सरुवा बजार

सरुवा बजारमा जिजस, रिचार्लिसन र राफिन्हा किन बन्दैछन् ‘हट प्रोपर्टी’ ?

तीन लन्डन क्लब जारी ट्रान्सफर विन्डोमा ब्राजिलियन फरवार्ड भित्र्याउने होडमा छन् । आर्सनलले म्यानचेस्टर सिटीका गाब्रियल जिससलाई ५ वर्षका लागि क्लबमा अनुबन्ध गरिसकेको छ ।

टोटेनहमले रिचार्लिसनका लागि गरेको ५० मिलियन पाउन्डको प्रस्ताव एभरटनले स्वीकारेको छ । अर्को लन्डन क्लब चेल्सी ५५ मिलियन पाउन्ड खर्चेर लिड्स युनाइटेडका राफिन्हा भित्र्याउन लागिपरेको छ । तर, यी तीन ब्राजिलियन फरवार्ड नयाँ क्लबका लागि उचित अनुबन्धन हुनसक्छन् ?

रिचार्लिसन: एभरटनबाट टोटनहम

टोटनहमले उत्कृष्ट लयमा रहेका रिचार्लिसनलाई ५० मिलियन पाउन्डमा अनुबन्ध गर्ने निश्चित गरेसँगै सरुवा बजारमा नयाँ उछाल ल्याएको छ । गत सिजन एभरटनका स्टार ‘पफर्मर’ बनेका रिचार्लिसनले क्लबका ४३ मध्ये १५ गोलमा योगदान गरेका थिए । जुन एभरटनले गत सिजन प्रिमियर लिगमा गरेको कुल गोलको ३५ प्रतिशत हो ।

टोटनहम यो सरुवा बजारमा खेलाडी भित्र्याउन व्यस्त छ । इभान पेरिसिच, फ्रासर फोस्र्टर र युभेस बिसौमालाई यसअघि नै नयाँ खेलाडीका रूपमा सार्वजनिक गरिसकेको टोटनहमका लागि रिचार्लिसनको अनुबन्धन पनि गत मे महिनामा थपेको १ सय ५० मिलियन पाउन्डको बजेटबाटै सम्भव भएको हो ।

एभरटन आफ्ना उत्कृष्ट खेलाडीलाई बेचेर पैसा कमाउन चाहँदैन थियो । तर, ‘फाइनान्सियल फेयर प्ले’का कारण एभरटन रिचार्लिसनलाई गुमाउन बाध्य बन्यो ।

टोटनहम यो सरुवा बजारमा खेलाडी भित्र्याउन व्यस्त छ । इभान पेरिसिच, फ्रासर फोस्र्टर र युभेस बिसौमालाई यसअघि नै नयाँ खेलाडीका रूपमा सार्वजनिक गरिसकेको टोटनहमका लागि रिचार्लिसनको अनुबन्धन पनि गत मे महिनामा थपेको १ सय ५० मिलियन पाउन्डको बजेटबाटै सम्भव भएको हो ।

प्रिमियर लिगमा स्थापित २५ वर्षीय फरवार्ड रिचार्लिसन एन्टोनियो कोन्टेको नजरमा उनी अझै उत्कृष्ट हुन सक्छन् । रिचार्लिसन खेलमा आफ्नो दृढ लगाव, मिहिनेत र लड्न तयार हुने प्रवृत्ति देखाउन लजाउने खेलाडी होइनन् । उनको आक्रामक र मैदानमा देखिने हठी स्वभावले कोन्टेलाई वैकल्पिक तरिका उपलब्ध हुनेछ ।

विशेषगरी रिचार्लिसन प्रशिक्षक कोन्टेले रुचाउने ३–४–३ शैलीको फ्रन्ट थ्रीमा जुनसुकै पोजिसनमा पनि खेल्न सक्छन् । उनले टिमभित्र पनि ह्युङ मिन सन र डेजान कुलुभ्सेभ्स्कीलाई उम्दा प्रतिस्पर्धा दिनेछन् । उनी ह्यारी केनका लागि पनि उचित विकल्प हुन सक्छन्, जसको कमी गत सिजन महसुस भएको थियो ।

