माघ ४, २०८१ शुक्रबार | १६:२३:०१
हालान्ड २०३४ सम्म सिटीमै रहने खुमलटारविरुद्ध एपिएफ विजयी सुदूरपश्चिमको विजयी यात्रा जारी टाइगर कपको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने अल्कारेज चौथो चरणमा चर्च ब्वाइजको सहज जित अल हिलालको सानदार जितमा मार्कस लियान्द्रोको ह्याट्रिक अमान्ड डियालोको ह्याट्रिकमा युनाइटेडको जित सहज जित निकाल्दै रियाल क्वार्टरफाइनलमा सरस्वती क्लबले थाल्यो ‘बी’ डिभिजन लिगको तयारी हालान्ड २०३४ सम्म सिटीमै रहने खुमलटारविरुद्ध एपिएफ विजयी सुदूरपश्चिमको विजयी यात्रा जारी टाइगर कपको विजेताले ५ लाख ८५ हजार ५५५ पाउने अल्कारेज चौथो चरणमा चर्च ब्वाइजको सहज जित अल हिलालको सानदार जितमा मार्कस लियान्द्रोको ह्याट्रिक अमान्ड डियालोको ह्याट्रिकमा युनाइटेडको जित सहज जित निकाल्दै रियाल क्वार्टरफाइनलमा सरस्वती क्लबले थाल्यो ‘बी’ डिभिजन लिगको तयारी
शनिबारको दिन आहा रारा गोल्डकप

सहाराका ‘अजित’

कसैको मुखै छुच्चो । मनमा लागेको कुरा भनिहाल्नुपर्ने । कसैको अहित चिताएर होइन, तैपनि सिधा बोल्नेलाई कसले मन पराउनु ? साँचो कुरा बोल्दा पनि धेरैको आँखाको तारो बनिरहनुपर्ने ।

नेपाली राष्ट्रिय टोलीको जर्सी लगाइसकेका नेपाल पुलिस क्लबका रक्षक अजित भण्डारी पनि छुच्चो मुखकै कारण धेरैको आँखी बनेका छन् ।

सानो छँदा अजितले सुनेका थिए, ‘प्रस्ट वक्ता सुखी भव:’ अर्थात सिधा कुरा बोल्ने मानिस सुखी हुन्छ । तर यो श्लोक अचेल धेरैको जीवनमा लागू हुँदैन । आलोचना कसैलाई मनपर्दैन । तब प्रशंसाबाट खुसी नहुने को होलान् र ?

प्रस्ट बोल्ने बानीले अजितबाट धेरैका लागि अप्रिय कुरा बोलायो । जसको मूल्य उनी चुकाइरहेका छन्, जीवनका सबै व्यक्तिगत र व्यावसायिक पक्षमा । कमसेकम उनलाई त्यस्तै लाग्छ ।

यी त सब उनका गुनासा न हुन् । तर, नेपाली फुटबलले आस गरेका शीर्ष रक्षकहरूको सूचीमा अटाउन सफल अजितको जीवनमा उपलब्धिका शृंखला पनि कम छैनन् ।

पोखरा रंगशाला आहा–रारा गोल्डकप फुटबलको २०औं संस्करण आयोजना गर्ने तयारीमा मस्त छ । आहा–राराको आयोजक सहारा क्लबद्वारा सञ्चालित एकेडेमीबाट उत्पादित अजितको करियरमा अहिले सफलताकै चर्चा सान्दर्भिक होला ।

सहारा क्लबले अनाथ, असहाय र आर्थिक रूपमा विपन्न बालबालिकालाई फुटबल र शिक्षामार्फत देशको सक्षम नागरिकमा रूपान्तरण गर्ने उद्देश्यसहित ५० को दशकको अन्त्यतिर एकेडेमी खोलेको थियो ।

राष्ट्रिय टोलीका पूर्वकप्तान अनिल गुरुङ त्यही एकेडेमीका पहिलो ब्याचका खेलाडी हुन् । अजित चाहिँ २०६२ सालमा १४ वर्षको उमेरमा सहारा एकेडेमी छिरेका थिए । सहारा एकेडेमीबाट हुर्केको उनीभित्रको फुटबल प्रतिभाले अहिले राष्ट्रिय खेलाडीको पहिचान बनाउन सफल भइसकेको छ ।

नेपाल प्रहरीको नेपाल पुलिस क्लबबाट व्यावसायिक करियर अगाडि बढाइरहेका अजितसामु जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आफ्नो टिमलाई राम्रो पोजिसनमा पुर्याउने जिम्मेवारी छ ।

आधुनिककालको लिगमा सायद यसपालिको टोली पुलिसको सबैभन्दा कमजोर टोली हो । त्यसमाथि चोटका कारण भरपर्दा रक्षक रविन श्रेष्ठ अझै मैदानबाहिर छन् । यही कारण अजितमाथिको जिम्मेवारी थप बढेको छ ।

