मंसिर ६, २०८१ बिहीबार | १४:२६:३१
क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ क्यानाडाका साद बिन जफर लुम्बिनीमा विराटनगरले छान्यो ‘आइकोनिक प्लेयर्स’ भिएरा जिनोआको मुख्य प्रशिक्षकमा नियुक्त सिस्नेर घटनाका पीडित परिवारले गरे एन्फामा तालाबन्दी बेन्टेनचरमाथि लागेको प्रतिबन्धविरुद्ध टोटनहमको अपिल रियालको रोमाञ्चक जित चेल्सी क्वार्टरफाइनलमा डेविस कपः नेपालले गुआमलाई हरायो नेपाल ओलम्पिक कमिटीलाई पारदर्शीरुपमा सञ्चालन गर्न माग चितवनलाई ब्लु स्टारको साथ
शनिबारको दिन सहिद स्मारक ए डिभिजन लिग

तेजिलो करिअरतिर राजन

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको सुरुआती तीन खेल गुमाएपछि विभागीय क्लब एपिएफमाथि सुरुमै ‘रेलिगसन दबाब’ बढ्यो । तर त्यसपछिका ६ खेलमा दुई जित र ४ बराबरी खेलेपछि एपिएफले आफूलाई शीर्ष डिभिजनमै यथावत राख्ने आशा जगाएको थियो ।

फिफा डे ब्रेकका कारण नवौं खेलको समाप्तिपछि अखिल नेपाल फुटबल संघ (एन्फा) बाट अनुमति दिएका मोसफलका प्रतियोगिता हुने तालिका थियो । कोभिड–१९ संक्रमण महामारीबीच पोखरामा तय २०औं आहा–रारा गोल्डकप दर्शकरहित खेलाएर सम्पन्न भयो ।

लिगमा संघर्षरत एपिएफले पहिलोपल्ट आहा–रारा गोल्डकपको उपाधि जित्दै आफू लयमा फर्र्किएको संकेत गरेको छ । एपिएफको उपाधि यात्रामा नायक रहे रक्षक राजन गुरुङ (गौरव) । सहिद स्मारक लिगको ८ टोली प्रतिस्पर्धी रहेको प्रतियोगितामा एपिएफ सीमितमध्ये एक यस्तो टोली थियो, जसले प्रिक्वाटरफाइनलबाट प्रतिस्पर्धा गरेको थियो । ‘ए’ डिभिजनका ५ टोलीले भने सोझै क्वाटरफाइनलबाट खेलेका थिए ।

उमेर समूहमा आफूसँगै प्रतिस्पर्धा गर्ने सहकर्मीहरू माघ १५ र १८ का लागि तय मोरिससविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा रहँदा राजन भने पोखरामा आहा–रारा गोल्डकप खेलिरहेका थिए । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राष्ट्रिय टोलीका बन्द प्रशिक्षणमा ३४ खेलाडी बोलाउँदा राजनले त्यसमा स्थान बनाउन सकेनन् ।

काठमाडौं रेजर्सले नेपाल सुपर लिग (एनएसएल)को पहिलो संस्करणको उपाधि जित्दा राजन टोलीका सदस्य थिए । संजोग राई घाइते भएपछि टोलीमा अवसर पाएका राजनको सोही प्रतियोगितामा गरेको उत्कृष्ट प्रदर्शनका कारण राष्ट्रिय टोलीमा ढोका खुलेको थियो ।

‘प्रशिक्षक अल्मुताइरीले एनएसएलपछि मलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा बोलाउनुभएको थियो,’ राजनले सुनाए, ‘राष्ट्रिय टोलीबाट खेल्ने सपना पूरा भयो । तर मैले एक खेलमा मात्र अवसर पाएको छु । राष्ट्रिय टोलीबाट अझ धेरै खेल खेल्न चाहन्छु ।’‘आफूले जुन मिहिनेत गरेर राष्ट्रिय टोलीमा स्थान बनाएको थिएँ, त्यहाँ स्थान बनाइरहन अझ धेरै मिहिनेत गर्नुपर्ने र पुनरागन गर्नका लागि आफू प्रयासरत रहन्छु,’ उनले थपे ।

स्याङजा वालिङका उनी विद्यालयस्तरबाटै आफ्ना दाइहरूसँग विभिन्न स्थानीय प्रतियोगिता खेल्न जान्थे । एन्फा एकेडेमीले यू–१६ टोलीका लागि गरेको जिल्लास्तरीय छनोटमा पर्न सफल राजन बुटबल र पोखरा हुँदै काठमाडौंसम्म आइपुगेका हुन् । अन्तत: उनी यू–१६ राष्ट्रिय टोलीका लागि छनोट भए ।

