भलिबलः व्यस्तसँगै अस्तव्यस्त वर्ष

काठमाडौं । वर्षभर घरेलु तथा अन्तर्राष्ट्रिय खेलका लागि कोर्ट व्यस्त बनाउँदै राष्ट्रिय खेल भलिबलले २०८० साललाई पूरा गरेको छ । महिला र पुरुष दुवैतर्फ यो वर्ष पूरा देश भलिबलमय भयो ।  

अघिल्लो वर्ष जितेन्द्रबहादुर चन्दको नेतृत्वमा नेपाल भलिबल संघले नयाँ कार्यसमिति पाएको थियो । चन्दले आफ्नो पहिलो वर्षमै भलिबल प्रतियोगिता आयोजनालाई व्यवस्थित बनाउन संघबाट स्वीकृति लिनैपर्ने नियम लगाए । देशभर प्रतियोगिता हुँदा खेलाडी व्यस्त भए भने राष्ट्रिय स्तरका खेलाडीको अवस्था पनि संघसम्म कुनै न कुनै रूपमा गुनासोमय रह्यो ।

नेपालको माटो सुहाउँदो खेल भलिबल समर्थकमाझ सबैभन्दा लोकप्रिय छ । सानो ठाउँमै पनि खेल्न मिल्ने र कम खर्चिलो भएकाले भलिबलको पहुँच पूरा ७७ जिल्लामै छ । तर राष्ट्रिय खेलको मान्यता पाए पनि यसले राज्यबाट अपेक्षित प्राथमिकता भने पाउन सकेको छैन । जसका कारण निजी क्षेत्रले गर्न खोजेको फ्रेन्चाइज प्रतियोगिता गतिलो कभर्डहल नहुँदा हुन सकेन ।

यस वर्ष नेपाली राष्ट्रिय टोलीले सहभागिता जनाएको सबैभन्दा ठूलो प्रतियोगिता चीनमा आयोजना भएको १९औं एसियाली खेलकुद थियो । नतिजाका हिसाबले यो प्रतियोगिता दुवै टोलीका लागि राम्रो हुन सकेन ।

महिला र पुरुष दुवै भलिबल टिमले एकै पटक एसियाली खेलकुदमा खेलेको यो पहिलोपल्ट थियो । महिला टिमले पहिलो पटक एसियाड खेलेको हो ।

पाँचौं पटक एसियाड खेलेको नेपाली पुरुष टिमले प्रारम्भिक चरणमा एसियन च्याम्पियन इरान र बहराइन जस्ता बलियो टिमसँग खेल्ने खेलेको थियो । बहराइनसँग ३–१ सेटले हारेको नेपालले इरानविरुद्ध खेल सोझो सेटमा गुमाएको थियो ।

महिलातर्फ नेपालले ५ खेल खेलेको थियो । त्यसमा एक खेल जित्यो । अरुणा शाहीको कप्तानीमा रहेको नेपालले मंगोलियासँगको खेल ३–२ सेटले जितेको थियो । प्रारम्भिक चरणमा भियतनाम र दक्षिण कोरियाजस्ता टिमसँग पराजित भएपछि समूह चरणबाट बाहिरिएको थियो । त्यसपछि वरीयताका लागि भारत, हङकङ र मंगोलियासँग खेलेको थियो । ११ औं स्थानका लागि मंगोलियाविरुद्धको खेल नेपालले जितेको हो ।
नेपालका लागि सहभागिता नै ठूलो कुरा रह्यो । खेलाडीले राम्रो अनुभव बटुल्न सफल भए ।

घरेलु प्रतियोगितातर्फ भने खेलाडीहरू निकै व्यस्त रहे । तर, त्यसलाई अस्तव्यस्तभन्दा फरक नपर्ला । किनकि निकै धेरै प्रतियोगिता भएको भन्दै खेलाडी स्वयंले संघसमक्ष प्रतियोगिता व्यवस्थित गर्नुपर्ने सुझाव दिए ।

