फाल्गुन २, २०८२ शनिबार | ०१:५३:१३
प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा प्रिमियर लिगमा अझै गाह्रो छ त आर्सनललाई ? ट्वान्टी–२० विश्वकप: क्रिकेट हारेको एउटा विवाद ट्वान्टी–२० विश्वकपः एसोसिएटबाट सुरक्षित छैनन् टेस्ट राष्ट्रहरू ! विश्वकपमा नेपालः इङ्ल्यान्डविरुद्धको त्यो खेल, इटालीविरुद्धको यो खेल गम्भीर समस्यामा टोटनहम क्रिकेट टिमलाई चाहिएको समर्थन राष्ट्रिय हक्की सोमबारदेखि प्लानिङ ब्वाइज आहा रारा गोल्डकपको क्वाटरफाइनलमा एपिएफ झापा गोल्डकपको फाइनलमा गाईघाटलाई हराउँदै एनआरटी क्वार्टरफाइनलमा
शनिबारको दिन फुटबलका राजा पेले

पेलेले भने ‘आई लाइक नम्बर २२’

पेलेले तीन पटक विश्वकपको उपाधि जितेर विश्व फुटबलमा निर्विवाद हस्तीको हैसियत बनाइसकेका थिए । अहिलेजस्तो टेलिभिजन र इन्टरनेटको जमाना थिएन । तैपनि उनलाई विश्वभर नचिन्ने कोही फुटबलप्रेमी थिएनन् । विश्वभर नै पेले फुटबलका सबभन्दा ठूलो सेलिब्रिटी थिए ।

यही भएर फुटबलको खासै प्रभाव नरहेको अमेरिकामा यो खेललाई लोकप्रिय बनाउने उद्देश्यसहित फिफाको विशेष इन्ट्रेस्ट रहेको योजनाका लागि पेलेलाई निक्कै ठूलो मुल्यमा न्युयोर्क कसमससँग अनुबन्ध गरिएको थियो । उनको ख्यातिले पूरा विश्व ढाकिसकेको थियो । हामी आफै फुटबल खेल्ने मानिसका लागि उनी भगवानजस्तै थिए ।

मेरो फुटबल करियरमा एउटा निक्कै सुखद संयोग भयो । १९७७ मा पेलेको न्युयोर्क कसमस एउटा उपकारी खेलका लागि कोलकाता आएको थियो । एउटा ठूलो क्लब अमेरिकाबाट आए पनि चर्चा चाँही पेलेको मात्र थियो । फुटबलको पर्यायका रुपमा स्थापित भइसकेका पेलेजस्ता असाधारण खेलाडी भारत आउनु नै ठूलो कुरा थियो । खासमा उनी भारत आउनुपछिको उद्देश्यमा पनि फिफाको संलग्नता थियो । उनीहरु भारतजस्तो ठूलो देशमा फुटबल लोकप्रिय बनाउन चाहन्थे ।

अमेरिका विश्वको सबभन्दा ठूलो अर्थतन्त्र हुनाका साथै भुगोल र शक्तिमा पनि एक नम्बर थियो । तर विश्वको एक नम्बर खेलको त्यहाँ कुनै प्रभाव थिएन । भारत जनसंख्या, भुगोल र अर्थतन्त्रको हिसावमा लोभलाग्दो थियो । तर, यहाँ पनि क्रिकेट एक नम्बर खेल थियो । त्यसकारण फिफा नेतृत्वले योजनाबद्ध रुपमै खेललाई अमेरिका र भारतजस्ता देशमा लोकप्रिय बनाउने रणनीति अख्तियार गरेको थियो । र, पेले त्यो रणनीतिका मुख्य हतियार थिए ।

पेले पहिलो पटक आउँदा भारतमा एक प्रकारको बेग्लै उत्साह थियो । उनलाई टाढैबाट हेर्नेको भिड समेत थेगिनसक्नु थियो । सबैलाई पेले आएका छन् भन्ने थाहा थियो । नेपालबाट र देहरादुनबाट पनि धेरै मानिसहरु पेलेलाई हेर्न गएका थिए । टिकट नपाएका कारण मिलाइदिने अनुरोधका साथ मलाई धेरैले फोन गरे ।

