स्पेनिस ला लिगा

जोसिलो जिरोना, जसले ल्यायो ला लिगामा उथलपुथल

काठमाडौं । युरोपियन फुटबलका शीर्ष चार लिगमध्ये एक ला लिगाले यसपालि सबैको ध्यान तानेको छ । २०२३ वर्षको अन्तिम खेल शुक्रबार सकिँदा ला लिगामा अनौठो भइरहेको छ ।

सधैंको उपाधिका प्रत्याशी बार्सिलोना र रियाल मड्रिड अनि पछिल्लो एक दशकमा दुई पटक उपाधि जितेको एट्लेटिको मड्रिडलाई सानो क्याटलोनियन टोलीले चुनौती दिइरहेको छ । त्यो क्लब हो, जिरोना । जिरोना त्यही सहर हो, जहाँ ८ वर्षअगाडिसम्म प्रमुख खेलमा बास्केटबल खेलिन्थ्यो । अहिले त्यही जिरोना ला लिगाको दोस्रो स्थानमा छ ।  

जिरोना, ९० को दशक र २००० को प्रारम्भिक समय स्पेनिस फुटबलको तेस्रो र चौथो श्रेणीमा होमिरह्यो । यसबीच कुनै वर्ष टोली पाँचौं श्रेणीमा पनि घटुवा भयो ।

जिरोनाको उदयले धेरैलाई अचम्ममा पारेको छ । तर, यो कुनै आकस्मिक घटना भने होइन । क्रिसमससम्म जम्मा एक खेल मात्र हारेको जिरोना हाल अंकतालिकाको पहिलो स्थानमा छ । त्यो पनि २ अंकको स्पष्ट अग्रतामा । जिरोनाले यसपालि ला लिगाको उपाधि नै जित्छ भन्न सक्ने स्थिति अझै छैन । किनभने आधा बाटो अझै बाँकी छ । तर जेहोस् जिरोनाले दर्शकको ला लिगाप्रतिको आकर्षण भने केही हदसम्म बढाएको छ ।

जिरोना, ९० को दशक र २००० को प्रारम्भिक समय स्पेनिस फुटबलको तेस्रो र चौथो श्रेणीमा होमिरह्यो । यसबीच कुनै वर्ष टोली पाँचौं श्रेणीमा पनि घटुवा भयो । स्पेनिस फुटबलको पाँचौं श्रेणी भनेको त्यही लिग हो, जहाँ क्षेत्रीय क्याटलोनियन टोलीहरू मात्र प्रतिस्पर्धा गर्छन् । त्यो त्यही वर्षहरू हुन्, जब क्लबले आर्थिक बाधाहरू झेलेको थियो ।

जिरोना फुटबल क्लबको स्थापना १९३० मा भएको थियो । तल्लो श्रेणीमा प्रतिस्पर्धा गरिरहेको जिरोनाले २००९ मा पहिलो पटक दोस्रो श्रेणीमा स्थान बनायो । दोस्रो श्रेणीमा आठ वर्ष बिताएपछि सन् २०१७ मा जिरोनाले पहिलो पटक ला लिगामा स्थान बनायो ।

त्यो त्यही वर्ष थियो जब सिटी फुटबल समूहले क्लबको केही हिस्सा किनेको थियो । यो त्यही समूह हो जोसँग इङ्लिस क्लब म्यानचेस्टर सिटीको स्वामित्व छ । तर, यो भनिरहँदा क्लबको वर्तमान सफलताको पछाडि यो समूहको मात्रै हात रहेको भन्न खोजिएको भने पटक्कै होइन । क्लबले यसबाहेक धेरै बाधा अवरोध पार गरेको छ । धेरै कुराहरू भएका छन् ।

जिरोनाका दिनहरू रातारात कसरी एक्कासि फेरिए ? तर, उनीहरुलाई यो कुरा थाहा छैन कि यसमा कति वर्षको लगानी छ अनि कति व्यक्तिको हात छ ।