‘यो वर्ष खेलेको राम्रो प्रतियोगिता भनेकै १९औं एसियाड थियो । हामीले जम्मा एक सेट मात्रै जित्यौं । तर, विश्वका उत्कृष्ट खेलाडीसँग अनुभव साट्न पायौं,’ राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले एसियाडबारे भने ।

पुरुष टोलीले एसियाडसँगै श्रीलंकामा सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा)ले आयोजना गरेको पुरुष च्याम्पियनसिप खेल्यो । तर नेपालको प्रदर्शन बिर्सनलायक रह्यो । उपाधि नजिक पनि नेपाली टोली पुग्न सकेन । शीर्ष ११ मा रहेको थियो ।

पुरुषतर्फ काभा च्यालेन्ज कपमा नेपालले ५ खेल खेल्दा दुई जित र तीन हारको नतिजा सामना गरेको थियो । बंगलादेशलाई ३–१ र अफगानिस्तानलाई ३–२ को सेटमा हराएको नेपाली टिम श्रीलंका र उज्वेकिस्तानसँग समान ३–० र साउदी अरेबियासँग ३–२ को सेटमा स्तब्ध बनेको थियो ।

महिला टोलीको हकमा २०८० मा दुईमात्रै अन्तर्राष्ट्रिय स्पर्धा भयो । पहिलो एसियाड थियो भने दोस्रो काभा महिला च्याम्पियनसिप हो । तर, घरेलु प्रतियोगिता भने धेरैभन्दा धेरै हुँदा महिला खेलाडी पूरा वर्षभर नै व्यस्त रहे ।

‘यो वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल राम्रो भएको थियो । व्यक्तिगत प्रदर्शन पनि राम्रो भयो,’ महिला टोलीकी प्रभावशाली खेलाडी उषा भण्डारी भन्छिन् । उनी टोलीकी आउटसाइट हिटर हुन् ।

नेपालले घरेलु कोर्टमा आयोजित काभा महिला च्याम्पियनसिप खेलेको थियो । जहाँ तेस्रो स्थान पाएको थियो । नेपालले किर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदा भारतसँगको खेल ३–१ को सेटमा गुमाएको थियो । ताजकिस्तानसँग सेमिफाइनलमा ३–२ सेटले पराजित भयो । उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको थियो । यो प्रतियोगितामा भारत च्याम्पियन भयो ।

महेन्द्रनगरमा माघमा भएको तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता धेरै चर्चामा रह्यो । खेल हेर्न समर्थकले कोर्टको वरिपरी बसलाई लाइनबद्ध गरेर प्यारापिट नै बनाए । 

घरेलु प्रतियोगितातर्फ भने खेलाडीहरू निकै व्यस्त रहे । तर, त्यसलाई अस्तव्यस्तभन्दा फरक नपर्ला । किनकि निकै धेरै प्रतियोगिता भएको भन्दै खेलाडी स्वयंले संघसमक्ष प्रतियोगिता व्यवस्थित गर्नुपर्ने सुझाव दिए । उनीहरूले एउटा प्रतियोगिता सकिएसँगै अर्काे प्रतियोगिता गर्न नहुने र खेलाडीलाई विश्रामको समय दिन माग गरेका थिए ।

ओपन स्पाइकर तथा कप्तान मानबहादुरलाई पनि त्यस्तै लाग्यो । ‘अन्तर्राष्ट्रियभन्दा राष्ट्रिय प्रतियोगिता धेरै भए । यो राम्रो पक्ष हो । तर, व्यवस्थित हुनुपर्छ । एउटा प्रतियोगिता सकिएको २–३ दिनमै अर्काे प्रतियोगिता हुँदा खेलाडीलाई विश्राम नै भएन,’ यो कप्तानी आवाज थियो ।