लिग जिम्मेवारीले अजितमाथि दबाब पक्कै छ । तर त्योभन्दा बढी उनलाई अहिले आफू हुर्केको पोखरा रंगशालामा हुन लागेको आहा–रारा गोल्डकप खेल्ने र पुलिसलाई उपाधि जिताउने धोकोले उत्साहित बनाएको छ ।

१४ वर्षकै उमेरमा सहारा पुगेका अजितले चार वर्ष त्यही एकेडेमीमा बिताए । त्यसक्रममा १६ वर्षमै सहाराको पहिलो रोजाइको टिमबाट उनी मोफसलका प्रतियोगिताहरू खेल्न योग्य भइसकेका थिए ।

२०६५ सालको आहा–रारा गोल्डकपमा १७ वर्षका अजितले आयोजक सहाराको पहिलो रोजाइबाट प्रतिस्पर्धा गरे । करियरमा त्यो उनका लागि सबैभन्दा सुखद मोड थियो । त्यही प्रतियोगितापछि शीर्ष डिभिजनको लिगमा उनलाई सशस्त्र प्रहरी बलको एपिएफलगायतका टिमबाट प्रस्ताव आयो ।  

जतिबेला सहारामा उनको फुटबल सीप तिखारेका प्रशिक्षक किरण श्रेष्ठ बौद्ध फुटबल क्लबमा थिए । त्यसैले अरू क्लबबाट प्रस्ताव आए पनि अजितलाई लिग खेल्न बौद्ध नै सही रोजाइ लाग्यो । २०६८ सालमा दुई वर्षको लागि बौद्धसँग सम्झौता गर्दै उनले शीर्ष डिभिजनको यात्रा थाले । सम्झौताको दोस्रो वर्ष २०६९ को लिग बीचमा चलिरहँदा अजित बौद्धबाट नेपाल पुलिस क्लबतिर हानिए । बौद्धले भने त्यही सिजन शीर्ष डिभिजनको हैसियत गुमायो ।

नेपाल पुलिस क्लब त्यतिबेला अहिलेजस्तो संघर्षरत थिएन । हरि खड्का, रमेश बुढाथोकी, पर्वत पाण्डे, अनन्तराज थापा ( हालका प्रशिक्षक), राकेश श्रेष्ठ, सुमन सुवेदी, जुमनु राई, भोलानाथ सिलवाल, दीपक पौडेल, दीपेन्द्र पौडेल, रितेश थापाजस्ता स्टार खेलाडीले सजिसजाउ टोलीबाट फुटबल खेल्ने र सँगै जागिरे जीवन पनि भएपछि के चाहियो र ? अजितलाई यस्तै लाग्थ्यो । अहिले उनी पुलिस खेलाडी बनेको ९ वर्ष भइसकेको छ ।

यसबीच पुलिसले लिग उपाधि जित्न नसके पनि अजितसहितको टोली मोफसलका थुप्रै नकआउट प्रतियोगितामा च्याम्पियन भइसकेको छ । अजितहरूको पुलिसले बुढासुब्बा गोल्डकप, आहा–रारा गोल्डकप, खप्तड गोल्डकप र इटहरी गोल्डकपको उपाधि उचालिसकेको छ ।

सामुदायिक क्लबले ठूलो पारिश्रमिकमा स्टार खेलाडी भिर्याएर टिम बलियो बनाइरहँदा पुलिस भने पुरानै शैलीमा घिस्रिइरहेको छ । त्यसैले अजितजस्ता खेलाडीमाथि टोलीको महारथी छवि जोगाउनुपर्ने जिम्मेवारी पनि थपिएको छ ।

यही जिम्मेवारीसँगै आहा–राराको उत्साहले माघ महिनामा पुलिसलाई अर्को उपाधि दिलाउने अजितको योजना छ ।

‘अहिले जे छु, जति छु सहारा क्लबकै कारण हो । एकेडेमीले अहिलेको अवस्थाका कमाउने बाटो बनाइदियो । देशको जर्सी लगाएर प्रतिनिधित्व गर्ने भएको छु,’ २८ वर्षे अजित एकेडेमी खेलाडी हुनुमा गर्व गर्छन्, ‘अहिले बाबा त हुनुहुन्न । एकेडेमीमा हुँदा बाबा पनि काम सकेर खेल हेर्न आउनु हुँदोरहेछ । तर कहिल्यै पनि आउँछु भन्नुभएन । खेलका क्रममा टोपी हल्लाउँदै बोलाउनु हुँदोरहेछ । त्यत्रो दर्शकको हुलमा देख्दिनँ थिएँ । तर घर गएपछि खेलको वर्णन गर्ने, मैले तेरो खेल हेरें नि ? मैले बोलाएको पनि सुनिनस् भन्नुहुन्थ्यो ।’