शीर्ष श्रेणीको दोस्रो अनुभवमै जिरोना पुनः दोस्रो श्रेणीमा घटुवा भयो । अघिल्लो सिजनमात्रै उनीहरू फेरि शीर्ष श्रेणीमा बढुवा  भएका हुन् । गत सिजन जिरोनाले १०औं स्थानमा रहेर लिग टुंग्याएको थियो ।

यसपालिको कथा हामीले देखिरहेकै छौं । क्लबले दुई साताअगाडि मात्र बार्सिलोनामाथि ४-२ को जित हासिल गर्यो । त्यो पनि क्याम्प नोउमा । दर्शकलाई पनि लाग्दो हो, जिरोनाका दिनहरू रातारात कसरी एक्कासि फेरिए ? तर, उनीहरुलाई यो कुरा थाहा छैन कि यसमा कति वर्षको लगानी छ अनि कति व्यक्तिको हात छ ।

जिरोनाको पछिल्लो सफलताको मुख्य कारक हुन् पर ग्वार्डिओला । उनी विश्व प्रसिद्ध प्रशिक्षक पेप ग्वार्डिओलाका भाइ हुन् । स्टार खेलाडी लुइज स्वारेज, नाम कहलिएका खेलाडीहरू विलियम कार्भाल्हा र ब्राहिम डियाजका एजेन्ट हुन् ग्वार्डिओला । सन् २०१७ मा परले क्लब र सिटी फुटबल समूहबीच संयुक्त ८८ प्रतिशत हिस्सेदारीको सम्झौता गराएका थिए । जसले गर्दा मैदानभित्र र बाहिर केही परिवर्तनहरू देखिन थाल्यो ।

मिकेलकै नेतृत्वमा रायो भायोकानो र हुएस्का दोस्रो श्रेणीबाट शीर्ष श्रेणीमा पुगेको थियो । पहिलो सिजनमै मिकेलले जिरोनालाई शीर्ष श्रेणीमा पुर्याए ।

२०२० मा क्लबको अध्यक्ष भएपछि ग्वार्डिओलाले निर्देशकको भूमिकामा केही परिवर्तन ल्याए । ग्वार्डिओलाले ती खेलाडीलाई क्लबमा भित्र्याए, जसले अन्य क्लबमा कम खेल समय पाइरहेका थिए । यो रणनीति केही हदसम्म काम पनि गर्यो ।

सन् २०२२ मा शीर्ष श्रेणीमा दोस्रो पटक स्थान बनाउनुअघि जिरोनाले दुईचोटि शीर्ष श्रेणीमा उक्लन प्लेअफ खेलेको थियो । तर, दुईपल्ट नै असफलता हात परेको थियो । अन्ततः क्लबले मिकेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । स्पेनिस प्रशिक्षक मिकेल त्यही प्रशिक्षक हुन्, जसलाई स्पेनिस फुटबलमा प्रोमोसन विशेषज्ञ पनि भनिन्छ ।

मिकेलकै नेतृत्वमा रायो भायोकानो र हुएस्का दोस्रो श्रेणीबाट शीर्ष श्रेणीमा पुगेको थियो । पहिलो सिजनमै मिकेलले जिरोनालाई शीर्ष श्रेणीमा पुर्याए । उनकै सल्लाह अनुसार क्लबले युवा खेलाडी उत्पादानमा पनि जोड दिइरहेको छ, जसको परिणाम क्लबले पाइरहेको छ ।

जिरोनाले ला लिगा जित्न सक्ला वा नसक्ला तर एउटा उपलब्धि चाहिँ पक्कापक्की जस्तै छ । टोलीले अर्को वर्ष हुने च्याम्पियन्स लिगमा भने स्थान बनाउने छ । च्याम्पियन्स लिगमा स्थान बनाउनु पनि जिरोनाका लागि ठूलो उपलब्धि हुनेछ ।