कमाए । तर नेपाली फुटबलप्रति उनको उत्तिकै गुन छ । उनी नेपाललाई माया गर्ने र नेपाली भनेपछि हुरुक्क हुने अनि नेपालसँग आफू जोडिएकामा खुसी र गर्व दुवै गर्ने व्यक्तित्व हुन् ।

फेरि फुटबल भनेपछि यसले देशको सीमा पनि काट्ने गर्छ । उनी गुल्मीमा जन्मेका थिए । पछि भारतलाई आफ्नो कर्मथलो बनाए । भारतीय फुटबलमा पनि उनको उच्च सम्मान छ । भारतीय संस्कृतिको एउटा निकै राम्रो बानी के हो भने त्यहाँ आफूले मान्नुपर्ने गुरुवर्गलाई खुट्टा नै ढोग्ने चलन छ । अझै पनि हामी कोलकाता जानुपर्छ, श्याम थापालाई यसरी ढोगेर नै सम्मान गर्नेहरूको कमी छैन । फेरि उनी आफैं पनि उत्तिकै भलाद्मी मान्छे हुन्, सबै प्रकारको सम्मानका हकदार ।

नेपालप्रति माया र सम्मान गर्न श्याम थापाले कहिले पनि कन्युस्याइँ गरेनन् । त्यसैले त उनी नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकको भूमिका निर्वाह गर्न काठमाडौं आए । उनी जति समय नेपाल बसे, नेपाली फुटबल सपार्न दिनरात नै खटे । उनको सपना नै थियो, नेपाली फुटबलले सफलता चुमोस् । उनी चाहन्थे, नेपाली फुटबलमा पनि स्टार खेलाडीहरूको जन्म होस्, जसले केही नभए पनि दक्षिण एसियामा आफ्नोधाक जमाओस् ।

हिजो श्याम थापालाई कोलकाताको प्रसिद्ध मोहन बगान टिमले सम्मान गर्यो, ‘मोहनबगान रत्न’ बाट । उनी आफू यस अवार्डबाट सम्मानित हुन पाएकोमा खुसी छन् र गर्व महसुस भएको प्रतिक्रिया दिएका छन् । 
उनी मोहन बगान रत्नमात्र होइनन्, हाम्रो आफ्नै नेपाली फुटबलका पनि ‘रत्न’ हुन् । नेपाली फुटबललाई पुर्याएको योगदानका लागि पनि हामीले उनलाई सम्झिनुपर्छ ।

यही अवसरमा खेलाडी डटकमले आदरणीय श्याम थापाको सम्मानमा केही आलेख तयार पारेको छ । त्यसलाई सविस्तार पस्कने प्रयास गरेका छौंः  


श्याम थापाको मन्त्र, ‘नानी हो, दुई सय प्रतिशत फिट हुनु’

तस्बीरः सुन्दर श्रेष्ठ

श्याम थापा नेपाली मूलका फुटबल खेलाडीमध्ये इतिहासकै सबैभन्दा उत्कृष्ट मानिन्छन् । गुल्मीमा जन्मिए पनि हाल रुपन्देहीको भैरहवामा पुर्ख्यौली थातथलो सारेका थापाले लामो समय भारतीय राष्ट्रिय टोलीबाट फुटबल खेले । भारतीय फुटबलका महारथी क्लबद्वय इस्ट बंगाल र मोहन बगानले सधैं सम्झिइरहने स्टार खेलाडी हुन् उनी । परिस्थितिले भारतीय नागरिकता लिनु परेका थापाले आफ्नै देश नेपालका लागि अन्तर्राष्ट्रिय फुटबल खेल्न पाएनन् । तर करियरको उत्तराद्र्धमा उनले ब्वाइज युनियन क्लबबाट नेपालमा थुप्रै नकआउट प्रतियोगिता भने खेले ।

