वर्ष २०२२ मा खेलकुद

गएको वर्ष जमेका पाँच पुरुष खेलाडी

काठमाडौं । खेलाडीहरु अधिकतम २० वर्ष सम्म खेल्न सक्छन् । कोही त्यो भन्दा थोरै बढी ।  त्यसपछि खेलाडीलाई व्यावसायिक बनिरहन गाह्रो हुन्छ । त्यसैले पनि उनीहरु आफ्नो खेल जीवनमा आफूलाई पूर्ण रुपमा सम्बन्धित खेलमा समर्पित गर्छन् ।

सवै वर्षहरुले उत्तिकै महत्व राख्छन । करियरको उतारचढाब बीच अविस्मरणीय वर्षहरुले भने खेलाडीको जीवनमा नयाँ आयाम थप्ने काम गर्छ । कुनै पनि खेलाडीलाई पछिसम्म चिनाउने कारक नै उसले खेल क्षेत्रमा बिताएका राम्रा वर्षहरु हुन् । वर्ष २०२२ ले केही महान खेलाडीको जीवनमा यस्तै आयाम थप्ने काम गर्याे । केही युवा खेलाडीहरु इतिहास बनाउन व्यस्त रहे ।

लियोनल मेसी

विश्व प्रसिद्ध खेलाडी लियोनल मेसीका लागि वर्ष २०२२ विशेष रह्यो । मेसीले दुई साता अगाडि मात्र आफ्नो ट्रफी क्याबिनेटमा विश्वकप थपे । यससँगै मेसीले फुटबलमा जित्न बाकी केही रहेन ।

आफ्नो अन्तिम विश्वकपमा अर्जेन्टिनालाई उपाधि जिताउन मेसीले व्यक्तिगत रुपमा कुनै कसर छाडेनन् । अर्जेन्टिनाले फाइनलमा फ्रान्सलाई टाइ ब्रेकरमा ४-२ ले हराएको थियो । अतिरिक्त समय सकिँदा सम्म खेल ३-३ को बराबरीमा थियो । खेलमा मेसीले दुई गोल गरेका थिए ।

कतारमा कुल ७ गोल गरेका मेसीले विश्वकपमा दोस्रो पटक सर्वोत्कृष्ट खेलाडीको उपाधि हात पारे । २०१४ विश्वकपमा मेसीले पहिलो पटक सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेका थिए । त्यतिबेला मेसी उपाधि जित्नबाट एक कदम मात्र पछि परेका थिए ।

गत सिजन मेसीका लागि व्यावसायिक करियरकै खराब सिजन थियो । लिगमा ६ गोल मात्र गरेका मेसी यसपालीको बालन डी’अरमा शीर्ष ५० भित्र पनि अटाएनन् । तर जारी सिजन उत्कृष्ट लयमा रहेका मेसीले अर्को वर्ष प्रदान गरिने बालन डी’अर जित्ने सम्भावना बलियो बनाएका छन् । विश्कप उपाधिसँगै दशकौंदेखि चल्दै आएको मेसी-रोनाल्डोको को महान भन्ने बहसमा पनि मेसी अगाडि बढेका छन् ।

करिम बेन्जेमा

फ्रान्स लगातार विश्वकपको फाइनलमा पुग्यो । तर दुवै पटक करिम बेन्जेमाको उपस्थितिविना । कतारमा बेन्जेमा आफ्नो दोस्रो विश्वकप खेल्न तयार थिए । करियरकै उत्कृष्ट लयमा थिए । तर विश्वकप खेल्न कतार पुगिसकेका बेन्जेमालाई प्रशिक्षणका दौरान तिघ्रामा चोट लाग्यो ।

२०१४ को ब्राजिल विश्वकप खेलेका बेन्जेमाले रुस विश्वकप गुमाएका थिए । २०१५ को अन्त्यतिर बेन्जेमालाई सहकर्मी म्याथ्यु भ्याल्बुएनालाई ब्ल्याकमेलिङ गरेको आरोपमा राष्ट्रिय टोलीबाट हटाइएको थियो । त्यसपछि उनले युरो २०२१ मा राष्ट्रिय टिममा पुनरागमन गरेका थिए ।

बेन्जेमाको उपस्थिति हुँदो हो त फ्रान्सले विश्वकप जित्न सक्थ्यो कि ?

