दोहा । ‘मेसी, मेसी, मेसी’ को पुकारले दोहा गुञ्जायमान हुन छाडेको एक साता बितिसक्यो । आइतबार लुसेल रंगशालामा २२औं विश्वकपको फाइनल नसकिएसम्म पूरा एक महिना दोहा अर्जेन्टिनी कप्तानको नाम पुकार्नमै व्यस्त थियो । त्यसैले पनि लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाबीच भएको त्यो फाइनल दक्षिण अमेरिकी देशका लागि मात्र नभई कतारका लागि समेत एउटा सुखद क्लाइमेक्स बन्यो ।
लियोनल मेसी अर्जेन्टिनामा मात्र होइनन् । विश्वभर नै निकै लोकप्रिय छन् । यही कारण पेनाल्टी सुटआउटमा फ्रान्सलाई पराजित गर्दै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि उचाल्दा दोहाले पनि आफैं उपाधि जितेजस्तो अनुभव गर्न पायो । लुसेल रंगशालामा उपस्थित ८८ हजार दर्शकमा झन्डै ९० प्रतिशत मेसी र उनको देश अर्जेन्टिनाका समर्थक थिए ।
फाइनल भएको दिन आइतबार अन्तर्राष्ट्रिय माइग्रेन्ट डे पनि थियो । कतारको राष्ट्रिय दिवस पनि । प्रत्येक वर्ष कतारले यो दिन भव्यताका साथ मनाउँथ्यो । तर यसपालि विश्वकपको फाइनल पनि परेकाले त्यसको तामझाम अझै बढ्यो ।
दोहाका प्रत्येक चोक र कुनाकाप्चा सधैंझैं ‘मेसी, मेसी, मेसी’ को पुकारले गुञ्जायमान रह्यो । कतारले उद्घाटन खेलमै इक्वेडरसँग नमीठो हार भोगिसकेको थियो । समूह चरणबाट कतारको यात्रा घरेलु भूमिमा पनि अगाडि बढ्न सकेन । नतिजा नै कमजोर भएपछि अक्रम अफिफको नाम विश्वकपमा लामो समय चर्चाको विषय बनेन । क्रिस्टियानो रोनाल्डोको पोर्चुगल पनि क्वाटरफाइनलभन्दा अगाडि बढेन । रोनाल्डोले त पहिलो खेलबाहेक अरूमा पहिलो रोजाइबाट मैदान उत्रने मौका पनि पाएनन् । नेयमार, एमबाप्पे, मोडरिचका नाम पुकार्ने थोरै मात्र थिए । कतारी राजधानी दोहाले मेसी नाम जप्दै बिताएको एक महिनामा १५ लाख हाराहारीमा विदेशी फुटबल समर्थकलाई आतिथ्यता प्रदान ग¥यो ।
अर्जेन्टिना, पोर्चुगल, ब्राजिल, इङ्ल्यान्ड, फ्रान्स, क्रोएसिया, मोरक्को र यस्तै जप गर्दै महिना बिताउने विदेशी समर्थक कतारी भव्यताको ठूला प्रशंसक थिए । दोहाले फिफा विश्वकपलाई कम्तीमा रंगशालाभित्र ग्ल्यामर्स बनाउन गरेका प्रयासको सबै प्रशंसक थिए । फिफा फ्यान फेस्टिभलको नाममा बनाइएको फ्यान जोनको तामझामले कसलाई नलोभ्याउला र ?
तर त्यो भव्यता पछाडिका नायकहरू भने अहिले अन्योलमा छन् । विश्वकपका ६४ खेल आयोजना गर्ने आठ रंगशाला, सहज यातायातका लागि बनाइएको मेट्रो, भव्य तारे होटलहरू अनि यस्तै अरू पूर्वाधार पूरा विश्वलाई नै लोभ्याउने खालका थिए । तर, ती सबै पूर्वाधार बनाउने र विश्वकप आयोजनामा पनि प्रत्यक्ष रूपमा संलग्न रहेर काम गरेकाहरू आफ्नै भविष्यप्रति चिन्तित छन् ।
नेपाल, भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकाका कामदारले पूरा विश्वलाई लोभ्याउने ती पूर्वाधार निर्माण गरेका थिए । आफैंले बनाएको लुसेल रंगशालामा आइतबार अर्जेन्टिनाले जित्दा उपस्थित ८८ हजार दर्शकमा दक्षिण एसियाली दर्शकको उपस्थिति नगन्य थियो ।
विश्वभरबाट १५ लाख हाराहारीमा आएकालाई आतिथ्यता प्रदान गर्ने काम पनि उनीहरूकै जिम्मामा थियो । रंगशाला र पूरा सहरको सुरक्षा व्यवस्था, स्वयंसेवा लगायतका काम गर्नेमा पनि धेरै दक्षिण एसियाली नै थिए । संसारभरबाट आएका पाहुनालाई खुसी पार्नुपर्ने जिम्मेवारी राम्ररी निर्वाह गरेकाहरू विश्वकपपछि आफूले कस्तो सुविधा पाउने र आफूहरू खुसी रहन सक्ने–नसक्नेमा ढुक्क छैनन् ।
