फुटबलका राजा पेले

पेलेले भने ‘आई लाइक नम्बर २२’

पेलेले तीन पटक विश्वकपको उपाधि जितेर विश्व फुटबलमा निर्विवाद हस्तीको हैसियत बनाइसकेका थिए । अहिलेजस्तो टेलिभिजन र इन्टरनेटको जमाना थिएन । तैपनि उनलाई विश्वभर नचिन्ने कोही फुटबलप्रेमी थिएनन् । विश्वभर नै पेले फुटबलका सबभन्दा ठूलो सेलिब्रिटी थिए ।

यही भएर फुटबलको खासै प्रभाव नरहेको अमेरिकामा यो खेललाई लोकप्रिय बनाउने उद्देश्यसहित फिफाको विशेष इन्ट्रेस्ट रहेको योजनाका लागि पेलेलाई निक्कै ठूलो मुल्यमा न्युयोर्क कसमससँग अनुबन्ध गरिएको थियो । उनको ख्यातिले पूरा विश्व ढाकिसकेको थियो । हामी आफै फुटबल खेल्ने मानिसका लागि उनी भगवानजस्तै थिए ।

मेरो फुटबल करियरमा एउटा निक्कै सुखद संयोग भयो । १९७७ मा पेलेको न्युयोर्क कसमस एउटा उपकारी खेलका लागि कोलकाता आएको थियो । एउटा ठूलो क्लब अमेरिकाबाट आए पनि चर्चा चाँही पेलेको मात्र थियो । फुटबलको पर्यायका रुपमा स्थापित भइसकेका पेलेजस्ता असाधारण खेलाडी भारत आउनु नै ठूलो कुरा थियो । खासमा उनी भारत आउनुपछिको उद्देश्यमा पनि फिफाको संलग्नता थियो । उनीहरु भारतजस्तो ठूलो देशमा फुटबल लोकप्रिय बनाउन चाहन्थे ।

अमेरिका विश्वको सबभन्दा ठूलो अर्थतन्त्र हुनाका साथै भुगोल र शक्तिमा पनि एक नम्बर थियो । तर विश्वको एक नम्बर खेलको त्यहाँ कुनै प्रभाव थिएन । भारत जनसंख्या, भुगोल र अर्थतन्त्रको हिसावमा लोभलाग्दो थियो । तर, यहाँ पनि क्रिकेट एक नम्बर खेल थियो । त्यसकारण फिफा नेतृत्वले योजनाबद्ध रुपमै खेललाई अमेरिका र भारतजस्ता देशमा लोकप्रिय बनाउने रणनीति अख्तियार गरेको थियो । र, पेले त्यो रणनीतिका मुख्य हतियार थिए ।

पेले पहिलो पटक आउँदा भारतमा एक प्रकारको बेग्लै उत्साह थियो । उनलाई टाढैबाट हेर्नेको भिड समेत थेगिनसक्नु थियो । सबैलाई पेले आएका छन् भन्ने थाहा थियो । नेपालबाट र देहरादुनबाट पनि धेरै मानिसहरु पेलेलाई हेर्न गएका थिए । टिकट नपाएका कारण मिलाइदिने अनुरोधका साथ मलाई धेरैले फोन गरे ।

पेलेलाई हेर्न दश हजार/बिस हजारमा टिकट ब्ल्याकमा बिक्री भइरहेको पनि सुनिन्थ्यो । यहि समयमा जर्मनीलाई विश्वकप जिताएका फ्रान्ज बेकेनबाउर एसियामा पहिलो पटक आएका थिए । तर, बेकेनबाउर जापानमा पुग्दा उनलाई कसैले सोधेन । उनलाई कसैले वास्ता नै गरेन । बेकेनबाउर भारत पनि आउने कार्यक्रम थियो । तर, भारतमा सब मनिसहरु ‘पेले, पेले’ पुकार्नमै मस्त थिए । यही कारण बेकेनबाउर रिसाएर भारत नै आएनन् । हामीले बेकेनबाउरसँग खेल्न पाएनौं । खेल्ने कुरा त परको भयो, देख्न समेत पनि पाएनौं ।