नेपाली फुटबलको सेवा गर्ने हुटहुटीमा क्लब स्तरमा खेलेको फुटबलबाट धित मरेको थिएन । खेल्न छाडेपछि प्रशिक्षकको भूमिकामा रहेर थुप्रै श्याम थापा उत्पादन गर्ने उद्देश्यसहित सन् २००४ मा नेपाल फर्किए । झन्डै चार वर्ष प्रशिक्षकको जिम्मेवारीका साथ नेपालमा रहँदा उनले उमेर समूहदेखि राष्ट्रिय टोलीसम्मको सफल नेतृत्व गरे । दीर्घकालसम्म नेपाली फुटबललाई आन्तरिक रूपमै बलियो बनाउन सकिने खाकाहरू बनाए ।

सन् २००४ मा मलेसियामा भएको एएफसी यु-२० एसियन कपबाट नेपाली फुटबलमा प्रशिक्षकको हैसियतमा थापाको कार्यकाल सुरु भएको थियो । एसियाली स्तरमा नेपाली फुटबलले छनोट भएर खेलेको त्यो पहिलो प्रतियोगिता थियो । जहाँ भियतनामलाई पहिलो पटक हराएर युवा टोलीले सनसनी मच्चाउँदा थापाको प्रशिक्षण गराउने शैली, खेलाडीमा उर्जा भर्ने व्यक्तित्व र आधुनिक फुटबलमा विपक्षीअनुसार उनले बनाउने रणनीति मुख्य कारण थियो ।

मलेसियामा नेपालले पहिलो खेलमै केही महिनाअघिमात्र ओलम्पिक खेलेर फर्किएका खेलाडीहरूको बाहुल्य रहेको जापानसँग प्रतिस्पर्धा गर्नुपर्ने थियो । अन्तर्राष्ट्रिय स्तरमा नेपाली फुटबलको छवि राम्रो थिएन । एसियन कपको छनोट खेलमा दक्षिण कोरियासँग नेपाली राष्ट्रिय टोली १६-० को अन्तरमा पराजित भएको भर्खर दुई वर्षमात्र भएको थियो । उमेर समूहको यो खेलमा पनि जापानसँग भिड्दा फराकिलो हार भोग्नुपर्ने भय थियो ।

तर, थापाको प्रेरणादायी साथ पाएको युवा टोलीले त्यो भयमाथि जित हासिल गर्यो । खेल ३-० को अन्तरमा हारे पनि नेपाली युवाहरूको प्रदर्शनको व्यापक तारिफ भयो । दोस्रो खेलमा भियतनाम नेपालको प्रतिद्वन्द्वी थियो । भियतनाममाथि पनि नेपालले त्यसअघि कहिल्यै जित हासिल गर्न सकेको थिएन । शारीरिक र प्राविधिक दुवै पक्षमा भियतनामको टोली नेपालभन्दा माथि थियो । तर, नेपालले त्यो खेल १-० को अन्तरमा जित्यो । पूरा समय भियतनामले बलमाथि पकड जमाउनाका बावजुद नेपालले त्यो खेल जितेको थियो ।

खेलको ६३औं मिनेटमा प्राप्त पेनाल्टीमा प्रदीप महर्जनले गरेको गोल नेपाललाई ऐतिहासिक जित दिलाउन पर्याप्त रह्यो । सुरुदेखि नै निकै दबाब झेलेको नेपाली रक्षापंक्तिले गोल गरेपछि त झनै थेगिनसक्नु विपक्षी दबाबको सामना गर्नुपर्यो । तर कप्तानका रूपमा टिमको नेतृत्व गरिरहेका गोलकिपर विकास मल्ल र सेन्ट्रल रक्षक लोकबन्धु गुरुङसहितको असाधारण प्रदर्शनले बाँकी २७ मिनेट नेपालको पोस्ट सुरक्षित राखिरह्यो ।

उनी खेलाडीलाई ‘आधुनिक फुटबलमा सय प्रतिशत फिटनेसले पुग्दैन । नानी हो तिमीहरू दुई सय प्रतिशत फिट हुनपर्छ’ भन्थे । त्यहीअनुसार उनले युवा टोलीलाई एसियन कपका लागि तयार पारेका थिए ।

