नेपाली खेलकुद पत्रकारको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले बर्सेनि आयोजना गर्ने एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड यसपालि निकै ढिलो गरी यही चैत ८ गते हुने तयारीमा छ ।
प्रत्येक वर्ष अघिल्लो वर्षको प्रदर्शनका आधारमा भदौ महिनाभित्रै हुने गरेको स्पोर्ट्स अवार्ड गत वर्ष कोभिड–१९ महामारीका कारण पुसमा मात्र भएको थियो । यसपालि पनि त्यही कारण अवार्ड चैतमा धकेलिएको छ ।
नेपाली खेलकुदमा सबैभन्दा प्रतिष्ठित र ठूलो मानिने अवार्डका लागि यसपालि अघिल्लो वर्षका सीमित खेल गतिविधि र महामारीको प्रभावलगायतका चुनौती छन् । यिनै चुनौतीबीचमा अवार्ड कसरी हुँदै छ, नेपाली खेलकुदमा यसको महत्व, अवार्डको विगत र भविष्यका योजनालगायतका विषयमा खेलाडी डटकमका लागि उमेश दाहालले मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) सँग गरेको कुराकानीको सम्पादित अंश:
मञ्चले अवार्ड किन गर्छ ?
यो एकदमै राम्रो प्रश्न हो । मञ्चले खेलाडीलाई सम्मान गर्नुपर्ने कारण के त ? भन्ने प्रश्न बेला–बेलामा उठेको हो । तर, यो एउटा विश्वव्यापी चलन पनि हो । र, नेपालमा पनि खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले गरिएको हो । राज्यले पनि गरिरहेका प्रयासहरू छन्, नभएका होइनन् । तर पनि हामी सवल छौं भने हामीलाई कर्पोरेट हाउसहरूले विश्वास गर्छन् भने विभिन्न कर्पोरेटको साथ लिएर किन नगर्ने भनेर सुरु गरिएको अवार्ड हो ।
पच्चिस हजार रुपैयाँबाट सुरु गरिएको यो अवार्ड विस्तारै गएर अहिले करोडमा पुगेको छ । यो किन भयो भन्ने कुरालाई यसैले स्पष्ट पार्छ र नेपालका सबै कर्पोरेटहरूले साथ दिएका छन् । यो राम्रो कार्यक्रम हो, यसलाई निरन्तरता दिनु भन्छन् हामीलाई । खेलाडीहरू पनि एकदम व्यग्र भएर उत्सुकताका साथ यो अवार्डको प्रतीक्षा गर्छन् । त्यस कारण नेपाल खेलकुद पत्रकार मञ्चको यो अवार्ड एउटा ‘फ्लागसिप’ इभेन्ट जस्तो भएको छ । नेपाली खेलकुदकै बहुप्रतिष्ठित इभेन्ट बनेको छ । हामीले सुरु गर्दा कहाँसम्म पुग्ला भन्ने नसोचेको भए पनि यो अवार्ड आफैंमा ब्रान्ड भएर स्थापित भएको छ । अब आएर किन गरिन्छ भन्ने प्रश्न नै रहँदैन जस्तो लाग्छ ।
यो सरकारले गर्नुपर्ने काम होइन र ?
सरकारले पनि गरेको छ, नगरेको म भन्दिनँ । राष्ट्रिय नीतिमा खेलकुद कति प्राथमिकतामा छ । त्यसकै आधारमा हुन्छ, राष्ट्रले गर्ने प्रोत्साहन पनि । जस्तै पुरस्कारको घोषणा गरेको छ, कुन स्तरको प्रतियोगिता, कुन पदक जित्दा कति दिने भनेर बजेटमा राखिएका कुरा छन् । साथ–साथै यो अवार्डलाई पनि राज्यले मान्यता गरेर वार्षिक रूपमा १० लाख रुपैयाँ बजेट छुट्याइदिएको छ । हामीले अन्य देशसँग तुलना गरेर हेर्दा राज्यले गरेको सम्मान सानो जस्तो देखिएला तर गरेकै छैन भन्न मिल्दैन । तर, राज्यको तर्फबाट भएका कामहरू अपुग छन्, वृद्धि गर्नुपर्छ भन्ने कुरा सधैं हुनसक्छ । किनभने, हाम्रो लिभिङ स्ट्यान्डर्ड, लिभिङ कस्ट कति छ, त्यसको आधारमा अलि अपुग भयो भन्न सकिएका तर राज्यले पनि आफ्नो मापदण्डअनुसार सकेजति गरिरहेकै छ ।
त्यसमा थप गर्नका लागि हामी जस्तो संस्थाले अरूको विश्वास लिएर यो अवार्ड गर्न सकिरहेका छौं । त्यस कारण यो राज्यले गरेको प्रोत्साहनमा हाम्रो पनि थप एउटा इँटा राख्ने कामजस्तो हो ।
अवार्डप्रतिको प्रतिक्रिया कस्तो छ ?
