श्याम थापा विशेष

श्याम थापा चाहन्थेः कोही दक्षिण एसियाली स्टार बनोस्

भारतीय फुटबलको यो एउटा यस्तो घटना हो, जसलाई धेरैले बारम्बार सम्झिने गर्छन् । अनि बारम्बार दोहोर्याएर यस घटनाबारे भन्ने गर्छन् । अझ यो यस्तो कथा हो, जुन एकपछि अर्को पुस्तामा सर्दै जानेछ, रोकिने छैन । सन् १९७० को दशक । उनको ख्यातिलाई जन्मभूमि (नेपाल) र कर्मभूमि (भारत) को सिमानाले थेग्न सकेको थिएन । दक्षिण एसियाली फुटबलमै श्याम थापालाई नम्बर एक खेलाडी भन्न कोही हिच्किचाउँदैन थिए ।

दक्षिण एसियाली फुटबलका ‘राजा’को चर्चा एसियाली स्तरमा पनि राम्रैसँग हुन्थ्यो । सन् १९७७ ताका पेलेको न्युयोर्क कसमस टिम भारत भ्रमणमा रहँदाको एउटा प्रसंग निकै चर्चित छ । पेलेको न्युयोर्क कसमस र थापाको मोहन बगानबीच कोलकातामा खेल थियो । दिन थियो, ठ्याक्कै सेप्टेम्बरको २४ तारिख । त्यसै पनि पश्चिम बंगाल भनेपछि फुटबलमा हुरुक्क हुनेहरूको स्थान । भनिन्छ, पेले तत्कालीन कोलकाताको विमानस्थलमा उत्रँदा उनलाई हेर्नमात्रै लाखौं फुटबलप्रेमी सडकमा उत्रेका थिए ।

अब त्यो खेल पनि त सक्दो सबैले हेर्ने नै भए । खेल भएको प्रसिद्ध रंगशाला इडेन गार्डेनमा । दर्शकको संख्या थियो ७५ हजार । मोहन बगान टिमका प्रशिक्षक थिए, पीके मुखर्जी । उनलाई भारतीय फुटबलले पाएका अहिलेसम्मकै सबैभन्दा ठूला खेलाडीमात्र होइन, प्रशिक्षक पनि मानिन्छ । खेल २-२ को बराबरीमा टुंगियो । जहाँ थापाले भारतीय टोलीका लागि गोल गरेका थिए । भनिन्छ, त्यतिबेला पूरा पश्चिम बंगालमा कहिले पनि नेदखिएको फुटबलको ज्वरो चढेको थियो ।

खेलको कथा यत्तिमै सकिन्न । खेलपछि भारतीय पत्रकारले पेलेसँग सोधे, ‘तपाईंको विपक्षी टिम कस्तो थियो ?’ त्यसमा पेलेको उत्तर थियो, ‘टिम त ठिकै हो । राम्रै थियो । तर जर्सी नम्बर २२ का खेलाडी चाहिँ असाधारण थिए ।’ 

हो, पेलेले भनेका ती असाधारण खेलाडी श्याम थापा नै थिए । दक्षिण एसियाली फुटबलमा त्यतिखेर ‘ब्याकभली किङ’ को उपनाम पाएका थापाले पेलेको टिमविरुद्ध पनि ब्याकभलीमै दर्शनीय गोल गरेका थिए ।

थापा आफैंमा उत्कृष्ट खेलाडी त थिए नै, पेलेको त्यस भनाइपछि उनको सम्मान अझ बढेको थियो । यो घटनाको प्रसंग उठ्नुपर्छ, अझै पनि थापालाई खुबै गर्व महसुस हुन्छ । आफ्नो विशिष्ट पाराले मुसुक्क हाँस्ने गर्छन् उनी । त्यो खेल भएको धेरै वर्षपछि जतिबेला उनी काठमाडौंमा थिए, यतातिरका पत्रकारले पनि प्रश्न सोधे, ‘पेलेको भनाइ त्यतिबेला तपाईंलाई कस्तो महसुस भयो ?’ उनले पनि फेरि दोहोर्याएर भने, ‘पेलेको त्यस्तो भनाइ सुनेर खुसी नहुने को होला र ?’