अन्तिम खेलमा घरेलु टोली मलेसियासँग खेल्नु थियो । जहाँ जापानसँग जस्तै ३-० को हार भोगेपछि नेपालको प्रतियोगिता यात्रामा पूर्णविराम लाग्यो । वास्तवमा नेपाल त्यो प्रतियोगितामा नकआउट चरण पुगौंला भन्ने आशा लिएर गएको पनि थिएन । त्यसैले भियतनाममाथिको जितमा नेपाली फुटबलले बोनस उपलब्धि देख्यो । थापाको प्रेरणादायी नेतृत्वले एसियाली स्तरमा पनि नेपालको उपस्थितिलाई निरीह बन्न दिएन । प्रशिक्षकको रूपमा सफलताका लागि थापाका केही मन्त्र थिए ।

उनी खेलाडीलाई ‘आधुनिक फुटबलमा सय प्रतिशत फिटनेसले पुग्दैन । नानी हो तिमीहरू दुई सय प्रतिशत फिट हुनपर्छ’ भन्थे । त्यहीअनुसार उनले युवा टोलीलाई एसियन कपका लागि तयार पारेका थिए । आफूभन्दा बलियो टोलीसँग खेल्नका लागि उनको प्रस्ट रणनीति थियो । रक्षापंक्तिबाट गोलकिपर वा रक्षकले बल पाउँदा छोटो पास नखेल्ने । सोझै लामो प्रहार गर्ने । अग्ला प्रदीप महर्जनले त्यो बललाई हेडमार्फत फ्लिक गरेर अगाडि बढाउने ।

अनि तीव्र गतिका युगलकिशोर राईले गोल गर्ने वा गोलको अवसर सिर्जना गर्ने । आफूभन्दा बलियासँग खेल्दा रक्षापंक्ति जब्बर बनाएर काउन्टर अट्याकमा गोलको अवसर खोज्ने । उनका रणनीति यस्तै हुने गर्थे । फिटनेस, रणनीति र क्षमताले मात्र फुटबलमा नतिजा निकाल्न सकिँदैन भन्ने ज्ञान थापामा नहुने कुरै भएन । फुटबल जति शरीर र दिमागले खेलिन्छ, त्यति नै मनले पनि खेल्नुपर्ने उनको बलियो बुझाइ थियो । फुटबलमा सफलताका लागि राष्ट्रियता र टिमप्रतिको समर्पणभाव चाहिन्थ्यो ।

खेलाडीमा त्यो भावना जगाउन नसकेसम्म सफलता आशा गर्न सकिन्न भनेर उनले युवा खेलाडीलाई युद्धमा जान लागेका सिपाहीझै तयार गरेका थिए । मलेसियामा गरेको उच्च प्रदर्शन त्यसैको नतिजा थियो । ‘प्रत्येक दिन अभ्यासमा र खेलअघि अनि हाफटाइममा श्याम सरको ब्रिफिङ निकै जोसिलो हुन्थ्यो । देशका लागि खेल्न मैदान छिर्दा ज्यान गए पनि जाओस्, तर खेल चाहिँ हार्नुहुन्न । आफ्नो तर्फबाट शतप्रतिशतभन्दा बढी मिहिनेत गर्नुपर्छ भन्ने भावना उहाँले प्रत्येक खेलमा भरिदिनुहुन्थ्यो,’ युथ एसियन कपको टोलीका मुख्य खेलाडीमध्ये एक प्रलय राजभण्डारी सम्झन्छन् ।

उनी थप्छन्, ‘उहाँको ब्रिफिङ सुनेर मैदान छिरेपछि ज्यान दिएर भए पनि टिमका लागि केही गरौं जस्तो लाग्थ्यो । खेलका दौरान भिडेरै मरें भने पनि देशका लागि गौरवमय मृत्यु हासिल गर्छु भन्ने भावना हुन्थ्यो । त्यसैले हामीले आफूभन्दा माथिका टिमसँग पनि राम्रो प्रदर्शन गरेका थियौं ।’