तिनै प्रतिक्रियाहरूले गर्दा पनि हामी निरन्तरता दिन सकिरहेका छौं । हामीलाई आउने सकारात्मक प्रतिक्रियाहरूले गर्दा नै अवार्डले निरन्तरता पाएको हो । र, गत सालको सम्झना हुन्छ मलाई । जतिबेला कोभिडको यस्तो महामारीबीच पनि हामीले अवार्ड गर्न सफल भयौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) भएको वर्ष थियो ०७६ साल । जसलाई हामी ०७७ सालमा सम्मान गर्छाैंै । तर महामारीका कारण ०७७ सालको अवार्ड गर्न नसक्ने नै अवस्था थियो ।
म आफूलगायत मञ्चका धेरै साथी पनि संक्रमित भयौं । अवार्डको ५ दिनअगाडिसम्म पनि संक्रमित भइरहेका थियौं । तर हामीले भर्चुअल रूपमा अवार्ड गर्यौं । भौतिक रूपमा उपस्थिति नगराएर पनि हामीले यस अवार्डलाई निरन्तरता दियौं । र, हामीसँग लामो समयदेखि साथमा रहेका प्रायोजक, सहप्रायोजकहरू सबैले ऊर्जा थप्नुभयो । यो तपाईंलेहरूले जसरी पनि गर्नुपर्छ भनेर हौस्याउनुभयो ।
किनभने यो अवार्ड यसरी स्थापित भएको हो । यसलाई तपाईंहरूले रोक्नै हुँदैन कुनै पनि हालतमा हामी पूर्ण समर्थन गर्छौं भन्नुभयो । केही प्रायोजकहरूले त्यस्तो विषम परिस्थितिमा पनि गर्दै आएको सहयोग अझ बढाएका थिए । त्यसकारण यो संयुक्त प्रयत्न हो । आर्थिक रूपमा पनि त्यो सहयोगलाई अझ उहाँहरूले थपिदिनु हुन्छ, त्यसले गर्दा अझै ऊर्जा मिलेको छ । यस्तै ऊर्जाशील प्रतिक्रियाले गर्दा यो अवार्डले निरन्तरता पाएको हो ।
बजेट जुटाएर यो कार्यक्रम गर्न कत्तिको गाह्रो छ ?
सजिलो त हुँदैन । कुनै पनि कर्पोरेटले लिनुहोस्, गर्नुहोस् भनेर दिने होइन । हामीले आफ्नो प्रस्तावहरू लिएर जाँदा र १८ वर्षमा यो अवार्डले पुर्याएको योगदान देखेर एउटा ‘नेगोसिएसन’ पछि सहयोगका लागि तयार हुने कुरा हो । र, यसबाट उठेको लगभग सबै पैसा हामी समारोह र खेलाडीलाई गर्ने सम्मानमा खर्च गर्छौं । त्यसकारण सजिलो पक्कै छैन । तर पनि एउटा खुसीको कुुरा भन्नुपर्छ, हामी यो स्तरसम्म पुगेका छौं । यो अवार्डमा कर्पोरेट स्पोन्सरसिपमा खेलकुद पत्रकार मञ्चले पक्कै पनि खेलाडीलाई यति लामो समयदेखि मोटरसाइकल पुरस्कार दिइरहेको छ । अब हामी कारतर्फ जानुपर्ने अवस्था आएको छ । र सम्भवतः अब आउने नेतृत्वले मञ्चका आगामी वर्षहरूमा पक्कै यो अवार्डलाई मोटरसाइकलबाट कारतर्फ डोर्याउँछ भन्ने लागेको छ ।
अवार्डको प्रत्येक संस्करणमा केही नयाँ कुरा हुन्थ्यो । यसपालि कसरी फरक तरिकाले अवार्ड हुँदै छ ?