श्याम थापाले एक दशक भन्दा लामो समय दक्षिण एसियाली फुटबलमा राज गरे । उनीपछि अर्का थापा (गणेश) दक्षिण एसियाली फुटबलको सुपरस्टारका रूपमा उदाए । श्याम थापाको करियर उत्कर्षमा रहँदा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एवं अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष गणेश थापा भर्खर शीर्षस्तरको फुटबलमा प्रवेश गरेका थिए । जसै श्याम थापाको करियर ढल्कँदै गयो, उनलाई गणेश थापाले स्थानान्तरण गरे । रूपन्देहीको भैरहवाका थापाले फुटबलचाहिँ भारतका लागि खेले ।

पछिल्लो समयका सुपरस्टारहरू भाइचुङ भुटिया भर्खर बामे सर्दै थिए । सुनील क्षेत्रीहरू त जन्मिएकै थिएनन् । त्यतिबेला थापाले दक्षिण एसियाली फुटबलमा राज गरेका थिए । नेपालीपनको गौरवमय उपस्थिति जनाएका थिए ।

भारतीय सेनाका जागिरे बाबुका छोरा भएकाले परिस्थितिले नेपाली मनका श्यामलाई भारतीय राष्ट्रिय टोलीको सुपरस्टार बनायो । तर, कुनै बेला भारतीय टोलीको निर्विवाद सुपरस्टार हुँदा पनि थापाले भारतको कप्तान बन्ने सम्मान प्राप्त गर्न सकेनन् । पछिल्लो समयका सुपरस्टारहरू भाइचुङ भुटिया भर्खर बामे सर्दै थिए । सुनील क्षेत्रीहरू त जन्मिएकै थिएनन् । त्यतिबेला थापाले दक्षिण एसियाली फुटबलमा राज गरेका थिए । नेपालीपनको गौरवमय उपस्थिति जनाएका थिए ।

त्यसपछि सन २००० को दशकमा भाइचुङ दक्षिण एसियाका सुपरस्टारको रूपमा उदाए । तर, नेपाली मूलका भाइचुङले आफूलाई नेपाली भन्न अप्ठेरो माने । कुरा राष्ट्रियताको थिएन । प्राविधिक रूपमा को कहाँ जन्मियो र प्रशासनिक रूपमा कहाँको नागरिकता बोक्छ भन्ने पनि थिएन । यहाँ त नेपाली मनको कुरा थियो । नेपाली मूलको कुरा थियो । नेपाली भाषाको कुरा थियो । भाषामा नेपाली भए पनि भाइचुङले भारतीय सञ्चारमाध्यमसँग गर्ने कुराकानीमा नेपाली मनलाई ठेस पुर्याउने काम गरे ।

सायद थापाको नेपाली मन पनि दुख्यो कि ! उनलाई लाग्न थाल्यो, ‘नयाँ पुश्ताबाट अन्तर्राष्ट्रिय फुटबलमा राज गर्ने अर्को कुनै नेपाली जन्मिएन । धेरै राम्रा खेलाडी नेपाली फुटबलले उत्पादन गरे पनि कम्तीमा दक्षिण एसिया हल्लाउन अरूले सकेनन् । अब फेरि हामीले यस्ता नेपाली खेलाडी उत्पादन गर्नुपर्छ, जसले दक्षिण एसियालाई हल्लाओस् । नयाँ पिँढीका लागि आदर्श बन्न सकोस् र थुप्रै नेपाली मूलका बालबालिकालाई फुटबलमा आकर्षित गर्न सकोस् ।’

सन् २००४ मा खेल्ने बेलाका जुनियर सहयात्री गणेश थापा अखिल नेपाल फुटबल संघमा अध्यक्ष थिए । उनले आफ्ना आदरणीय दाजु श्यामलाई सम्पूर्ण युवा विकास परियोजनाको जिम्मेवारी वहन गर्ने गरी नेपाल आउन अनुरोध गरे । कुनै बेला श्याम दाईकै पहलमा गणेशले करियरको अप्ठेरो समयमा भारतीय महारथी इस्ट बंगालबाट खेल्ने मौका पाएका थिए । उनको अनुरोधमा श्याम दाइ नेपाली फुटबलको भविष्य बनाउने जिम्मेवारीका लागि सहमत भए ।

नेपाली फुटबललाई नयाँ उचाइ दिने सपना बोकेर आएका थापाको मिहिनेत त जति प्रशंसा गरे पनि नपुग्ने खालको थियो । उनलाई अर्को नेपाली सुपरस्टार उत्पादनको हुटहुटी जो थियो ।