जे होस् पेले भारत आए । पेले भारत आउँदाको मसँग एउटा गज्जवको स्मरण छ । एउटा मानिस स्कुटर चलाइरहेको थियो । मलाई भेटेपछि एक्कासी ‘दादा एक टिकट देदो, आपको एक स्कुटर दुंगा’ भन्छ । ‘कस्ले भन्यो ? एउटा टिकटमा एउटा स्कुटर आउँछ ! नचाँहिने कुरा । ल दे न त’ भने । त्यतिसम्मको हल्ला थियो ।

पेले आउँदा भारतमा यस्ता हल्लाहरु पनि धेरै भए । मलाई चाँही आफ्ना मान्छेहरु दार्जिलिङ, देहरादुन र नेपालबाट कलकत्ता आउँदा निक्कै दबाब भयो । सबैजना टिकट मिलाउनुपर्यो भन्छन् । फुटबल संघले टिकट मिलाउन सकेको छैन । भारतमा क्रिकेट लोकप्रिय भए पनि कलकत्तामा चाँही फुटबलको संस्कार एकदमै संवृद्ध थियो । मानिसहरु फुटबल भनेपछि पागल थिए । त्यस्तोमा पेले आउँदा उनको खेल हेर्न चाहनेको मारामार थियो ।

पेले मैदान प्रवेश गर्दाको क्षण अहिले सम्झँदा पनि रोमाञ्चित पार्ने खालको थियो । उनी मैदानमा आउँदा, बाफरे बाफ, ९० हजार मान्छेको एउटै आवाज थियो, ‘पेले, पेले’ । अहिले क्रिकेट हुने इडेन गार्डेनमा खेल भएको थियो । अगाडी खेल्ने खेलाडी भन्दा पनि पेलेसँग फोटो खिच्नेको घुँइचो लाग्यो । खेलाडी नै फोटो खिच्न थाले । के खेल्नु ! प्रशिक्षकले फोटो खिच्दै गरेका खेलाडीलाई गाली गरेर त्यसो नगर्न भने पनि खेलाडीहरु पेलेसँग फोटो खिच्नमै मस्त भइरहे । मैले पनि खिचाएँ ।

खेल सुरु भयो । रोबार्टाे कार्लाेस अग्ला थिए । मलाई डर थिएन । हार्ने त जसरी पनि हो । एक गोलले हार्दै थियौं । अर्काे एक गोल भयो । रोबर्टाे कार्लोसले बल पाएपछि मैले उसबाट खोसे । छलाउँदै गोल गरेँ । बाफरे ! त्यो क्राउड ९० हजारको ! २-२ बराबर । त्यो मेरो लागि ठूलो कुरा थियो ।

खेलपछि पेलेलाई पत्रकारले सोधेका थिए, ‘तपाईलाई इन्डियाको कुन खेलाडी राम्रो लाग्यो ? उसले भन्यो, ‘आइ लाइक नम्बर २२’ । मैले गोल ठोकेको थिएँ नी ! गोल गरेपछि पेलेले मलाई ध्यानपूर्वक हेरेका रहेछन् । त्यो खेलमा पेलेले गोल गरेका थिएनन् ।

मेरो बारेमा ‘हेडलाइन’ आयो अर्काे दिन । म आफूलाई लक्की खेलाडी मान्छु । दुनियाका महान् खेलाडी पेलेसँग खेल्न पाएको छु । उनीसँग खेल्दा गोल गर्न पाएँ । पेलेसँगमात्र हैन । म्यारोडोनासँग कोलकत्तामा खेलेको छु । म्यारोडोनासँग फोटो खिच्ने, खेल्ने भएको थियो । पेले र म्यारोडोना दुबैसँग खेल्न पाएँ । मेरो लागि यो सन्तुष्टीको विषय हो ।

विश्व फुटबलका सर्वोत्कृष्ट खेलाडी पेलेप्रति हार्दिक श्रद्धाञ्जली !