उनले सरस्वती क्लबबाट ललित मेमोरियल यू–१८ प्रतियोगिता खेलेका थिए । मनाङ मर्स्र्याङदी क्लबबाट पनि उनले मोफसलका विभिन्न प्रतियोगितामा सहभागिता जनाए । त्रिभुवन आर्मी क्लबमा पनि तीन महिना प्रशिक्षण गरेका राजन त्यहींबाट एपिएफतिर हानिएका थिए ।

‘फुटबल खेलाडी बन्छु भन्ने सपना साकार हुन्छ जस्तो लागेकै थिएन,’ उनी सम्झन्छन्, ‘तर प्रशिक्षक दिलीप थापाले तिमी राम्रो खेल्छौं, मिहिनेत गरिराख, एकदिन राम्रो फुटबल खेलाडी बन्छौं भन्ने हौस्याउनुहुन्थ्यो ।’

प्रशिक्षक दिलीपकै प्रेरणामा उनले निरन्तर प्रशिक्षण गरिरहे । अन्तत: यू–१६ राष्ट्रिय टोलीमा छनोट भएरै छाडे । त्यहाँबाट उनले यू–१८, यू–१९ हुँदै यू–२३ टोलीसम्मको यात्रा तय गरिसकेका छन् । उनलाई राष्ट्रिय टोलीबाट खेल्ने गर्ने सपना धेरै टाढा छ जस्तो लाग्थ्यो । तर, यस वर्ष भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि टोलीमा परेका थिए । दोस्रो खेलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै डेब्यु सपना भने पूरा गरेका छन् ।

त्यसो त उनी साफ च्याम्पियनसिपलाई नेपाली टोलीको बन्द प्रशिक्षणमा कतार जाँदा टोलीमा नपरेका होइनन् । उनको पोजिसन सेन्ट्रल डिफेन्स भए पनि उनी मिडफिल्डबाट खेल्ने खुबी राख्छन् । रोहित चन्द माल्दिभ्समा तय साफ च्याम्पियनसिप खेल्न टोलीमा फर्कने वा नफर्कने निश्चित भएको थिएन । त्यसैले प्रशिक्षक अल्मुताइरीले रोहितको स्थानमा खेल्न उनलाई मानसिक रूपमा तयार पारेका थिए । तर, रोहित साफ च्याम्पियनसिपका लागि माल्दिभ्स जाने निश्चित भएपछि भने राजन कतारबाटै स्वदेश फर्किए ।

उनी एपिएफमा आबद्ध भएको ५ वर्ष बितिसकेको छ । यसबीच उनको यो तेस्रो लिग सहभागिता हो । तर क्लबले यसपल्ट जस्तो संघर्ष गर्नुपरेको उनले कहिल्यै देख्नुपरेको थिएन ।

लिगमा एपिएफले सुरुआती खेलमा गर्नुपरेको संघर्षका कारण आफूले स्वाभाविक प्रदर्शन दिन नसकेको उनी स्वीकार्छन् । त्यसकारण पनि मोरिससविरुद्धको मैत्रीपूर्ण खेलका लागि घोषित ३४ सदस्यीय टोलीमा स्थान बनाउन नसकेको उनले बुझेका छन् ।

‘हामीले लिगका सुरुआती तीन खेल गुमायौं, टोलीमा युवा खेलाडीको बाहुल्य छ,’ उनले भने, ‘तालमेल पनि मिलेको थिएन । केही विदेशी खेलाडी भित्र्याएपछि भने हामीले राम्रो प्रदर्शन गरिरहेका छौं । त्यही प्रदर्शनले निरन्तरता पाउँदा हामीले आहा–रारा गोल्डकप जित्यौं । टोलीले पहिलो खेलमा आफ्नो लय भेट्टाउन नसक्दा मैले पनि स्वाभाविक खेल प्रदर्शन गर्न सकिनँ । त्यसैले मैले राष्ट्रिय टोलीमा स्थान बनाउन सकिनँ जस्तो लाग्छ ।’

आहा–रारा गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी बनेका राजनले पोखराको प्रदर्शन र लिगका बाँकी चार खेलमा उत्कृष्ट प्रदर्शन गर्दै एएफसी छनोट कपका लागि राष्ट्रिय टोलीमा पुनरागमन गर्ने लक्ष्य साँचेका छन् ।

‘आहा–रारा गोल्डकपमा टोलीको प्रदर्शन र मेरो व्यक्तिगत प्रदर्शनले पनि मेरो मनोबल बढेको छ,’ उनले राष्ट्रिय टोलीमा पुनरागमन गर्ने लक्ष्य सुनाए, ‘लिगमा अझै ४ खेल बाँकी छ । हामीले मछिन्द्र र मनाङ मर्स्र्याङदी, संकटाजस्तो बलियो टोलीसँग खेल्न बाँकी छ । ती खेलहरूमा शतप्रतिशत दिँदै राष्ट्रिय टोलीमा पुनरागमन गर्ने लक्ष्यमा छु । त्यसका लागि थप मिहिनेत गर्नेछु ।’