संघले वर्षको अन्तिम दिनसँगै वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पुरस्कृत पनि गरेको छ । यस वर्ष पुरुषतर्फ कप्तान मानबहादुर श्रेष्ठको प्रदर्शन उत्कृष्ट रह्यो । उनी घरेलु प्रतियोगितामा तीन पटक सर्वाेत्कृष्ट खेलाडी घोषित भइसकेका छन् ।

एनभिएले वर्षको अन्त्यतिर महिला तथा पुरुष च्याम्पियनसिप आयोजना गरेको थियो ।   यसपालि दुवै उपाधिबाट विभागीय टोली वञ्चित भए । अघिल्ला वर्षहरूमा विभागीय टोलीको दबदबा रहँदा यसपालि पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ बुटवलको एभरेस्ट भलिबल क्लबले उपाधि जितेका थिए । हेल्प नेपालले पाकिस्तानी राष्ट्रिय टोलीबाट खेलिसकेका तीन र एभरेस्टले वर्तमान भारतीय राष्ट्रिय टोलीका तीन खेलाडी समावेश गर्दै पहिलो पटक उपाधि जितेका थिए ।  

व्यस्त भलिबलले बितेको वर्ष पूर्वाधारको अभावसँग निकै जुध्नुपर्यो । एनभिएले राखेप कभर्डहलमा आयोजना गरेका प्रतियोगिताबाहेक सबै खेल आउडडोरमा भए । जहाँ समर्थकलाई खेल हेर्ने उपयुक्त सुविधा थिएन ।

महेन्द्रनगरमा माघमा भएको तेस्रो मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिता धेरै चर्चामा रह्यो । खेल हेर्न समर्थकले कोर्टको वरिपरी बसलाई लाइनबद्ध गरेर प्यारापिट नै बनाए । पोखरामा माघमा आयोजना भएको टाइगर कप उत्तिकै रोचक रह्यो । ढोरपाटन क्लबको आयोजनामा पुनः महिला डबल लिग सुरु भयो ।

व्यस्त भलिबलले बितेको वर्ष पूर्वाधारको अभावसँग निकै जुध्नुपर्यो । एनभिएले राखेप कभर्डहलमा आयोजना गरेका प्रतियोगिताबाहेक सबै खेल आउडडोरमा भए । जहाँ समर्थकलाई खेल हेर्ने उपयुक्त सुविधा थिएन ।

‘यसतर्फ हाम्रो ध्यान गएको छ । हामीले सोचेका पनि छौं । राम्रो कभर्डहल बनाउनका लागि जग्गा उपलब्ध गराइदिन सरकारसँग छलफल भएको छ । जग्गा प्राप्तिसँगै संघकै एउटा व्यवस्थित कभर्डहल बनाउने योजनामा छौं,’ एनभिएका महासचिव रोशन श्रेष्ठ भन्छन्, ‘हाम्रो लक्ष्यअनुसार अन्तर्राष्ट्रिय स्तरको कभर्डहल काठमाडौं र सातै प्रदेशमा प्रादेशिक कभर्डहल निर्माण गर्ने अभियान छ ।’

यही वर्ष संघका अध्यक्ष चन्द काभाको उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भए । जसले नेपालको भलिबल अन्तर्राष्ट्रिय दायराभित्र परेको छ । काभाबाट चन्दलाई दक्षिण एसिया प्रमुखसमेत तोकिएको छ ।

यस वर्ष व्यवस्थापनमा एनभिए चुके पनि आगामी दिनमा त्यसलाई सुधार गर्दै लैजाने महासचिव श्रेष्ठ बताउँछन् । उनी आगामी दिनमा पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता धेरैभन्दा धेरै गराउन संघ लागिपरेको प्रस्ट पार्छन् । यस वर्ष नेपालले काभा लिग कप गर्दै छ । साथै भलिबल दिवसको अवसरमा सगरमाथा बेसक्याम्पमा विशेष कार्यक्रम गर्ने योजना संघले बनाएको छ ।