भन्न सकिन्न । तर करियरकै सुखद वर्षको अन्त्य बेन्जेमाले सोचे अनुरुप गर्न पाएनन् । गत सिजन बेन्जेमाको प्रेरणामा रियाल मिड्रडले १४औं पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जित्यो । प्रतियोगिता अवधिभर दुई ह्याट्रिकसहित १५ गोल गरेका बेन्जेमाले त्यही प्रदर्शनको आधारमा साडियो माने र केभिन डी ब्रुयनालाइ पछि पार्दै यसपाली बालन डी’अरको उपाधि जित्न सफल भएका थिए ।

एलिउड किप्चोगे

२०२२ मा विश्वको ध्यान तान्ने अर्का खेलाडी हुन धावक एलिउड किप्चोगे । ३८ वर्षे केन्यन धावक किप्चोगे लामो दूरीका नायक हुन् । पछिल्ला दुई ओलम्पिकमा लगातार स्वर्ण पदक जितेका किप्चोगेले तीन महिना अगाडि बर्लिन म्याराथनमा आफ्नै नाममा रहेको विश्व कीर्तिमान तोडे ।

बर्लिनमा किप्चोगेले २ घन्टा १ मिनेट ९ सेकेन्डमा पूरा गरे । २०१८ मा किप्जोगेले २ घन्टा १ मिनेट ३९ सेकेन्डमा दुरी पूरा गरेका थिए । ‘आज म खुसी छु । आधिकारिक विश्व कीर्तिमान फेरी पनि छिटो भएको छ,’ किप्जोगेले बर्लिन म्याराथनपछि सामाजिक संजालमा खुसी साटेका थिए ।

बर्लिन म्याराथनपछि विज्ञापन र प्रायोजन सम्झौताहरुमा किप्जोगेलाई भ्याइनभ्याई नै भएको थियो । उमेरले ३८ वर्ष पुगिसकेका किप्जोगे अझै केही वर्ष दौडिन चाहन्छन् ।

अर्मान्ड डुप्लान्टिस

आजको दिनमा ट्र्याक एन्ड फिल्डमा एकतर्फी राज गरिरहेका खेलाडी हुन् स्वीडेनका अर्मान्ड डुप्लान्टिस । २३ वर्षे डुप्लान्टिस पोल भल्टका विश्व कीर्तिमानधारी खेलाडी हुन् । उमेर समूह र सिनियर करियरमा १९ पटक देशको प्रतिनिधित्व गर्दा उनले १५ पटक त स्वर्ण पदक नै जितेका छन् । डुप्लान्टिस टोकियो ओलम्पिकका स्वर्ण पदक विजेता हुन् ।

अहिलेसम्म डुप्लान्टिसले इन्डोर र आउटडोर गरि पाँच पटक विश्व कीर्तिमान बनाएका छन् । २०२२ मा मात्र तीन पटक । टोकियो ओलम्पिकबाट विश्वव्यापी चर्चा कमाएका डुप्लान्टिसले यो वर्ष विश्व इन्डोर टूर, विश्व इन्डोर च्याम्पियनसिप, डाइमन्ड लिग, विश्व च्याम्पियनसिप र युरोपियन च्याम्पियनसिप गरि भाग लिएका सबै प्रतियोगितामा स्वर्ण पदक जिते ।

अमेरिकामा भएको विश्व च्याम्पियनसिपमा डुप्लान्टिसले ६.२१ मिटरको जम्प गरेका थिए । जुन अहिलेको विश्व कीर्तिमान हो । डुप्लान्टिस गत अक्टोबरमा वर्ष २०२२ को विश्व पुरुष एथ्लेटिक्स खेलाडी घोषित भएका थिए ।

राफेल नाडाल

टेनिसका सर्वकालिन महान खेलाडी राफेल नाडालका लागि वर्ष २०२२ एकदमै सफल रह्यो । दुई ग्रान्ड स्लाम उपाधि सहित नाडालले व्यक्तिगत ग्रान्ड स्लाम संख्या २२ पुर्याए । जुन पुरुष टेनिस इतिहासकै सबैभन्दा धेरै हो ।

सिजनको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपन जितेका नाडालले त्यसपछि फ्रेन्च ओपनको उपाधि जिते । अस्ट्रेलियामा नाडालले रुसका ड्यानियल मेदवेदेवलाई पराजित गर्दै दोस्रो अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । त्यस्तै कीर्तिमानी १४औं फ्रेन्च ओपन जित्ने क्रममा नाडालले नर्वेका कास्पर रूदलाई पराजित गरेका थिए । नाडाल प्रतिद्वन्दी नोभाक जोकोभिकभन्दा एक ग्रान्ड स्लाम उपाधिले अगाडि छन् ।