काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने पुरुष ट्वान्टी-२० विश्वकप क्रिकेटको १०औँ संस्करण आज सुरु हुँदै छ । प्रतियोगिताको उद्घाटन खेलमा भिड्दै छन् पाकिस्तान र नेदरल्यान्ड्स । यो खेल श्रीलंकाको सिंहाली स्पोर्ट्स क्लब क्रिकेट मैदानमा हुनेछ ।
सोही दिन वेस्ट इन्डिजले स्कटल्यान्ड र भारतले अमेरिकाको सामना गर्नेछन् । दुवै खेल भारतीय भूमिमा हुनेछ । यस विश्वकपमा नेपालसहित २० देशले सहभागिता जनाउँदै छन्, त्यसमा ११ टेस्ट र ९ एसोसिएट राष्ट्र छन् ।
विश्वकपको ढाँचा कस्तो छ ?
यस ट्वान्टी-२० विश्वकप २०२४ को जस्तै ढाँचामा आयोजना हुनेछ । सबै टोलीहरूले सुरुवाती समूह चरणबाटै खेल्नेछन् । हरेक टोलीका शीर्ष दुई टोलीले सुपर एटमा स्थान बनाउने छन् ।
सुपर एटमा पनि दुई समूह हुनेछ । सुपर एटबाट शीर्ष दुई टोलीहरू सेमिफाइनलमा पुग्छन् । प्रत्येक समूहको विजेताले अर्को समूहको उपविजेतासँग सामना गर्नेछ । प्रतियोगितामा डेब्यू गर्ने एकमात्र राष्ट्र इटाली हो । क्यानडा सन् २०१४ पछि विश्वकपमा फर्किएको छ । स्कटल्यान्डले बंगलादेशको स्थान लिएको छ । सुरक्षाका कारण भारतमा खेल्न नमानेपछि आईसीसीले बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई खेलाउने निर्णय लिएको हो ।

प्रारम्भिक चरणमा २० टोलीलाई चार समूहमा विभाजन
समूह ए: भारत, नामिबिया, नेदरल्यान्ड्स, पाकिस्तान, अमेरिका
समूह बी: अस्ट्रेलिया, आयरल्यान्ड, ओमान, श्रीलंका, जिम्बावे
समूह सी: इङ्ल्यान्ड, इटाली, नेपाल, स्कटल्यान्ड, वेस्ट इन्डिज
समूह डी: अफगानिस्तान, क्यानडा, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स (युएई)
विश्वकपमा प्रयोेग हुने मैदान
यो विश्वकपमा भारतका ५ र श्रीलंकाका तीन गरी ८ मैदान प्रयोग गरिनेछ । भारतमा कोलकाताको इडेन गार्डेन, मुम्बईको वानखेडे, चेन्नईको एमए चिदम्बरम, अहमदाबादको नरेन्द्र मोदी र दिल्लीको अरुण जेट्ली क्रिकेट मैदानमा विश्वकप हुनेछ ।
श्रीलंकामा कोलम्बोको आर प्रेमादासा र सिंहाली स्पोर्ट्स क्लब तथा पाल्लेकेस्थित पाल्लेकेले क्रिकेट मैदानमा खेल खेलाइने छ । विश्वकपको फाइनल नरेन्द्र मोदी क्रिकेट मैदानमा हुने तय छ । तर पाकिस्तान फाइनल पुगेको खण्डमा खेल श्रीलंकाको आर प्रेमादासा मैदानमा सञ्चालन गरिनेछ ।

यस्ता छन् विश्वकपका नियमहरू
प्रतियोगिता ट्वान्टी-२० ढाँचामा खेलाइने छ । प्रत्येक इनिङ्स ६ ओभरको पावरप्लेबाट सुरु हुनेछ र त्यस चरणमा फरक–फरक फिल्डिङ प्रतिबन्धहरू छन् ।
खेलहरू ३ घण्टा १० मिनेटको हुनुपर्छ, प्रत्येक इनिङ्स १ घण्टा २५ मिनेट छुट्याइएको हुनुपर्छ र २० मिनेटको इनिङ्स ब्रेक हुनेछ ।
यो विश्वकपमा ‘स्टप–क्लक’ हुन्छ जसको अर्थ बलिङ पक्ष अघिल्लो ओभर समाप्त भएको ६० सेकेन्डभित्र अर्र्को ओभर बलिङ गर्न तयार हुनुपर्छ ।
यदि अम्पायरको फैसला चित्त नबुझेमा हरेक टोलीले प्रतिइनिङ्स दुई डिफ्लेक्ट डिसिजन रिभ्यु सिस्टम (डिआरएस)को मौका पाउनेछ ।
यदि दुवै टोलीले बराबरी रन बनाएमा विजेताको घोषणा सुपर ओभरबाट लगाइने छ । त्यो पनि बराबरी भएमा नतिजाको टुंगो नलाग्दासम्म त्यो जारी रहेनछ ।

नतिजाका लागि दुवै टोलीले समूह चरणमा पाँच, सेमिफाइनल र फाइनलमा १० ओभर खेलेको हुनुपर्नेछ । यदि मौसमको यो विन्दुपछि पछि खेल रोकियो भने विजेता निर्णय गर्न डकवर्थ लुइस स्टर्न मेथर्ड (डिआरएस) बाट गरिने छ ।
यदि पाकिस्तान सेमिफाइनलमा पुग्यो भने भारतमा तय सेमिफाइनलको कुनै एक खेल श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा क्रिकेट मैदानमा हुनेछ ।
ट्वान्टी-२० विश्वकपका विजेता
हालसम्म विश्वकपमा ९ संस्करण सम्पन्न हुँदा ६ देश च्याम्पियन बनेका छन् । जसमा भारत, इङ्ल्यान्ड र वेस्ट इन्डिजले समान दुई तथा पाकिस्तान, अस्ट्रेलिया र श्रीलंकाले समान एक पटक उपाधि उचालेका छन् ।
भारत (सन् २००७, २०२४), इङ्ल्यान्ड (२०१०, २०२२), वेस्ट इन्डिज (२०१२, २०१६), पाकिस्तान (२००९), श्रीलंका (२०१४) र अस्ट्रेलिया (२०२१) मा च्याम्पियन बनेका थिए ।