एएफसी च्यालेन्ज कप: पेनाल्टीमा चुकेको अवसर

तस्बीरः सुन्दर श्रेष्ठ

प्रशिक्षकका रूपमा श्याम थापाको पहिलो यात्रा थियो एएफसी च्यालेन्ज कप । नेपाली फुटबलका लागि यो यस्तो प्रतियोगिता रह्यो, जसमा नेपाल उपाधिको धेरै नजिकजस्तै पुगेको थियो । तर पछि अनुभव भयो, यो त अझै टाढा रहेछ । एसियाली फुटबल महासंघ (एएफसी)ले सम्पूर्ण महादेशको फुटबल समानुपातिक ढंगमा अगाडि बढाउने योजनाअनुसार क्लब स्तरमा र अन्तर्राष्ट्रिय स्तरमा दुई नयाँ प्रतियोगिता सुरु गरेको थियो, जुन आफैंमा राम्रो थियो ।

एएफसीको सदस्यमध्ये वरीयताका आधारमा तेस्रो श्रेणीको मानिएका देशबीचको क्लब प्रतियोगिता एएफसी प्रेसिडेन्ट्स कप अघिल्लो वर्ष नै काठमाडौंबाट सुरु भइसकेको थियो । राष्ट्रिय टोलीहरू खेल्ने एएफसी च्यालेन्ज कप भने सन् २००६ मा बंगलादेशबाट सुरु भयो । कुल १६ टोली सहभागी रहेको प्रतियोगितामा नेपाल समूह ‘बी’ मा श्रीलंका, ब्रुनाई र भुटानसँग परेको थियो । समूहको पहिलो खेलमा प्रदीप महर्जनको दुई गोलमा नेपालले भुटानलाई २-० को नतिजामा हरायो ।

दोस्रो खेलमा ब्रुनाईसँग २-१ को नतिजामा पराजित भयो । नेपालका लागि त्यो खेलमा रक्षापंक्तिका खेलाडी टासी छिरिङले गोल गरेका थिए । समूहको तेस्रो खेलमा सुरुमा पछि परिसकेको अवस्था उल्टाउँदै श्रीलंकासँग १-१ को बराबरी नतिजा निकाल्दै नेपाल क्वार्टरफाइनल पुग्यो । खेलको १९औं मिनेटमा गोल खाएको नेपालका लागि प्रदीपले समय सकिन १५ मिनेट बाँकी रहँदा पेनाल्टीमा गोल गर्दै अन्तिम आठको ढोका खोलेका थिए ।

क्वार्टरफाइनलमा नेपालको प्रतिद्वन्द्वी थियो, छिमेकी भारत । भारतको राष्ट्रिय टोली एएफसी एसियन कपको तयारीमा थियो । त्यसैले भारतले च्यालेन्ज कपमा अनुभवका लागि २० वर्षमुनिको युवा टोलीलाई सहभागी गराएको थियो । तथापि भारत नेपालका लागि जुनसुकै स्तरमा पनि सधैं कठिन प्रतिद्वन्द्वी बन्ने गरेको थियो । तर, क्वार्टरफाइनलमा नेपाली राष्ट्रिय टोलीले प्रदीपको दुई तथा कप्तान वसन्त थापाको एक गोलमा भारतमाथि ३-० को प्रभावशाली जित हासिल गर्यो ।

अब नेपाल एसियाली स्तरको प्रतियोगिताको उपाधिभन्दा दुई जितको मात्र दुरीमा पुगेको थियो । सेमिफाइनलमा नेपालले श्रीलंकासँग खेल्नुपर्ने भयो । जहाँ नेपाली टोलीका तत्कालीन नम्बर एक खेलाडी प्रदीप दुई पटकसम्म पेनाल्टीमा चुक्दा नेपाल फाइनल पुग्नबाट पनि वञ्चित भयो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपछि ६५औं मिनेटमा श्रीलंकाले खेलमा अग्रता लियो । कप्तान वसन्त थापाले समय सकिन आठ मिनेट बाँकी रहँदा गोल गरेर खेल बराबरीमा ल्याए ।

