फाल्गुन २३, २०८२ शनिबार | ०५:५३:०३
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा
शनिबारको दिन शनिबारको दिन

नयाँ प्रशिक्षक, चुनौती पुरानै

काठमाडौं । एन्फाले ठ्याक्कै एक वर्ष पहिले यही बेला अस्ट्रेलियाका म्याथ्यु रसलाई राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

एक वर्षका लागि सम्झौतामा रहेका रसले एसियन कप छनोटको तेस्रो चरणमा राम्रो प्रदर्शन गर्ने र आसन्न साफ च्याम्पियनसिपको उपाधि जित्ने महत्वकांक्षा बोकेका थिए । तर, उनको कार्यकाल र महत्वाकांक्षा दुवैको अन्त्य बीचमै भयो । गन्तव्य टाढै रहँदा सम्झौताअवधि नसकिँदै रसले अक्टोबरमा राजीनामा दिएर बाटो तताए ।

एन्फा श्रोतका अनुसार युइएफए प्रो लाइसेन्स होल्डर रस नेपाली फुटबलको वास्तविकताका कारण विचलित थिए । घरेलु फुटबल शून्य हुँदा खेलाडी छनोट गर्न गाह्रो हुनु, टोलीमा खेलाडी रोटेट भइरहनु, उपलब्ध केही भर गर्न लायक सिनियर खेलाडी पनि बेथिति र अन्योलपूर्ण भविश्यका कारण संन्यासको सोचमा हुनु जस्ता कुराले उनी निराश थिए ।

नेपाली राष्ट्रिय फुटबलका पूर्व मुख्य प्रशिक्षक म्याथ्यु रससँग सम्झौता गर्दै अखिल नेपाल फुटबल संघ एन्फा)का महासचिव किरण राई, तस्विर सौजन्यः एन्फा

रसले कूल ७ खेलमा नेपालको टचलाइन सम्हाले । उनको ‘डेब्यू’मै सिंगापुरविरुद्धको मैत्रीपूर्ण खेलमा नेपालले १–० को ऐतिहासिक जित हासिल गर्यो । त्यसपछिका ६ मध्ये चार खेलमा नेपाल पराजित हुँदा दुईमा बराबरीको नतिजा आत्मसात गर्यो । सबै हार नेपालले एसियन कप छनोटको तेस्रो चरणमा बेहोरेको थियो ।

भौतिक पूर्वाधारमा देखिएका सामान्य कमजोरी सुधार्न एन्फा उदासिन भएपछि दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भएको धेरै भइसकेको थियो । जसका कारण मलेसिया र भियतनामविरुद्धको दोस्रो लेग नेपालले घरेलु समर्थकमाझ खेल्न पाएन । रसले रंगशालामा एकैपटक मात्र टचलाइन सम्हाले, त्यो पनि मैत्रीपूर्ण खेलमा । सेप्टेम्बरमा नेपालले बंगलादेशलाई मैत्रीपूर्ण खेलमा आतिथ्य गरेको थियो ।

आफ्नो हक लाग्ने खेल विपक्षीको मैदानमा खेल्नुपर्ने परिस्थितिले निम्त्याएको दूर्भाग्यपूर्ण नतिजाको श्रृंखलाले निरन्तरता पाइरहँदा रस नेपाली टिमसँग जोडिइरहन चाहेनन् । नेपालसँगको यात्रा जति लामो भयो, त्यसले आफ्नो व्यक्तिगत करियरलाई त्यति नै घात पुग्ने ठहर गर्दै उनले नेपाली टोलीलाई चटक्कै छाडे । अनि उनले चाइनिज ताइपेइलाई आफ्नो नयाँ गन्तव्य बनाए ।

नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा सम्पन्न नेपाली काग्रेस सभापति कप फुटबल प्रतियोगिताका दौरान नेपालका पूर्व मुख्य प्रशिक्षक म्याथ्यु रस दशरथ रंगशालामा, फाइल तस्विर/खेलाडी ।

रसलाई नियुक्त गरेको ठ्याक्कै एक वर्षपछि रिक्त मुख्य प्रशिक्षकको पदमा एन्फाले इटालियन गुग्लिएल्मो एरिनालाई ल्याउने तयारी गरिरहेको छ । यद्यपि एन्फाले उनलाई भौतिक रुपमै सार्वजनिक भने गरेको छैन, एरिनाले नेपाली राष्ट्रिय टोली सम्हाल्ने लगभग पक्का छ ।