सहमत यसकारण पनि भएका थिए कि उनलाई अर्को नेपाली सुपरस्टार उत्पादनको हुटहुटी थियो । सन् २००४ को सेप्टेम्बरमा मलेसियामा भएको एएफसी यु-२० एसियन कप प्रशिक्षकका रूपमा नेपाली फुटबलमा थापाको पहिलो जिम्मेवारी थियो । एसियाली स्तरको प्रतियोगितामा नेपालको कुनै पनि फुटबल टोली छनोट भएर प्रतिस्पर्धा गर्न लागेको त्यो पहिलो अवसर थियो । त्यसैले एन्फाले पनि त्यसका लागि विशेष तयारी गरेको थियो ।

नेपाली फुटबललाई नयाँ उचाइ दिने सपना बोकेर आएका थापाको मिहिनेत त जति प्रशंसा गरे पनि नपुग्ने खालको थियो । युवा टोली लिएर थापा मलेसिया पुगे ।

थाइल्यान्डमा तीन हप्ताको विशेष प्रशिक्षण सिविर राखेपछि नेपाली टोली मलेसिया पुगेको थियो । थापा आफ्नो टिमका किशोर खेलाडीहरूलाई मिहिनेतका लागि हौस्याउने गर्थे, ‘नानी आधुनिक फुटबलमा सय प्रतिशत फिटनेस भएर पुग्दैन । तिमीहरू दुई सय प्रतिशत फिट हुनुपर्छ ।’

थापाको प्रेरणामा खेलाडीहरूले उनले भनेजस्तै फिटनेस हासिल गरेका थिए । थापाको प्रेरणादायी नेतृत्वमा उत्साही नेपाली टोलीले मलेसियामा अपेक्षा गरेभन्दा राम्रो प्रदर्शन गर्यो । केही महिनाअघि मात्र ग्रिसमा ओलम्पिक खेलेर आएको जापानलाई नेपालले ३-० को नतिजामा रोक्यो । दोस्रो खेलमा बलियो मानिएको भियतनामलाई १-० को अन्तरमा हरायो । समूह चरणको अन्तिम खेलमा आयोजक मलेसियासँग ३-० कै नतिजामा पराजित भयो ।

तस्बीरः सुन्दर श्रेष्ठ

नेपालका लागि एसियन कपमा छनोट हुनु नै ठूलो उपलब्धि थियो । त्यसैले त्यहाँ दोस्रो चरण पुग्ने कसैले आस गरेको थिएन ।

भियतनाममाथि जित हासिल गर्नु नेपाललाई बोनसजस्तै भयो । सँगै त्यो यात्रामा थापाले आफ्नो सपना पूरा हुने लक्षण देखे । नेपाली फुटबलबाटै कम्तीमा दक्षिण एसिया हल्लाउन सक्ने सुपरस्टारको अनुहार पनि उनको आँखामा झल्झली आउन थाल्यो । भियतनाममाथि जित हासिल गर्दा पेनाल्टीमा गोल गरेका ५ फिट ११ इन्च अग्ला मिडफिल्डर प्रदीप महर्जनमा उनले त्यो गुण देखेका थिए । अनि आधुनिक फुटबलका लागि होचो भए पनि मेहनती गोलकिपर विकास मल्लमा पनि । 

अझ उनको बढी आशाचाहिँ प्रदीपमा थियो । प्रतियोगितामा नेपालको यात्रा सकिएपछि थापाले मलेसियामै टिमसँगै गएका एन्फा अधिकारीहरू र पत्रकारहरूको बीचमा भनेका थिए, ‘नेपाली फुटबलको नाम प्रदीपले राख्छ । यसमा विश्वभरका नेपालीहरूलाई उत्प्रेरित गर्न सक्ने क्षमता छ । विकास होचो भए पनि यसमा एउटा सिपाहीजस्तो लड्ने भावना छ । राष्ट्रियताको मामलामा यो एकदमै संवेदनशील छ र प्राविधिक रूपमा खेल्न सक्छ ।’

थापाको भविष्यवाणी सही साबित भयो । प्रदीपको खेल देखेपछि एकपटक भारतीय फुटबलको महारथी इस्ट बंगालका मुख्य प्रशिक्षक सुभाष भोमिकले उनलाई भारत लाने प्रस्ताव गरे । भोमिकले प्रदीपलाई नेपाली नागरिकता त्यागेर भारतीय बन्नुपर्ने सर्त राखेका थिए । त्यसवापत वार्षिक करोडौं रुपैयाँ, भारतीय राष्ट्रिय टोलीबाट खेल्नुपर्ने र व्यावसायिक फुटबलमा नसोचेको स्तरोन्नतिको लोभ देखाइएको थियो । दुई थापा (प्रशिक्षक श्याम र एन्फा अध्यक्ष गणेश)ले नेपाली नागरिकता त्याग्नुपर्ने सर्त अस्वीकार गरे ।