टिममा पेनाल्टी हान्न पाँच जना खेलाडी पनि पुगेन । कसैले आँट गरेन । त्यसपछि श्याम सरले मलाई बाबु मन दरिलो बनाएर हान । राम्ररी हान, गोल हुन्छ, आँट गर भन्नुभयो । त्यसपछि मैले हानेको हो ।

अब कम्तीमा अतिरिक्त समय हुँदै पेनाल्टी शुटआउटसम्म खेल धकेलिने भयो । यत्तिकैमा समय सकिनलाग्दा नेपालले पेनाल्टीको मौका पायो । नेपाली टोलीबाट पेनाल्टी प्रहारका लागि पहिलो नम्बरमा प्रदीप थिए । उच्च फर्ममा रहेका प्रदीपले प्रतियोगितामा ५ गोल गरिसकेका थिए ।

समूह चरणको खेलमा श्रीलंकाविरुद्ध नै उनले पेनाल्टीमा गोल गरेका थिए । तर सेमिफाइनलमा उनको प्रहार चुक्यो । नेपालले अतिरिक्त समयमा भाग्य खोज्नुपर्यो । अतिरिक्त समयमा पनि नतिजा निस्किएन ।

टाइब्रेकरमा प्रदीपलाई पेनाल्टी प्रहार गर्ने मन थिएन । अघिल्लो पेनाल्टी चुक्दाको निराशाबाट उनी उम्किनै सकेका थिएनन् । तर, टिममा अन्य साथीहरुले आँट नगर्दा उनी फेरि पेनाल्टी प्रहारका लागि बाध्य पारिए । श्रीलंकाले पहिलो चार पेनाल्टीमा गोल गरिसकेको थियो । नेपालका तर्फबाट अञ्जन केसी, टासी र नवीन न्यौपानेले पहिलो तीन प्रहारमा गोल गरेका थिए । चौथो प्रहार गर्ने जिम्मेवारी प्रदीपलाई दिइयो । उनको प्रहार फेरि खेर गयो ।

पाँचौं पेनाल्टीमा श्रीलंकाले गोल गर्दै फाइनलको यात्रा पक्का गर्यो । फाइनलमा श्रीलंकामाथि ४-० को जित हासिल गर्दै ताजकिस्तानले पहिलो च्यालेन्ज कपको उपाधि कब्जा गर्यो । नेपालचाहिँ दुर्भाग्यजनक रूपमा दुई पटक पेनाल्टी खेर जाँदा फाइनल पुग्ने मौकामा चुक्यो ।

‘मलाई त्यो दिन बिहानैदेखि त्यति राम्रो लागेको थिएन । तथापि पेनाल्टी नै मिस होला भनेर सोचेको चाँही थिइनँ । तर निर्धारित समयमा त्यो पेनाल्टी हान्ने बित्तिकै गोल हुँदैन भन्ने मलाई थाहा भइहाल्यो । नभन्दै बल माथिबाट बाहिरियो । मलाई अहिलेसम्म पनि त्यो पेनाल्टी किन गोल भएन, मैले कसरी त्यति कमजोर प्रहार गरेँ भन्ने लागिरहन्छ,’ प्रदीप सम्झन्छन्, ‘टाइब्रेकरमा म पेनाल्टी हान्नसक्ने अवस्थामै थिइनँ । मैले हान्दिनँ भनेको पनि थिएँ । तर टिममा पेनाल्टी हान्न पाँच जना खेलाडी पनि पुगेन । कसैले आँट गरेन । त्यसपछि श्याम सरले मलाई बाबु मन दरिलो बनाएर हान । राम्ररी हान, गोल हुन्छ, आँट गर भन्नुभयो । त्यसपछि मैले हानेको हो ।’

आत्मघाती गोल र कांस्यमै सीमित साग यात्रा

तस्बीरः सुन्दर श्रेष्ठ

दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) सन् २००६ मा श्रीलंकामा भएको १०औं संस्करणदेखि नाम फेरिएर दक्षिण एसियाली खेलकुद (साग) मा परिणत भएको थियो । सागको फुटबलमा पछिल्लो समय नेपालको प्रदर्शन बिर्सनलायक बनिरहेको थियो । त्यसैले श्रीलंकामा पदक जित्नैपर्ने मानसिक दबाब नेपाली टिममा थियो । यही चुनौतीलाई प्रशिक्षकका रूपमा स्वीकार्ने काम गरे श्याम थापाले । उनी भन्थे, दक्षिण एसियाली प्रतियोगितामा त नेपालले केही न केही जित्नैपर्छ ।