बाबा र सहारा क्लबका कारण पोखरा रंगशालासँगको साइनो थप भावनात्मक बनेको अजित सुनाउँछन् । भन्छन्, ‘त्यो रंगशालामा सधंै मैदान उत्रिँदा बेग्लै अनुभव हुन्छ । त्यसैले कहिले आहा–रारा गोल्डकप होला भन्ने लागिरहन्छ । पुलिस टोलीबाट यसपालि फेरि उपाधि जित्ने लक्ष्य बनाएको छु । मलाई आहा–राराका लागि पोखरा रंगशालामा मैदान उत्रिने प्रतीक्षाले व्यग्र बनाइरहन्छ ।’

पुलिस क्लब आहा–रारा गोल्डकपमा पाँच पटक उपाधि जित्न सफल टोली हो । तर पुलिसले पोखरामा स्थानीय समर्थकबाट कमैमात्र साथ पाउने गरेको थियो । पछिल्लो समय अजित पुलिस आएपछि भने दृश्य फेरिन थालेको छ । पोखरामा सर्वाधिक सफल मनाङ मस्र्याङ्दी र थ्री स्टार क्लबको मात्रै नभएर पुलिसको पनि समर्थक बढेका छन् ।

‘पुलिसको पोखरामा फ्यान थिएनन् । मेरा साथीहरू पनि मनाङ र थ्री स्टारलाई समर्थन गर्छन् । तर, म खेल्दा यताका मान्छेले पुलिसको समर्थन गर्न थालेका छन् । अहिले पुलिसका समर्थक बढ्न थालेको छ । मेरा लागि त पोखरामा खेल्दा पारिवारिक माहोल हुन्छ,’ अजित भन्छन् ।

राष्ट्रिय टिमसम्मको यात्रा

अजितले उमेर समूहबाट कहिल्यै नेपालको प्रतिनिधित्व गर्ने मौका पाएनन् । सहाराबाट बौद्ध पुगेलगत्तै उनले युवा राष्ट्रिय टोलीको निम्तो पाएका थिए । तर, बंगलादेशमा हुने भनिएको १९ वर्षमुनिको साफ च्याम्पियनसिप रद्द भएका कारण नेपालको जर्सी लगाउने अजितको सम्भावना तत्काल थाँती रह्यो ।

उमेर समूहमा भाग्यले साथ नदिए पनि २०७५ सालको अन्तिममा राष्ट्रिय टोलीका तत्कालीन मुख्य प्रशिक्षक योहान कालिनले कुवेत भ्रमणका लागि घोषित २३ सदस्यीय टोलीमा अजितलाई स्थान दिएका थिए । कुवेतविरुद्ध खेलेका दुईमध्ये पहिलो मैत्रीपूर्ण खेलमा अजितले पहिलो रोजाइबाटै खेल्ने मौका पाए ।

प्रशिक्षकले आफूमाथि गरेको विश्वासमा खरो उत्रिएका अजितले दोस्रो खेलमा पनि मौका पाए । तर, दोस्रो खेल दौरान खुट्टा भाँचिएपछि उनले तीन महिना मैदानबाहिर बिताउनुपर्यो ।

‘खुट्टा भाँचिएपछि अब खेल्न सक्दिनँ भन्ने लागेको थियो । तर प्रशिक्षक (कालिन) ले निको हुन्छ, हरेस नखाऊ, फेरि खेल्न सक्छौं भनेर हौस्याउनुभयो । राष्ट्रिय टोलीका फिजियोथेरापिस्ट आविष्कार पुडासैनीले धेरै सहयोग गर्नुभयो । त्यही कारण चाँडै निको भएर मैदान फर्किएँ,’ अजित त्यो पीडा सम्झन्छन् ।  

कालिनको कार्यकालमा नेपालले ११ अन्तर्राष्ट्रिय खेल खेल्यो । कालिनका प्रिय अजितले त्यसमध्ये सबैजसो खेल पहिलो रोजाइबाटै खेले । तर, गत वर्ष दशरथ रंगशालामा नेपालले थ्री नेसन्स कपको उपाधि जित्दाको फाइनलपछि अजित राष्ट्रिय टोलीमा देखिएका छैनन् ।

राष्ट्रिय टोलीका वर्तमान मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको रणनीतिमा पर्न नसकेका अजितको लक्ष्य अहिले राष्ट्रिय टोलीमा पुनरागमन जनाउनु हो । त्यसका लागि उनीसामु जारी लिग र मोफसलका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्नुको विकल्प छैन ।

‘अबको ध्यान नै राष्ट्रिय टोलीमा पुनरागमन जनाउनुमा हुनेछ । सधैँ राम्रै खेलिरहेको छु जस्तो लाग्छ । मेरो गल्तीमा पुलिसले गोल खाएको छैन,’ अब्दुल्लाहको मन जित्ने प्रयासमा रहेका अजित भन्छन्, ‘सबै प्रशिक्षकसँग आफ्नो योजना हुन्छ । सायद म अहिले प्रशिक्षकको योजनामा पर्न सकेको छैन होला । तर, त्यसका लागि म मैदानमा आफूलाई प्रमाणित गरेर उहाँको योजनामा पर्ने प्रयास हुनेछु ।’