ट्वान्टी २० विश्वकप

विश्वकपमा नेपालको डेब्यु, कुरै अर्को

  • शरद धिताल
शरद धिताल।

सनसनी । अविश्वसनीय । चमत्कारी । स्तब्धपूर्ण । उत्कृष्ट । अरू के के । बंगलादेशले सन् २०१४ मा आयोजना गरेको ट्वान्टी–ट्वान्टी विश्वकपबारे ‘फ्ल्यास ब्याक’ मा गएर सम्झँदा यस्तै यस्तै शब्दको जालो बुनेर बखान गर्नुपर्ने हुन्छ । आखिरमा यो विश्वकपमा नेपालले डेब्यु गर्दाको क्षण न थियो । पूरा नेपाली खेलकुदकै इतिहास लेख्ने हो भने यो यस्तो प्रतियोगिता थियो, जसमा नेपालले सामना गरेको चुनौती अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

खेल पत्रकार भएको नाताले यो प्रतियोगिताबारे लेख्दा सम्भवतः दुई दृष्टिकोण तयार हुन्छ । पहिलो खेल पत्रकार भएर आफ्नै । दोस्रो प्रतियोगितामा नेपालले तय गरेको यात्रा । सम्भवतः दोस्रो दृष्टिकोणबारे धेरैलाई धेरै पक्ष जानकारी छ । तर नेपाली पत्रकारले त्यो समय बटुलेको सम्झना भने बेजोड छ, जसलाई पैसाले किन्न सकिन्न, सुनसँग तौलिन्न पनि पाइन्न । फेरि भनौं, खेल पत्रकारको त्यो बंगलादेश यात्रा आफैंमा ‘कुरै अर्को’ खालको थियो ।

एउटै दुःख के तथ्यमा थियो भने हामीले प्रतियोगितामा क्रममा नेपालमा बनेको माहौल देख्न पाएनौं । काठमाडौंका केही स्थानमा ठूलो पर्दामा खेल देखाइएको थियो अनि दर्शक हजारौं संख्यामा । जुन दिन नेपालको खेल थियो, धेरैभन्दा धेरै कार्यालयमा कर्मचारी नेपाली टिमको जर्सी लगाएर पुगेका थिए । पूरा देशमा क्रिकेटको क्रेज देखिएको थियो । अझ भनौं, पूरा देश नै क्रिकेटमय भएको थियो । सबैले भन्दैथिए, त्यसै भनेको होइन, खेलले देशलाई एकजुट बनाउने गर्छ भनेर ।

प्रतियोगिता भएको पनि आठ वर्ष बितिसक्यो । तर, त्यसक्रममा प्राप्त उमंग अझै ताजा छ । एउटा टिम जत्तिकै नेपाली खेल पत्रकारको समूह बंगलादेश पुगेको थियो । सूची नै बनाऔं न त्यसको । कान्तिपुरबाट हिमेशरत्न वज्राचार्य र म आफंै अनि काठमाण्डू पोस्टबाट प्रतीक्षा दुलाल, नागरिकबाट विनोद पाण्डे, रिपब्लिकाबाट प्रज्वल ओली, अन्नपूर्ण पोस्टबाट पवित्रा राउत र बीबीसीबाट निरञ्जन राजवंशी । सँगै एनटीभीबाट दुर्गानाथ सुवेदी र अनलाइनखबर डटकमबाट राजकुमार श्रेष्ठ र सुरेश भुसाल ।

हामीले दुई स्थानमा डेरा जमाएका थियौं । अभ्यास खेलका बेला ढाकामा रह्यौं । पहिलो चरणको लिग खेलका लागि चटगाउँमा । यो भ्रमणको एउटा अर्को ठूलो विशेषता के पनि थियो भने नेपाली पत्रकारका लागि स्वागत गर्न, आतिथ्यता दिन बंगलादेशी पत्रकारमाझ एक खाले प्रतिस्पर्धा नै चलेको थियो । यसका लागि हामी सबै ठूलो मन भएका बंगलादेशी पत्रकारसँग कृतज्ञ रहनु नै पर्छ । विशेषतः ढाकामा रहँदा के खाने कहाँ जाने कहिल्यै समस्या भएन ।

ढाकामा पनि हामी बसेको होटल ‘जोयकाली मन्दिर’ को छेउछाउ नै थियो । अहिले पनि यो मन्दिरको नाम लिनुपर्छ, विशेषतः दुई अनुभवी पत्रकार निरञ्जन र प्रज्वल भावविह्वल हुने गर्छन् । यति भावनात्मक छ, यो स्थान र यससँग जोडिएका घटना र अनुभव । ढाका बसाइकै क्रममा दुई अनुभव पनि आफैंमा अद्वितीय रह्यो । पहिलो, बंगबन्धु रंगशालामा भएको एआर रहमानको कन्सर्ट । त्यसमा उदित नारायणको पनि प्रस्तुति थियो ।

दोस्रो नेपालका कप्तान पारस खड्काको बेजोड पत्रकार सम्मेलन । त्यस दिन उनलाई जे जतिले सुन्न पाए, सबैको एउटै अनुभव थियो । यी कप्तानको व्यक्तित्व र बोली कोही टेस्ट कप्तानको भन्दा कमी छैन । अनि त्यही पत्रकार सम्मेलनका अवसरमा बंगलादेशी खेलाडी शकिब अल हसनसँग नजिक रहेर गर्न पाएको कुराकानी पनि कहाँ कम थियो र ? प्रतियोगिताका लागि मैदानमै फर्कने हो भने नेपालले सुरुमै दुई अभ्यास खेल खेलेको थियो, त्यसमा नेपाल दुवैमा पराजित रह्यो ।

पहिलो खेल आयरल्यान्डविरुद्ध थियो । त्यसमा नेपाल ५ पाँच विकेटले पराजित रह्यो । दोस्रो अभ्यास खेल भने यूएईसँग थियो । त्यसमा पनि नेपाल ६ विकेटले पराजित भयो । लागिरहेको थियो, अब मूल प्रतियोगितमा नेपालको प्रदर्शन असाध्यै कमजोर हुनेछ । तर त्यस्तो भएन । नेपाल आयोजक बंगलादेशसँगै अफगानिस्तान र हङकङको समूहमा थियो । लिग चरणको समाप्तिमा बंगलादेश र नेपाल समान ४ अंकमा रहे । नेपालले हङकङलाई ८० रन र अफगानिस्तानलाई ९ रन हराएको थियो ।

नेपाल नेट रनरेटले मात्र पछाडि रहेर प्रतियोगिताको मुख्य चरण पुग्न सकेको थिएन । यही चरणकै क्रममा बटुलेको अनुभव हो, जति–जति बेला नेपाली राष्ट्रिय टिमसँग नजिकबाट जोडिन्छ, भावनात्मक भइन्छ । टिमले सामना गरेका जित र हार आफ्नै जस्तो हुन्छ । जुन दिन नेपालले अफगानिस्तानलाई हराएको थियो र जब हङकङले बंगलादेशलाई पन्छाएको थियो, सायद नेपाली पत्रकारलाई समाचार लेख्न पक्कै सजिलो भएन । सबै भावनामा डुबेका थिए ।

(पूर्व खेल पत्रकार धिताल हाल अमेरिकामा छन्)