कोलम्बोस्थित सुगथादासा रंगशालामा नेपालले समूह ‘बी’ बाट विजेताका रूपमा सेमिफाइनलको ढोका खोल्यो । बंगलादेश र भारतसँग १-१ को बराबरी खेलेको नेपाल अफगानिस्तानमाथि ५-१ को रवाफिलो जित हासिल गर्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा नेपालको खेल पाकिस्तानसँग थियो । थापाका लागि त्यो खेल अर्को दुर्भाग्यजनक सेमिफाइनल बन्न पुग्यो । बंगलादेशमा अकल्पनीय तरिकाले प्रदीपको पेनाल्टी चुकेजस्तै यहाँ चाहिँ अञ्जन केसीले क्लियर गर्न खोजेको बल दुर्भाग्यजनक रूपमा आत्मघाती गोलमा परिणत भयो ।

यो आत्मघाती गोल कति धेरै असह्य रह्यो भने अञ्जन जति समय नेपाली फुटबलमा सक्रिय रहे, उनलाई यसले पछ्याइरह्यो । जतिले पनि उनलाई भेट्थे, प्रायले सोध्थे, ‘के भएको थियो हँ ?’ नेपाल लगातार दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलबाट बाहिरियो ।

जुमनु राईले ३०औं मिनेटमा गरेको गोलमा नेपालले पाकिस्तानविरुद्ध अग्रता लिइसकेको थियो । तर ५५औं मिनेटमा लेफ्टब्याक अञ्जनले पोस्टभन्दा झन्डै ३० यार्डको दुरीबाट क्लियर गर्न खोजेको बल आश्चर्यजनक रूपमा आत्मघाती गोलमा परिणत भयो । खेल बराबरीमा आयो । ७०औं मिनेटमा अर्को गोल गर्दै पाकिस्तानले फाइनलयात्रा तय गर्यो ।

अञ्जनलाई त्यही ठाउँबाट त्यही पोजिसनमा रहेर एक हजार पटक फेरि हान्न लगायो भने पनि बल पोस्टमा जाँदैन । तर त्यो नेपालको दुर्भाग्य नै थियो ।

‘अञ्जनलाई त्यही ठाउँबाट त्यही पोजिसनमा रहेर एक हजार पटक फेरि हान्न लगायो भने पनि बल पोस्टमा जाँदैन । तर त्यो नेपालको दुर्भाग्य नै थियो । त्यस्तो आश्चर्यजनक आत्मघाती गोल भयो,’ नेपालबाट रिपोर्टिङ गर्न पुगेका खेलपत्रकार निरञ्जन राजवंशीले नेपाल समाचारपत्रमा लेखेका थिए ।

उनको तर्क थियो, ‘प्रशिक्षकको कसिलो रणनीतिअनुसार पूरा समय खेल नेपालले नियन्त्रणमा राखेको थियो । तर फुटबलमा जित्नका लागि कहिलेकाहीँ भाग्यको पनि साथ चाहिँदोरहेछ । पाकिस्तानविरुद्ध सेमिफाइनलमा भाग्यले ठग्यो ।’

फाइनल पुग्नबाट वञ्चित नेपालले तेस्रो स्थानको प्लेअफमा भारतलाई २-० को नतिजामा हराएर कांस्य पदक हात पार्यो । कांस्य पदकका लागि भएको खेलमा नेपालका लागि जुमनु र प्रदीपले गोल गरेका थिए ।

विश्वकप छनोट: ‘वाज दी म्याच फिक्स्ड ?’