पेलेलाई हेर्न दश हजार/बिस हजारमा टिकट ब्ल्याकमा बिक्री भइरहेको पनि सुनिन्थ्यो । यहि समयमा जर्मनीलाई विश्वकप जिताएका फ्रान्ज बेकेनबाउर एसियामा पहिलो पटक आएका थिए । तर, बेकेनबाउर जापानमा पुग्दा उनलाई कसैले सोधेन । उनलाई कसैले वास्ता नै गरेन । बेकेनबाउर भारत पनि आउने कार्यक्रम थियो । तर, भारतमा सब मनिसहरु ‘पेले, पेले’ पुकार्नमै मस्त थिए । यही कारण बेकेनबाउर रिसाएर भारत नै आएनन् । हामीले बेकेनबाउरसँग खेल्न पाएनौं । खेल्ने कुरा त परको भयो, देख्न समेत पनि पाएनौं ।

जे होस् पेले भारत आए । पेले भारत आउँदाको मसँग एउटा गज्जवको स्मरण छ । एउटा मानिस स्कुटर चलाइरहेको थियो । मलाई भेटेपछि एक्कासी ‘दादा एक टिकट देदो, आपको एक स्कुटर दुंगा’ भन्छ । ‘कस्ले भन्यो ? एउटा टिकटमा एउटा स्कुटर आउँछ ! नचाँहिने कुरा । ल दे न त’ भने । त्यतिसम्मको हल्ला थियो ।

पेले आउँदा भारतमा यस्ता हल्लाहरु पनि धेरै भए । मलाई चाँही आफ्ना मान्छेहरु दार्जिलिङ, देहरादुन र नेपालबाट कलकत्ता आउँदा निक्कै दबाब भयो । सबैजना टिकट मिलाउनुपर्यो भन्छन् । फुटबल संघले टिकट मिलाउन सकेको छैन । भारतमा क्रिकेट लोकप्रिय भए पनि कलकत्तामा चाँही फुटबलको संस्कार एकदमै संवृद्ध थियो । मानिसहरु फुटबल भनेपछि पागल थिए । त्यस्तोमा पेले आउँदा उनको खेल हेर्न चाहनेको मारामार थियो ।

पेले मैदान प्रवेश गर्दाको क्षण अहिले सम्झँदा पनि रोमाञ्चित पार्ने खालको थियो । उनी मैदानमा आउँदा, बाफरे बाफ, ९० हजार मान्छेको एउटै आवाज थियो, ‘पेले, पेले’ । अहिले क्रिकेट हुने इडेन गार्डेनमा खेल भएको थियो । अगाडी खेल्ने खेलाडी भन्दा पनि पेलेसँग फोटो खिच्नेको घुँइचो लाग्यो । खेलाडी नै फोटो खिच्न थाले । के खेल्नु ! प्रशिक्षकले फोटो खिच्दै गरेका खेलाडीलाई गाली गरेर त्यसो नगर्न भने पनि खेलाडीहरु पेलेसँग फोटो खिच्नमै मस्त भइरहे । मैले पनि खिचाएँ ।

खेल सुरु भयो । रोबार्टाे कार्लाेस अग्ला थिए । मलाई डर थिएन । हार्ने त जसरी पनि हो । एक गोलले हार्दै थियौं । अर्काे एक गोल भयो । रोबर्टाे कार्लोसले बल पाएपछि मैले उसबाट खोसे । छलाउँदै गोल गरेँ । बाफरे ! त्यो क्राउड ९० हजारको ! २-२ बराबर । त्यो मेरो लागि ठूलो कुरा थियो ।

खेलपछि पेलेलाई पत्रकारले सोधेका थिए, ‘तपाईलाई इन्डियाको कुन खेलाडी राम्रो लाग्यो ? उसले भन्यो, ‘आइ लाइक नम्बर २२’ । मैले गोल ठोकेको थिएँ नी ! गोल गरेपछि पेलेले मलाई ध्यानपूर्वक हेरेका रहेछन् । त्यो खेलमा पेलेले गोल गरेका थिएनन् ।

मेरो बारेमा ‘हेडलाइन’ आयो अर्काे दिन । म आफूलाई लक्की खेलाडी मान्छु । दुनियाका महान् खेलाडी पेलेसँग खेल्न पाएको छु । उनीसँग खेल्दा गोल गर्न पाएँ । पेलेसँगमात्र हैन । म्यारोडोनासँग कोलकत्तामा खेलेको छु । म्यारोडोनासँग फोटो खिच्ने, खेल्ने भएको थियो । पेले र म्यारोडोना दुबैसँग खेल्न पाएँ । मेरो लागि यो सन्तुष्टीको विषय हो ।

विश्व फुटबलका सर्वोत्कृष्ट खेलाडी पेलेप्रति हार्दिक श्रद्धाञ्जली !