वर्ष २०२२ मा खेलकुद

वर्षका उत्कृष्ट पाँच महिला

काठमाडौं । पुरुषको दाँजोमा महिला खेलकुद सबै अर्थमा पछाडि छ । महिलाका खेलहरुमा पुरुषको तुलनामा दर्शक कम हुन्छन् । प्रायोजनले दिने चासो कमी । पुरस्कारलगायतका अन्य सुविधा पनि कम । तर पनि महिला खेलकुदको महत्व पुरुषको भन्दा कत्ति कम छैन ।

महिलाले प्रतिस्पर्धा गर्ने महिलासँगै हो । यस्तै प्रतिस्पर्धामा कतिपय खेलाडी विशेष समयमा गरेको प्रदर्शनका आधारमा आफूलाई सर्वकालिन महान खेलाडीको दर्जामा उभ्याउन सफल हुन्छन् । शनिबारबाट विदा लिएको वर्ष २०२२ मा पनि केही महिला खेलाडीले त्यस्तै कालजयी प्रदर्शन र उपलब्धि हासिल गरेका छन् । जसको चर्चा पछिसम्म भइरहनेछ ।

केटी लेडेकी

सात पटककी ओलम्पिक स्वर्ण विजेता पौडीवाज केटी लेडेकीले आफ्नो विधामा एकछत्र राज गरिरहेकी छिन् । हंगेरीको बुदापेस्टमा भएको १९औं फिना विश्व एक्वेटिक्स च्याम्पियनसिपमा उनले आफ्नो चारवटै विधा (४०० मिटर, १५०० मिटर फ्रिस्टाइल, ४×२०० फ्रिस्टाइल रिले र ८०० मिटर फ्रिस्टाइल)मा स्वर्ण पदक जितिन् ।

यससँगै लेडेकीले विश्व च्याम्पियनसिपमा पदक संख्या २२ पुर्याएकी छिन्, जुन कुनै पनि महिला पौडीवाजले हात पारेको सबैभन्दा बढी पदक संख्या हो । बुदापेस्टमा गरेको प्रदर्शनका कारण उनले तेस्रो पटक ‘फिना सर्वोत्कृष्ट महिला पौडिवाज’को उपाधि जितेकी थिइन् ।

लेडेकीले टोकियो ओलम्पिकपछि आप्mना प्रशिक्षकहरु परिवर्तन गरेका थिइन । तर उनको जादुमय प्रदर्शनहरुले भने निरन्तरता पाइरहेको छ । लेडेकीले भर्खरै मात्र दोस्रो पटक एपी महिला खेलाडीको उपाधि जितेकी छिन् ।

इगा सियाटेक

पोलिस टेनिस खेलाडी सियाटेकले यो वर्ष दुई ग्रान्ड स्लाम उपाधि जितिन्, फ्रेन्च ओपन र युएस ओपन । अस्ट्रेलियन ओपनमा सेमिफाइनल सम्मको यात्रा गरेकी सियाटेक हाल एटिपी विश्व वरियताको पहिलो स्थानमा छिन् ।

फ्रान्समा सियाटेकले अमेरिकाकी कोको गौफलाई पराजित गर्दै करियरको दोस्रो फ्रेन्च ओपन उपाधि जितेकी थिइन् । अमेरिकामा भने सियाटेकले ट्युनिसियाकी ओन्स जाबरलाई पराजित गरिन ।

वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको तेस्रो चरणमा हार्नुअघि सियाटेक ३७ खेलमा अपराजित थिइन् । जुन २१औं शताव्दीकै सबैभन्दा लामो अपराजित यात्रा हो ।

आलेक्सिया पुटेयास

स्पेनिस मिडफिल्डर आलेक्सिया पुटेयास सर्वाधिक बालन डी’अर जित्ने महिला खेलाडी हुन् । उनले २०२१ र २०२२ गरि दुई पटक उत्कृष्ट वर्ष खेलाडीको उपाधि जितेकी छिन् ।

वर्ष २०२२ मा पुटेयासले बार्सिलोनाबाट तीन उपाधि जितिन् । उनकै नेतृत्वमा बार्सिलोनाले महिला युइएफए च्याम्पियन्स लिगमा लगातार दोस्रो पटक फाइनल खेल्यो । तर फाइनलमा लियोनसँग ३-१ ले पराजित हुँदा टोली उपाधिबाट भने विमुख भयो ।

आफ्नो नेतृत्वमा बार्सिलोनालाई च्याम्पियन्स लिगको उपाधि जिताउन नसके पनि वर्ष २०२२ व्यक्तिगत प्रदर्शनका आधारमा पुटेयासका लागि सुखद नै रह्यो । प्रतियोगितामा सर्वाधिक ११ गोल गरेकी पुटेयास सर्वोत्कृष्ट खेलाडी चुनिएकी थिइन् । २०२२ को बालन डी’अरमा उनले इङ्ल्यान्डका बेथ मिद र अस्ट्रेलियाका  सेम करलाई पछि पारेकी थिइन् ।

सिड्नी मेक्लाफ्लिन

अमेरिकन हर्डलर सिड्नी मेक्लाफ्लिन वर्ष २०२२ को अर्को चर्चित नाम हो । ४०० मिटर हर्डल्सका विश्व किर्तिमानी धावक मेक्लाफ्लिनले गत जुलाईमा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपमा आफ्ना दुई विधा (४०० मिटर हर्डल्स र ४×४०० मिटर हर्डल्स)मा स्वर्ण पदक जितेकी थिइन् ।

४०० मिटर हर्डल्समा निर्धारित दूरी ५०.६८ सेकेन्डमा पूरा गर्दै मेक्लाफ्लिनले आफ्नै विश्व कीर्तिमानलाई सुधार गरिन् । एक वर्ष अगाडि भएको टोकियो ओलम्पिकमा उनले निर्धारित दूरी ५१.४६ सेकेन्डमा पूरा गरेकी थिइन् ।

टोकियोमा पनि उनले दुवै विधामा स्वर्ण पदक जितेकी थिइन । मेक्लाफ्लिन गत अक्टोबरमा वर्ष २०२२ को विश्व वर्ष महिला एथ्लेटिक्स खेलाडी घोषित भएकी थिइन् ।

क्याथरीन म्याकारियो

अमेरिकी फरवार्ड क्याथरीन म्याकारियोका लागि फ्रेन्च लिग वानको टोली लियोन सिनियर करियरको पहिलो क्लब हो । २०२१ मा म्याकारियो फ्रेन्च क्लबमा आवद्द भएकी थिइन् ।

आफ्नो पहिलो सिजनमै म्याकारियोले लियोनलाई आठौं पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन प्रभावशाली भुमिका खेलिन् । उपाधि अभियानमा म्याकारियोले आठ गोल गरेकी थिइन् । फाइनलमा बार्सिलोनालाई पराजित गर्दा म्याकारियोले टिमको तेस्रो गोल गरेकी थिइन् । लियोनका लागि म्याकारियोले २७ खेलमा १९ गोल गरिसकेकी छिन् ।