तस्बीरः सुन्दर श्रेष्ठ

नेपालले विश्वकप छनोट धेरैपल्ट खेलेको छ, तर यस संस्करणको विश्वकप छनोटलाई अहिलेसम्म पनि दोहोर्याएर सम्झिने गरिन्छ । यसका अनेक कारण छन् । यसमध्ये पनि प्रमुख कारण हो, टिमको राम्रो प्रदर्शन । धेरेको अपेक्षा थियो, नेपालले ओमानविरुद्ध धेरै गोल खाने छ । तर खाएन । सायद यो धेरैलाई पचेन कि ? विश्वकप २०१० को छनोटअन्तर्गत नेपालले ओमानसँग दुई लेगको प्लेअफ खेल्नु थियो । ओमानले लामो समयदेखि विशेष तयारी गरेको थियो ।

दक्षिण अफ्रिकामा हुने तय भएको विश्वकपमा छानिनका लागि भनेर ओमानले ठूलै सपना पालेको थियो । छनोट चरणको लागि ओमानले १ करोड डलरको बजेट बनाएको थियो । ओमान उसै पनि नेपालभन्दा माथिको टिम, त्यसमाथि विश्वकपमा छानिने लक्ष्यमा महत्त्वाकांक्षी योजना बनाएका कारण पनि श्याम थापाको नेपाली टोली दबाबमा थियो । हार निश्चित थियो । तर थोरैभन्दा थोरै गोल खानु नेपालको लक्ष्य थियो, जुन स्वाभाविक पनि थियो ।

उसैगरी विश्वकपलाई लक्ष्य बनाएको ओमान भने कमजोर नेपालमाथि जतिसक्दो फराकिलो जितको खोजीमा थियो । तत्कालीन समयमा नेपाल एसियाली वरीयताको ३९औं स्थानमा थियो भने ओमान १४औं स्थानमा । पहिलो लेग ओमानमा गएर खेल्दा नेपाल सबैको अनुमानविपरीत बलियो टिमलाई २-० को नतिजामा रोक्न सफल भयो । मानिसहरूले त्यो नतिजामा धेरैखाले षडयन्त्र देखे । कसैले भाग्यवश आएको नतिजाका रूपमा पनि त्यसलाई बयान गरे ।

यो खेलाडीले गरेको कडा मिहिनेतप्रति अन्याय र घृणा हो । संयोगवश त्यही नेपाली राष्ट्रिय टोलीमा प्रशिक्षकको हैसियतमा थापाको अन्तिम खेल बन्यो ।

दोस्रो लेगमा नेपालको फराकिलो हार निश्चित भएको आशयबाट विश्लेषणहरू गरिए । तर पहिलो लेगको २० दिनपछि सन् २००७ को अक्टोबर २८ मा दशरथ रंगशालामा भएको दोस्रो लेगमा पनि नेपालले ओमानलाई २-० कै नतिजामा रोक्यो । यो नतिजा यति धेरै अनपेक्षित थियो कि एकजना पत्रकारले पोस्ट म्याच कन्फरेन्समै ओमानी प्रशिक्षकलाई सोधे, ‘वाज दी म्याच फिक्स्ड ?’ अर्थात के यो खेलमा मिलेमतो थियो ?

र, यो घटनाले पूरा माहोल नै तनावपूर्ण बन्यो । धन्न ! प्रशिक्षक थापाले तत्काल धेरै प्रतिक्रिया दिएनन् । न त ओमानी प्रशिक्षकले यसबारे बोले । ओमानी प्रशिक्षकको भनाइ थियो, यस्तो माथिल्लो स्तरको फुटबलमा कहिले पनि हुन्न । यो प्रश्न पोस्टम्याच कन्फ्रेन्सबाट बाहिरिएर खेलाडीसम्म पुग्न पटक्कै समय लागेन । स्वाभाविक थियो, नेपाली खेलाडी रिसाए पनि । उनीहरूलाई लागेको थियो, यो खेलाडीले गरेको कडा मिहिनेतप्रति अन्याय र घृणा हो । संयोगवश त्यही नेपाली राष्ट्रिय टोलीमा प्रशिक्षकको हैसियतमा थापाको अन्तिम खेल बन्यो ।