गत सिजन एभरटनको सुरुआती–११ मा उनले २८ पटक स्थान बनाएका थिए । त्यसमध्ये १९ खेलमा रिचार्लिसन प्रमुख स्ट्राइकरको भूमिकामा उत्रिएका थिए । त्यसैले टोटनहमसँग अब आवश्यकताअनुसार योगदान गर्न सक्ने विकल्पमा रिचार्लिसन तयार हुनेछन् ।

रिचार्लिसन अहिले टिममा रहेका लुकास मौरा र स्टेभन बर्गवाइनको ‘अपग्रेड’ हुनेछन् । टोटनहमले आगामी सिजन च्याम्पियन्स लिगमा पनि प्रतिस्पर्धा गर्ने भएकाले कोन्टेलाई आवश्यक पर्ने ठूलो टिमको मागमा पनि रिचार्लिसनको आगमनले पूरा गर्नेछ । रिचार्लिसन स्वतस्फूर्त रूपमा पहिलो रोजाइमा पर्ने निश्चित छैन । तर, सिजन अघि बढ्दै जाँदा उनी नियमित सुरुआती ११ मा पर्नेमा शंका छैन । त्यसका साथै उनले टोटनहमको टिममा कस्तो डेप्थ ल्याउँछन् भन्ने महत्त्वपूर्ण रहने छ ।

गाब्रियल जिजस: सिटीबाट आर्सनल

अलेक्जेन्डर लाकाजेट फ्रान्सेली क्लब लियोन फर्किएसँगै आर्सनलले नयाँ फरवार्ड भित्र्याउने पक्का थियो । एडी एनकेटिहाले पाँच वर्षको नयाँ सम्झौता गरे पनि आर्सनल एकमात्रै फरवार्ड लिएर नयाँ सिजनमा होमिने जोखिम लिन सक्दैनथ्यो । विशेष गरी युरोपेली फुटबल फेरि आर्सनलको मुद्दा बन्न थालेकाले पनि शीर्ष चारको लक्ष्य एक फरवार्डबाट पूरा गर्ने मूर्खता आर्सनलले गर्न सक्दैन ।

गाब्रियल जिजस जस्ता स्ट्राइकरको क्षमता मिकेल अर्टेटाको टिमलाई सबैभन्दा धेरै चाहिएको पक्ष हो । जिजस गत सिजन पेप ग्वार्डिओलाको टिममा नियमित खेलाडी रहेनन् । तर, सीमित खेलमा पनि उनले ८ गोल र ८ असिस्ट गरेका थिए । अन्य कुनै सिटीका खेलाडीले पनि प्रिमियर लिगमा गत सिजन जिजसको भन्दा धेरै असिस्ट गरेनन् । यद्यपि केभिन डी ब्रुयनले मात्र उनी समान ८ असिस्ट गरेका थिए ।

अन्य गोल स्कोरर भिक्टोर ओसिमहेन र जियानलुका स्कामाकासँग पनि आर्सनलको ‘रुमर’ चलेको थियो । तर अर्टेटा टिममेटसँग राम्रो ‘लिन्क अप प्ले’ गर्ने खेलाडी भित्र्याउन चाहन्थे । त्यसैले उनले जिजस रोजे । गत सिजन आर्सनलका उच्च गोलकर्ता बुकायो साका, एमिल स्मिथ रो र गाब्रियल मार्टिनेली थिए । यी तीनै फरवार्ड फ्लान्कबाट भित्र छिरेर स्टाइकरले खाली गरेको स्थानबाट आक्रमण गर्दै गोल गर्न रुचाउँछन् । र, अर्टेटा आगामी सिजन पनि यही रणनीतिलाई निरन्तरता दिन चाहन्छन् ।

यहाँ सकारात्मक पक्ष भनेको लाकाजेटको ‘अपग्रेडेड’ फरवार्ड हुनेछन् जिसस । उनी अर्टेटाले रुचाएको ४–२–३–१ फर्मेसनमा सुरुआत गर्नेछन् । तर, उनीसँग सिटीबाट वाइडमा खेलेको अनुभव छ । २५ वर्षीय जिजसको आगमनसँगै आर्सनलको ‘भाइब्रेन्ट’ आक्रामक लाइनअप अझै सशक्त बन्ने छ । गत सिजनको अन्त्यमा शीर्ष चारमा रहन असफल आर्सनल आगामी सिजन त्यसलाई सुधार्न चाहन्छ । जिजसको उपस्थितिबाट आर्सनलले आफूलाई अर्को सिजन च्याम्पियन्स लिगमा फर्किने बलियो दाबेदारमा तयार गरेको छ ।