कतारको विश्वकप आयोजना अभियानको रंगशाला निर्माण योजनाका एक कामदार टेकबहादुर सुब्बा विश्वकपपछि आफूहरूलाई यस्तै सुविधा र व्यवहार नहुनेमा सशंकित छन् । भन्छन्, ‘विश्वकप नहुँदासम्म हामीमाथि राम्रो व्यवहार भएको थियो । सुविधा पनि रामो छ । तर अब विश्वकप सकियो, पूरा विश्वको ध्यान कतारबाट हट्ने छ । त्यसपछि हामीमाथि के होला भन्ने चिन्ताले सताइरहेको छ ।’
सामान्यतया कामदारहरू मात्र बस्ने कमजोर सुविधामा बसोबास गर्ने र कतारीको हप्कीदप्की सहँदै आएका सुब्बा विश्वकप दौरान पाएको सौहार्दपूर्ण व्यवहार र सुविधाबाट आश्चर्यचकित छन् ।
१२ वर्षअघि कतारले विश्वकप आयोजना अधिकार पाएदेखि नै विदेशी कामदारको अधिकार विश्वव्यापी रूपमा चर्चाको ठूलो विषय थियो ।
३० लाख जनसंख्यामध्ये कतारमा ८५ प्रतिशतभन्दा बढी विदेशीको बसोवास छ । त्यसमध्ये १६ प्रतिशत हिस्सा नेपालीको छ । विदेशी कामदारको बाहुल्य रहेको कतारमा रंगशाला तथा अन्य पूर्वाधार निर्माणको क्रममा मृत्यु भएका कामदारको संख्या नियतवश घटाइएको अधिकारवादी समूहले दाबी गर्दै आएका छन् ।
‘विश्वकपको भव्यताबाट सबै लोभिए । तर कतारलाई यो विश्वकप आयोजना गर्न सक्ने बनाउने हामी हौं । हाम्रो विषयमा यहाँ आउने कुनै पनि फुटबलका समर्थकले चासो लिएको देखिएन,’ राइड सेयरिङ संयन्त्र उभरका बंगलादेशी चालक अर्नभ दासले सुनाए, ‘कतारको कडा नियमले उनीहरूलाई चासो भए पनि व्यक्त गर्न दिएन । कतिपय पश्चिमा मुलुकका समर्थकले यात्राका क्रममा मसँग पनि कतारमा विदेशी कामदारको अवस्थाबारे के कस्तो छ भनेर चासो राखेका थिए । तर सार्वजनिक रूपमा कसैले केही बोल्न सकेनन् ।’
नाइजेरियाली उभर चालक क्रिस्टियन इसाकले नेपाली यात्रु देखेपछि मुख खोलिहाले, ‘तपाईंहरू यहाँको भव्य रंगशाला, मेट्रो, विमानस्थल देखेर चकित पर्नुभएको होला । यो सब त नेपालीले बनाएको हो नि । यो पूरा देश नै नेपालीले बनाएको हो । तर यहाँ नेपालीकै अवस्था राम्रो छैन । काम गर्न आउने भारतीय, बंगलादेशी, श्रीलंकन, पाकिस्तानी, केन्याली, नाइजेरियाली र अरू अफ्रिकीको अवस्था पनि राम्रो छैन ।’
कतारमा कामदार पठाउने देशका पर्यटकले हजारौं डलर खर्च गरेर आउँदा समेत सम्मान नपाएको उनको अनुभव छ । ‘हाम्रा जस्ता देशबाट यहाँ आउने पर्यटकहरूले अध्यागमनदेखि नै हेपाइ सुरु हुने गुनासो हामीसँग गर्छन्,’ उनले भने ।
भारतका अविनाश यादव भने विश्वकपपछि पनि राम्रो व्यवहार र आधारभूत सुविधा पाउनेमा आशावादी छन् । दोहामा सूचना प्रविधिको काम गर्दै आएका इन्जिनियर यादव भन्छन्, ‘पछिल्लो पाँच वर्षयता यहाँ विदेशी कामदारलाई गरिने व्यवहार पहिलाको तुलनामा निकै उदार भएको छ । विश्वव्यापी दबाब बढेपछि सरकारले त्यसमा थप उदारता अपनाउने जनाएको छ । विदेशमन्त्री र श्रममन्त्रीले विश्वकपपछि पनि सुधारलाई निरन्तरता दिने बाचा गरेका छन् । हामी आशावादी छौं । हामीसँग त्यसको विकल्प पनि छैन ।’
यादव जस्ता स्किल कामदारको अवस्था भने सामान्य ननस्किल कामदारको तुलनामा निकै राम्रो छ । स्किल म्यानपावरमाथि खराब व्यवहार भए अर्को विकल्प खोज्ने भएकाले कतारी सरकारले उनीहरूलाई विशेष महत्व दिने उनको अनुभव छ । ‘हामीलाई यस्तो सुविधा भए पनि कुनै विषयमा विशेषज्ञता नभएका सामान्य कामदारको हकमा यो लागू हुँदैन । उनीहरूको अवस्था साँच्चै टिठलाग्दो छ । आफ्नै देशका दाजुभाइको दुर्दशा देख्दा निकै माया लाग्छ । तर केही गर्न सकिन्न ।’
अन्तर्राष्ट्रिय समुदाय र अधिकारवादी समूहहरूको ध्यान कतारबाट नहटे कमजोर आर्थिक अवस्थालाई जित्दै परिवारको हातमुख जोर्न यो मरुभूमिमा आइपुगेकाले अकालमा ज्यान गुमाउने र बाँचिहाले पनि नरकको जिन्दगी स्वीकार्नु नपर्नेमा यादव आशावादी छन् ।