प्रदीप नेपाली नै रहे । नेपाली राष्ट्रिय टिमबाट खेल्ने क्रममा सन २००८ मा घाइते नभएसम्म उनले आफूलाई ठूलो सम्भावना बोकेको सुपरस्टारका रूपमा स्थापित गरिसकेका थिए । २००६ मा बंगलादेशमा एसियाका १६ टोलीको सहभागिता रहेको एएफसी च्यालेन्ज कपमा उत्कृष्ट प्रदर्शनसहित ५ गोल गरेर पनि प्रदीपले आफ्ना सम्मानित गुरुको सपनामा खोट नरहेको प्रमाण दिए । दुर्भाग्य थाइल्यान्डको एउटा क्लबसँगको मैत्रीपूर्ण खेल दौरान घाइते भएपछि प्रदीप कहिल्यै शीर्ष स्तरको फुटबलमा फर्किन सकेनन् ।

श्याम थापाको सपनालाई अलपत्र पार्दै, नेपाली फुटबलको अपार सम्भावनामा अल्पविराम लगाउँदै असमयमै प्रदीप अन्तर्राष्ट्रिय फुटबलबाट बिदा भए । विकासको हकमा पनि त्यस्तै भयो । थापाले भनेजस्तै राष्ट्रवादी विकास अहिले नेपाली सेनाको सेनानी पदमा कार्यरत छन् । उच्च फर्ममा रहँदा सेनामा प्रवेश गरेपछि फुटबलमा चाहिँ उनले उत्कर्ष पाउनै सकेनन् । सेनाको तालिममात्र नभई विकासको आदर्श फुटबलर बन्ने बाटोमा पनि चोटको उत्तिकै बाधा रह्यो ।

तस्बीरः सुन्दर श्रेष्ठ

नेपाली फुटबललाई सफलताको उत्कर्षमा पुगेको देख्न चाहने र त्यसका लागि योगदान गर्न सदैव तत्पर रहने श्याम थापा शुक्रबार प्रतिष्ठित ‘मोहनबगान रत्न’बाट सम्मानित भएका छन् । आदर्श गुरुको यो सफलतामा चेलाहरू उत्साहित नहुने सवालै उठ्दैन । थापाको सपना पूरा गर्न चोटका कारण असमर्थ भएका प्रदीप भन्छन्, ‘श्याम सर योभन्दा धेरै ठूला सम्मानको हकदार हुनुहुन्छ । नेपाली फुटबलमा त उहाँको योगदान जति बयान गरे पनि कम हुन्छ ।’

उनी थप्छन्, ‘एउटा खेलाडीको रूपमा भन्ने हो भने उहाँले हामीलाई आफ्नै छोराजसरी माया गर्नुहुन्थ्यो । मबाट त उहाँले अझ धेरै सपना देख्नुभएको थियो । त्यो पूरा गर्न नसकेकामा म श्याम सरसँग क्षमा माग्न चाहन्छु । आज उहाँले यति ठूलो सम्मान पाउनुभएको छ । त्यसका लागि उहाँलाई बधाई दिन चाहन्छु ।’

त्यस्तै नेपाली सेनाका सेनानी एवं राष्ट्रिय टोलीका पूर्वगोलकिपर तथा वर्तमान गोलकिपिङ प्रशिक्षक विकास श्याम थापालाई आदर्श फुटबलरको रूपमा बयान गर्न चाहन्छन् ।

‘एउटा खेलाडीका रूपमा उहाँ असाधारण हुनुहुन्थ्यो रे । प्रशिक्षकका रूंपमा हामीले आफैं भोगेका हौं । उहाँजस्तो प्रशिक्षकको नेतृत्वमा खेल्न पाएँ भन्ने सम्झँदा अहिले पनि आफ्नो करियरप्रति गौरव लाग्छ,’ विकास भावुक भए, ‘नेपाल र भारतमा मात्र नभई समग्र दक्षिण एसियामै फुटबलको संस्कार समृद्ध बनाउन उहाँको ठूलो योगदान छ । उहाँको नेपालप्रतिको भावना र नेपाली फुटबलप्रतिको समर्पणलाई लिएर म नतमस्तक छु । आदरणीय श्याम सर सम्मानित भएको यो क्षण सम्पूर्ण नेपाली फुटबल सम्मानित भएको क्षण हो । नेपाली मन सम्मानित भएको क्षण हो ।’