राफिन्हा: लिड्सबाट चेल्सी

पहिले बार्सिलोना क्लब राफिन्हा अनुबन्ध गर्ने होडमा अगाडि थियो । त्यसपछि आर्सनलको चर्चा चल्यो । तर, अहिले चेल्सी र लिड्सबीच राफिन्हाका लागि सम्भौता भइसकेको छ । यद्यपि अझै राफिन्हाले कुन क्लबमा जाने भन्ने निर्णय लिइसकेका छैनन् । लिड्सले चेल्सीको प्रस्ताव स्वीकारेसँगै स्टामफोर्ड ब्रिज राफिन्हाको नयाँ गन्तव्य हुने सम्भावना बलियो छ ।

गत सिजन मुस्किलले रेलिगेसन टारेको लिड्स ब्राजिलियन विंगरको मूल्य उच्च राख्न सफल भयो । गत सिजन लिड्सले गरेका ४२ मध्ये १४ गोलमा राफिन्हाको प्रत्यक्ष योगदान थियो । जुन कुल गोलको ३३ प्रतिशत हो ।

चेल्सी गत सिजन वाइड एरियामा अस्थिरताको सिकार बन्यो । गत सिजन राइट फ्लान्कमा देखिएको सोही समस्याको समाधानस्वरुप व्यवस्थापक थोमस टचेल राफिन्हालाई भित्र्याउन चाहन्छन् । राइट विंग्सबाट ‘कट इन’ गर्न रुचाउने राफिन्हाले गत सिजन गरेका पूरा ११ गोल बायाँ खुट्टाले नै गरेका थिए । राफिन्हाको उपस्थितिले चेल्सीका राइट ब्याक रीस जेम्सलाई पनि फाइदा हुनेछ, जब उनी अगाडि जान्छन् ।

राफिन्हाले टचेललाई रणनीतिक रूपमा पनि केही लचकता प्रदान गर्नेछन् । टचेलले तीनजना डिफेन्डर ब्याक लाइनमा खेलाउन चाहन्छन् । तर, एन्टोनियो रुडिगर र आन्द्रेस क्रिस्टियनसनले स्टामफोर्ड छाडेसँगै टचेलसँग धेरै विकल्प छैन । त्यसैले टचेलले आफ्नो रणनीति अब ४–२–३–१ वा ४–३–३ मा परिवर्तन गर्न सक्छन् । र, त्यसमा स्थापित हुन राफिन्हाले उनलाई मद्दत गर्न सक्छन् । गत सिजन टचेलसँग राइट विंग्समा उपलब्ध विकल्प हाकिम जियाच मात्रै थिए । राइट विंग्समा अझै फिट हुने विकल्प राफिन्हा हुन् ।

राफिन्हा बल पोसेसन आफूसँग नहुँदा पनि मिहिनेत गर्ने खेलाडी हुन् । आवश्यकता पर्दा उनी विंग्स ब्याकमा पनि जम्न सक्ने खेलाडी छन् । टचेलले राफिन्हाको प्रयोग गरेर पछाडिबाट प्रभावकारी आक्रमणको मौका बनाउन सक्छन् ।

गत सिजन लिड्सबाट उत्कृष्ट प्रदर्शन गरेका राफिन्हा ब्राजिलको टिममा पनि परे । उनले ब्राजिलका लागि पहिलो गोलसमेत गर्ने मौका पाएका थिए । सिजनकै प्रदर्शनको आधारमा राफिन्हाले युरोपेली फुटबल खेल्न पाउने अवसरको सिर्जना गरेका छन् । र, अहिले उनलाई अनुबन्ध गर्ने होडमा रहेका टिममा गए भने आगामी सिजन च्याम्पियन्स लिग खेल्ने मौका पाउनेमा शंका छैन ।