काठमाडौं । आईसिसी ट्वान्टी-२० विश्वकपको १०औं संस्करण आज शनिबार सुरु हुँदै छ । मार्च ८ सम्म चल्ने प्रतियोगितामा २० देश उपाधिका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दै छन् ।
नेपालले आइतबार दुई पटकको पूर्व विजेता इङ्ल्यान्डसँग खेल्दै विश्वकप सुरुआत गर्दै छ । सहभागी टोलीमध्ये नेपाललाई तटस्थ क्रिकेट प्रशंसकहरूको मनमा बस्न सफल राष्ट्रका रूपमा लिइएको छ । पछिल्ला वर्षहरूमा देखाएको सम्भावना, क्रिकेटलाई लिएर समर्थकको पागलपनले नेपाललाई अन्य एसोसिएट राष्ट्रमाझ खास बनाएको छ ।
नेपालको विश्वकप यात्रा यसपालि पनि रोमाञ्चले भरिएको थियो । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्न लागेको विश्वकपमा पुग्न नेपालले नाटकीय जित आत्मसात गरेको छ, जसले टोलीलाई थप परिचित बनाएको छ ।
ओमानमा सम्पन्न एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल अपराजित रहँदै च्याम्पियन बन्यो । यसबीच नेपालले युएईविरुद्धको तनावपूर्ण एक रनको जित पाएको थियो अनि कतारविरुद्धको त्यो स्कोर रक्षा । यिनै बिर्सन नसक्ने क्षणले नेपाललाई तेस्रो पटक विश्वकपमा स्थान दिलायो । नेपालले यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो । विश्व क्रिकेट मञ्चमा आफूलाई बारम्बार प्रमाणित गर्न खोजिरहेको नेपाललाई यो स्थिरता नयाँ युगको सुरुआतका रूपमा लिन सकिन्छ ।

प्रतियोगितामा नेपाल समूह ‘सी’ मा छ । जसमा नेपालको प्रतिद्वन्द्वीका रूपमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । समान दुई पटकका विश्वकप च्याम्पियन इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै अर्को एसोसिएट राष्ट्र स्कटल्यान्ड अनि विश्व क्रिकेटको नयाँ टोली इटालीका कारण क्रिकेट विश्लेषकले यसलाई प्रतियोगिताकै कठिन समूह बताइरहेका छन् ।
विस्फोटक ब्याटिङ र शक्तिशाली बलिङ इङ्ल्यान्डको बलियो पक्ष हो । वेस्ट इन्डिज आफ्नो अप्रत्याशित र पावर हिटिङ क्षमताका लागि परिचित छ । समूहमा रहेको बंगलादेशले सुरक्षाको कारण देखाएर भारत आउन नसक्ने भनेपछि आईसिसीले स्कटल्यान्डलाई समावेश गरेको छ । युरोपको छनोटमा स्कटल्यान्डलाई उछिनेर नेदरल्यान्ड्स र इटालीले विश्वकपमा स्थान बनाएको थियो । पहिलो अनुभव लिइरहेको इटाली त्यस्तो एसोसिएट राष्ट्र हो, जसले नेपाललगायत टोलीलाई ‘अपसेट’ गर्ने क्षमता राख्छ । त्यसैले नेपाललाई सुपर एटमा पुग्न निकै चुनौतीपूर्ण हुने अनुमान गर्न सकिन्छ ।
कठिन चुनौतीका बावजुद नेपाल आफ्नै छुट्टै विशेषता लिएर भारत पुगेको छ । नेपालको टोली सन्तुलित छ । टोलीमा अनुभवी र युवा जोसको मिश्रण छ । कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख र कप्तान रोहित पौडेललगायतको ब्याटिङ युनिटले सुरुआती ब्याटिङमा बलियो योगफल खडा गर्न र दबाबमा लक्ष्य पछ्याउन सक्ने विश्वास गरिएको छ ।

ट्वान्टी-२० मा स्पिन बलिङ नेपालको शक्ति हो । चाहिएको बेला विकेट दिलाउन सक्ने सन्दीप लामिछानेले यसपालि पनि बलिङ लाइनअपको नेतृत्व गर्दै छन् । उनीसँगै लेफ्ट आर्म स्पिनर ललित राजवंशीले टोलीको ‘स्पिन डिपार्टमेन्ट’मा विविधता थप्ने काम गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र गुलसन झाले ब्याटिङ र बलिङ दुवैमा योगदान दिँदा टोलीको सन्तुलन अझ बलियो बन्नेछ ।
इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले महत्वपूर्ण क्षणहरूमा दबाब सामना गर्दै आफ्नो क्षमता प्रमाणित गरिसकेको छ । युएई र कतारमाथिको साँघुरो/संघर्षपूर्ण जितले नेपाली टोली तनावपूर्ण परिस्थितिमा पनि प्रदर्शन गर्न सक्छ भन्ने सन्देश दिएको छ । नेपाली खेलाडीमा परिपक्व निर्णय क्षमता बलियो बनेको छ । यो परिपक्वपनले मुम्बईमा ठूला टोलीहरूसँग प्रतिस्पर्धा गर्न सजिलो बनाउने अनुमान गर्न सकिन्छ । यद्यपि नेपालसँग ठूला प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नका लागि ‘रियालिस्टिक लिमिटेसन’ धेरै छन् ।
नेपालसँग प्रतिभाशाली म्याच विनरहरू छन् । तर, मुम्बईमा नेपालको बलिङ डेप्थको असली परीक्षा हुनेछ । जब नेपालले इङ्ल्यान्ड र वेस्ट इन्डिज जस्ता टोलीसँग प्रतिस्पर्धा गर्नेछ, जोसँग शक्तिशाली ब्याटिङ युनिट छ ।

नेपालसँग विश्वकप जस्तो ठूलो मञ्चमा हुने उच्च तीव्रताको खेलका लागि त्यस्तो राम्रो अनुभव छैन । पछिल्लो संस्करण पनि नेपालले ठूला टोलीसँग संघर्ष गरेको थियो । दक्षिण अफ्रिकासँग हातमा आइसकेको जित पनि नेपालले फुत्काएकोे थियो । जतिबेला दक्षिण अफ्रिकाले नेपालविरुद्ध एक रनको रोमाञ्चक जित पाएको थियो । यसपालि उच्च तीव्रताको खेलमा कन्सिस्टेन्सी कायम राख्नु नेपालको सबैभन्दा ठूलो चुनौती हुनेछ । कम्तीमा शीर्ष तीनभित्र या अप्रत्यासित नतिजा आत्मसात गरेर नेपाली टोली अगाडि बढ्न सक्षम छ ।