यसपालि पनि समस्या छ । कोभिड–१९ ले पारेको प्रभाव प्रत्यक्ष नभएर अप्रत्यक्ष अझै पनि छ । यो २०७७ सालको अवार्ड हो, तर २०७८ सालको अन्तिममा आएर गर्दैछौं । बीचमा कोभिडको दुई लहर आयो, जसले गर्दा यहाँसम्म धकेलियो । मुख्य समस्या भनेको के छ भने ०७७ सालमा कोभिडले गर्दा नेपाली खेलकुद प्रायः ठप्प रह्यो । राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलकुद नै ठप्प रह्यो ।
त्यसलाई कसरी निरन्तरता दिने भन्ने एउटा प्रमुख चुनौती थियो । त्यसैले यसपालि हामी यो अवार्डलाई दशकको अवार्डको रूपमा आयोजना गर्दै छौं । जुन मनोनयन राख्ने विधाहरूलाई हामीले दशकको अवार्डको रूपमा परिणत गरेका छौं । यसपालि १० वर्षभित्र नेपाली खेलकुदमा राज गरेका खेलाडी तथा प्रशिक्षकहरू यो अवार्डमा सम्मानित हुनुहुनेछ । हामीलाई आशा छ, फरक पनि भएकाले यो अवार्डले लामो विरासत खडा गरेको एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डलाई अझै उचाइमा पुर्याउने छ ।
अवार्डको सबैभन्दा प्रतिष्ठित विधा कुन हो र यो वर्ष कसरी गरिँदै छ ?
सबै अवार्ड प्रतिष्ठित हुन् हाम्रा लागि । हामीले कुनै पनि अवार्ड कम, अर्को बेसी (बढी) भन्दैनौं । तर, पक्कै पनि मान्छेले हेर्ने नजर फरक हुन्छ । र, चारवटा विधा जसमा हामी मोटरसाइकल प्रदान गर्छौं, त्यो चाहिँ मुख्य विधा हुन् भन्ने स्थापित भएको छ, पुरुष–महिला विधा । यसपालि हामीले युवा खेलाडीको विधा हटाएका छौं । किनभने कुनै पनि खेलाडीले १० वर्षसम्म युवा समूहमा बसेर खेल्न सक्दैनन् । त्यस कारणले गर्दा यो विधालाई हामीले हटाएर तीनवटा विधामा दशकको पुरस्कार प्रदान गर्नेछौं– पुरुष, महिला र प्रशिक्षक । त्यसै गरी यसपालि दिइने ९ वटा विधामा हामीले त्यस्ता खालका व्यक्तित्वहरूलाई सम्मानित गर्नेछौं, जसले दशक नभइकन दशकौं नेपाली खेलकुदमा योगदान पुर्याएका छन् वा विशेष योगदान पुर्याएका छन् । त्यसैले यो वर्षको अवार्ड अन्य वर्षको तुलनामा विशेष हुँदै छ, विशेष परिस्थितिमा हुँदै छ, विशेष किसिमले फरक पनि हुनेछ ।
हामीले अवार्ड चैत ८ गते नेपाल एकेडेमी हल कमलादीमा गर्दैछौं । यसको तयारी अन्तिम चरण पुगेको छ । हामीले अवार्ड गर्न एउटा स्ट्यान्डर्ड सेट गरेका छौं, त्यसलाई कायम गरेर चैत ८ गते दिउँसो ३ बजे सुरु हुने गरी तयारी गरिरहेका छौं ।
राष्ट्रपतिले बोलाएर बधाई दिने चलन थियो, किन हटेर गएको हो ?