एरिना गत साता एन्फा टेकनिकल डाइरेक्टर हरि खड्कासँगै राष्ट्रिय लिगको खेल हेर्न दशरथ रंगशाला पुगेका थिए । जसले रसको सुरुआती दिनको झल्को दिइरहेको थियो । एक वर्षअघि रस पनि औपचारिक रुपमा प्रशिक्षकको नियुक्तिपत्र लिनुअघि नै यसैगरी रंगशालामा देखा परेका थिए । तर, त्यतिबेला मैदानमा घरेलु लिग चलिरहेको थिएन । त्यतिबेला रंगशालामा नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा सम्पन्न नेपाली काग्रेस सभापति कप फुटबल प्रतियोगिता चलिरहेको थियो ।

एरिनासँग पनि नेपालको टिभम सम्हाल्दा रसभन्दा फरक परिस्थिती हुने छैन । नियमित रुपमा खेलाडी पलायनको समस्या निरन्तर छ । नेपाली फुटबलको ब्राण्ड निरन्तर ओरालो लागिरहेकै छ । भ्रष्टाचार, अनियमितता, बेथितिलगायतका विवादले विश्राम लिएका छैनन् । नेपाली फुटबलको अन्तर्राष्ट्रिय उपस्थिती टिठलाग्दो अवस्थामा कायम छ । प्रशिक्षकका रुपमा नयाँ अनुहार भए पनि उनले भोग्ने चुनौती पुरानै छने ।

लाओस राष्ट्रिय फुटबल टोलीका पूर्व मुख्य प्रशिक्षक गुग्लिएल्मो एरिना, तस्विरः लाओ फुटबल संघ ।

तर एउटा कुरामा भने रसलाई भन्दा एरिनालाई सुविधा छ । रस नेपालमा रहँदासम्म देशभित्र घरेलु प्रतियोगिता शून्य थियो । अहिले भने एरिनासँग राष्ट्रिय लिगमै गरेको प्रदर्शनका आधारमा खेलाडी छान्ने अवसर छ । तर, लिगमा उनले खोजेजस्तो खेलाडी पाउन भने मुस्किल हुनेछ । किनभने, राष्ट्रिय लिगमा सहभागी टोलीले शीर्ष स्तरको फुटबल पस्कनै संघर्ष गरिरहेका छन् । यसको प्रमुख कारण हो, शीर्ष खेलाडीको कमी ।

पछिल्लो पटक एन्फाले तीन वर्षअघि सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गरेको थियो । त्यसयता सहिद स्मारक लिग हुन सकेको छैन । यो तीन वर्षको अन्तरालमा करिब एक सय खेलाडी विदेश पलायन भइसकेका छन् । यही कारण पनि नेपाली टोली कमजोर हुँदै गएको हो ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलमा उत्रिएको नेपाली टोली,  फाइल तस्विर/खेलाडी ।

रसअघि नेपालको टचलाइन भिन्सेन्जो अल्बर्टो एनेसको नेतृत्वमा थियो । उनको कार्यकालदेखि नै नेपाली टोलीमा व्यापक रुपमा खेलाडी फेरबदल हुँदै आएको थियो । यो सिलसिला रसको अन्तिम खेलसम्म चल्यो । रसले ८ खेलाडीलाई त पहिलोपटक राष्ट्रिय टोलीमै राखे । यीमध्ये ६ खेलाडीले अन्तर्राष्ट्रिय ‘डेब्यू’ नै पाए ।

रसको नेतृत्वमा ‘डेब्यु’ गर्ने अन्तिम खेलाडी थिए, मिडफिल्डर कुशल देउवा । उमेर समूहमा नेपालको क्याप्टेन आर्मब्यान्ड लगाइसकेका कुशलले भियतनामविरुद्ध पहिलो पटक राष्ट्रिय जर्सी लगाउने मौका पाएका थिए । कुशल सन् २०२४ को यु–२० ब्याचका प्रमूख खेलाडी हुन् । अहिले उनी विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट राष्ट्रिय लिग खेलिरहेका छन् ।

राष्ट्रिय लिगको पूर्व सन्ध्यामा कुशलकै उमेरका एक दर्जन खेलाडीले अस्ट्रेलियालाई आफ्नो गन्तव्य बनाए । ती सबै खेलाडीसँग राष्ट्रिय टोलीबाट ढिलो चाँडो खेल्ने खुबी थियो । यीमध्ये सबैभन्दा चर्चित नाम थियो, राइट ब्याक राम थापा । यु-१९ टोलीका पूर्व कप्तान राम ६ दिनअघि मात्र पलायन भए । उनलाई सनीस श्रेष्ठको बलियो बिकल्पका रुपमा हेरिएको थियो ।

एन्फा राष्ट्रिय लिगमा नव जन जागृति क्लबविरुद्ध त्रिभुवन आर्मी फुटबल क्लबका मिडफिल्डर कुशल देउवा, तस्विर सौजन्यः एन्फा ।

यो कहालिलाग्दो यथार्थबीच नेपाली फुटबललाई सही दिशामा लैजाने उद्धे्रश्यसहित एरिना मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हाल्न आइपुगेका छन् । एएफसी प्रो लाइसेन्स प्रशिक्षक उनीसँग चार महादेशका विभिन्न क्लब अनि राष्ट्रिय टोली सम्हालेको अनुभव छ । उनले पछिल्लो पटक लाओसको राष्ट्रिय टोली सम्हालेका थिए ।

प्रशिक्षकका लागि आवेदन दिइरहँदा एरिनालाई थाहा भएको हुनुपर्छ, नेपालले अहिलेसम्म दक्षिण एसियाली फुटबल महासंघको आयोजनामा हुने साफ च्याम्पियनसिप पनि जितेको छैन । यस्तोमा उपलब्ध खेलाडी र कमजोर पूर्वाधारबीच एरिनालाई साफ च्याम्पियनसिपको उपाधि जित्ने चुनौती हुनेछ । अहिलेका लागि एरिनाको परीक्षा यही नै हो ।

एरिनाको नेतृत्वमा सम्भवतः नेपालले पहिलो पटक यही चैत्र १२ गते हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपालले एएफसी कप छनोटको तेस्रो चरणको अन्तिम खेलका लागि लाओसको भ्रमण गर्नेछ । लाओस र नेपाल, दुवै छनोट समीकरणबाट बाहिरिसकेका छन् । लाओसलाई तुलनात्मक रुपमा नेपालभन्दा कमजोर प्रतिद्धन्द्धी मान्ने गरिन्छ । यस्तोमा नेपाल कम्तिमा पनि अंकको खाता खोल्न चाहन्छ । यद्यपि पहिलो लेगमा लाओसले नेपालमाथि २-१ को ऐतिहासिक जित हासिल गरेको थियो ।

लाओसविरुद्ध २–० ले पछाडि परेको अवस्थामा मनिष डाँगीले पेनाल्टीमार्फत एक गोल फर्काएका थिए । खासमा उनी अट्याकिङ मिडफिल्डर हुन् । तर, नेपालमा भरपर्दो स्ट्राइकरको कमीले गर्दा उनलाई रसले नम्बर ९ पोजिसनमा प्रयोग गरेका थिए । पछिल्लो पटक अन्तरिम मुख्य प्रशिक्षक हरि खड्काले पनि मनिषलाई त्यही पोजिसनमा खेलाएका थिए ।

नेपालले वर्ष २०२५ मा कूल ५ गोल गरेको थियो । जसमा स्ट्राइकरबाट मात्र दुई गोल सम्भव भएका थिए । सिंगापुरविरुद्ध जिलेश्पीजंग कार्कीले गोल गरेका थिए । बाँकी गोल रक्षकद्धय सनीस श्रेष्ठ र अनन्त तामाङ तथा पछिल्लोसमय डिफेन्सिभ मिडफिल्डमा खेल्दै आएका रोहित चन्दले गरेका थिए ।

साफ च्याम्पियनसिपको १५ औं संस्करण यही सेप्टेम्बरमा बंगलादेशको ढाकामा हुने भनिएको छ । यस्तोमा नयाँ प्रशिक्षक एरिनासँग भरपर्दो स्ट्राइकर तयार पार्ने चुनौती पनि हुनेछ । राष्ट्रिय लिग अझै एक महिना चल्नेछ । यो बीचमा एरिनाले उपलब्ध स्ट्राइकरलाई पक्कै पनि ‘स्टडी’ गर्नेछन् ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा सिंगापुरविरुद्ध गोल गरेपछि नेपाली स्ट्राइकर जिलेश्पिजंग कार्काीको सेलिब्रेसन

लिगकै बीचमा हङकङविरुद्ध पनि उनीबाट केही नयाँ कुराको अपेक्षा नेपाली समर्थकको रहनेछ । सँगै नेपाली समर्थकले उनीबाट आशा गर्ने अर्को कुरा के पनि हो भने, कम्तिमा यसपाली मुख्य प्रशिक्षक एरिनाको धैर्यको बाँध रसको जसरी बीच्बाटोमै नभत्कियोस । उनले पूरा कार्यकाल नियुक्ति हुँदाकै उत्साह र जोशका साथ नेपाली फुटबलको सेवा गरुन ।