हो, एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्डको विजेतालाई बोलाएर बधाई दिने चलन नेपालको पहिलो राष्ट्रपति डा. रामवरण यादवको पालामा सुरु भएको थियो । सम्माननीय राष्ट्रपतिज्यूबाट दुई वर्ष लगातार यो अवार्डका विजेतालाई कार्यक्रमको भोलिपल्टै आफैंले भेट्न बोलाउनुहुन्थ्यो । र, हामी विजेतालाई शीतल निवास लिएर जान्थ्यौं । त्यो क्रम टुट्नुको मुख्य कारण देशको राजनीतिक अवस्था र अवार्डको समयमा हुने गरेको राजनीतिक व्यस्तता हो । राष्ट्रपतिको व्यस्तताले गर्दा त्यो मिलिरहेको थिएन । अवार्ड भएको दुई/तीन दिनभित्रै भएन भने अलि धेरैपछि गर्दा त्यो ‘फ्रेस’ नहुने र कतिपय विजेताहरू काठमाडौंबाहिरबाट आउनुपर्ने हुँदा लामो समय बस्न समस्या हुने जस्ता कारणहरूले गर्दा हामीले त्यो क्रमलाई निरन्तरता दिन सकेनौं । तर, यसपालि त्यो क्रमलाई जोड्ने हामी प्रयास गरिरहेका छौं । हुन सक्छ यसपालि फेरि राष्ट्रपति वा प्रधानमन्त्रीबाट त्यो क्रमले निरन्तरता पाउन सक्छ ।
यसपालिको अवार्ड पोखरामा हुने चर्चा थियो नि ?
पोखरामा अवार्ड गर्ने भनेर मञ्चको कार्यसमितिले निर्णय नै गरिसकेको थियो । यसपालि अवार्ड फरक तरिकाले महोत्सवको रूपमा पोखरामा गर्ने भनेर एकपटक हामीले अवलोकन गरेर प्रायोजकहरूसँग पनि सल्लाह गरेका थियौं, त्यसमा उहाँहरू सकारात्मक हुनुहुन्थ्यो । हामी पनि एकदमै सकारात्मक थियौं । तर, पछि हामी दशकको कन्सेप्टमा गएपछि प्रायोजकहरूसँग छलफल गर्दा फेस्टिभलको रूपमा नगर्ने हो भने काठमाडौंबाहिर जाँदा खर्च बढी हुने देखियो । त्यसैले गर्दा र पोखरामै गर्नुपर्ने जरुरी नदेखिँदा र प्राविधिक खर्च बढी देखिएपछि काठमाडौंमा नै गर्ने निर्णय गरेका हौं हामीले ।
आगामी वर्षहरूका लागि कस्ता योजना छन् । काठमाडौं वा देशैबाहिर हुने सम्भावना छ ?
अवश्य पनि सम्भावना छ । हामीले यस्ता ठूला अवार्डहरू विदेशमा गर्ने चलन चलेको छ । त्यसैले हुनसक्छ । यो मञ्चको चुनावी वर्ष पनि छ र अब आउने नेतृत्वले यस विषयमा सोच्छ । यो अवार्डको गरिमा बढाउने र फरक गर्ने कुनै कसर बाँकी राख्ने छैन । त्यसैले आगामी वर्षहरूमा हुनसक्छ काठमाडौं बाहिर वा देशबाहिर पनि हुनसक्छ ।
यो वर्षको अवार्डबारे थप केही भन्नुहुन्छ ?
सबै सरोकारवालहरूलाई चैत ८ गते निम्तो पाए पनि नपाए पनि नेपाली खेलकुदसँग सम्बन्धित सबैले प्रत्यक्ष रूपमा आएर अवार्ड हेरिदिनुहोला भन्न चाहन्छु । हेर्न सक्नुभएन भने पनि टेलिभिजनमा हेर्नुहोला । र, जसरी तपाईंहरूले माया गर्दै आउनुभएको छ, त्यसलाई निरन्तरता दिइरहनुहोला । नेपाली खेलकुदलाई माया गर्नुहोला, त्यसले नै हामीलाई अवार्ड गर्न ऊर्जा मिल्दछ ।